
रौतहट : रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टीमा करिब ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय करिब ५० वर्षीय सञ्जय पटेललाई घटनालगत्तै नियन्त्रणमा लिइएको छ । उनीविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
घटनापछि स्थानीय बासिन्दाले जघन्य अपराधलाई कुनै पनि बहानामा मिलापत्र गराउने प्रयास हुन नहुने भन्दै दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन् ।
पीडित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराउँदै दोषीलाई कुनै राजनीतिक वा सामाजिक दबाबका आधारमा उन्मुक्ति दिन नहुने र कानुनअनुसार कडा सजाय हुनुपर्ने माग गरेका छन् ।
प्रहरीले पनि यस्ता प्रकृतिका अपराधमा कुनै प्रकारको सम्झौता नहुने र कानुनबमोजिम निष्पक्ष कारबाही अघि बढाइने जनाएको छ ।