
२०७९ मंसिरको चुनाव सकिएलगत्तै एक साँझ वरदविद्वान् डा. जगमान गुरुङको फोन आयो ।
"बाबु, म एकेडेमीको कुलपति हुने लगभग निश्चित भएको छ । तपाईं सदस्य सचिव बसेर मलाई सहयोग गर्नुपर्यो ।"
मैले भनेँ, "सर, हजुरसँग काम गर्न पाउनु मेरो सौभाग्य हो । तर मलाई केही वर्ष स्वतन्त्र भएर लेख्न छ । आफ्नो करिअर बनाउन छ । मलाई दुई–चार वर्ष लेख्न दिनुस् । अहिले माफ गर्नुस् । म यो प्रशासनिक झन्झटमा पस्दिनँ ।"
उहाँले धेरै सम्झाउनुभयो । फेरि अर्कोपटक मेरा मित्र हरिप्रसाद ओझामार्फत सम्झाउन लगाउनुभयो । यसको गाइँगुइँ हल्ला काठमाडौंमा भइसकेछ । धेरै साथीहरूले फोन गरेर बधाई दिन थाले । केही दिनपछि म मित्र भूपेन्द्र खड्कासँगै चितवनदेखि हेटौँडातिरको बाइक यात्रामा थिएँ । फेरि उहाँको तेस्रोपटक फोन आयो । उही कुरा दोहोर्याउनुभयो । मैले माफ मागेँ । हाम्रो संवाद सुनिरहेका मित्र भूपेन्द्रले झपारे, "तपाईं त मान्छे खत्तम हो यार । मान्छे त्यहाँ जानलाई मरिहत्ते गर्छन्, तपाईंचाहिँ बडा त्यागी पल्टिने ।"
मैले भनेँ, "मलाई रुचि छैन । स्वतन्त्रै रहेर काम गर्न दिनुस् । छोडिदिनुस् ।"
केही दिनपछि प्रचण्डले शेरबहादुर देउवालाई चित ख्वाएर केपी ओलीतिर गएपछि पार्टीहरूको गठबन्धन फेरियो । श्रद्धेय जगमान गुरुङ कुलपति हुने अवसर टर्यो । र मैले पनि त्यो प्रस्तावबाट मुक्ति पाएँ ।
गएको फागुनमा चुनावको घोषणा भएपछि अहिलेका संस्कृति मन्त्री मित्र गणेश पौडेलको एकाबिहानै फोन आयो । भन्नुभयो, "यो बालेनको तर्फबाट मेरो प्रस्ताव हो । तपाईं प्रत्यक्ष चुनाव लड्ने कि समानुपातिकमा बस्ने, तयार हुनुस् ।"
मैले भनेँ, "साथी, प्रस्तावका लागि धन्यवाद । तर मेरो वैचारिक कुरा पनि तपाईंलाई थाहा छ । म अहिले पूर्ण रूपमा साहित्यकर्म गरिरहेको छु । दुई–चार वर्ष साहित्यकै सेवा गर्छु । चुनावमा होमिन्न ।"
मैले प्रस्ताव अस्वीकार गरेपछि लामो समयदेखि उनीसँग मेरो संवाद भएको थिएन ।
गएको असारको अन्तिम दिन हो क्यारे, हामी दुई जना—लोकगायक तथा संस्कृतिविद् यज्ञराज उपाध्याय र म—बाइक यात्रामा कैलाली जिल्लाको मध्य-दक्षिणवर्ती क्षेत्र भजनीमा थियौँ । एउटा स्कुलमा पठन संस्कृति उत्प्रेरणात्मक कार्यक्रम थियो । एकजना मित्रले फोन गरेर सोधे, "एकेडेमीमा प्राज्ञ खाने हो?"
मैले भनेँ, "साहित्यकर्म गरिरहेकै छु त । प्राज्ञ नै किन खानुपर्यो? खाँदिन ।"
उनले कर गरे, "होइन, अस्ति चुनाव लड भन्दा मानेको होइन, अहिले पनि नमान्न सक्छ । एकपटक सोधिहेर्नू न भनेर मन्त्रीले भन्नुभएको छ । बस्ने भए बस्नुस् क्यारे, राम्रै हुन्छ । के गर्नुहुन्छ भन्नुस् ।"
मैले सोधेँ, "कुलपति को हुँदैछ?"
"कुमार नगरकोटी ।"
मैले भनेँ, "कुमारजी र म समकालीन हौँ । उहाँ मभन्दा सिनियर होइन । त्यसो भए मलाई उपकुलपति बनाउन भन्नुस् ।"
"त्यो कुरा त म भन्न सक्दिनँ । तपाईं आफैँ भन्नुस् मन्त्रीसँग ।"
उनले फोन राखे ।
त्यसपछि मैले मन्त्री गणेश पौडेललाई एक वाक्यको मेसेज पठाएँ, "साथी, सक्नुहुन्छ भने उपकुलपति बनाउनुस्, बस्छु ।"
त्यसको लगत्तै कुमार नगरकोटीको फोन आयो ।
"रामलालजी, म कुलपति हुने भएँ । सँगै काम गरौँ । टिममा बसेर सहयोग गर्नुस् ।"
मैले भनेँ, "सहयोग नगर्ने त कुरै छैन, कुमारजी । मैले आफ्नो कुरा मन्त्रीजीलाई भनिसकेको छु । मेरो कुरा त्यही हो ।"
उहाँले भन्नुभयो, "उपकुलपतिमा त प्रधानमन्त्रीज्यूको सिधै दबाब छ । उहाँले नै नाम तोकेर पठाउनुभएको छ । त्यसमा मिल्दैन ।"
मैले भनेँ, "त्यसो भए म एकपटक मन्त्रीजीसँग कुरा गरेर तपाईंलाई खबर गर्छु है ।"
उहाँले "ओके" भनेर फोन राख्नुभयो । राख्नेबित्तिकै नारायण ढकालको फोन आयो ।
"रामलालजी, तपाईंले सदस्य सचिवमा बसेर सहयोग गर्नुपर्यो ।"
मैले भनेँ, "दाइ, मलाई त्यो प्रशासनिक झमेलामा नहाल्नुस् । दिने भए स्वतन्त्रतापूर्वक काम गर्ने जिम्मेवारी दिनुहोस् ।"
"होइन होइन, तपाईंले चाहेको पद नमिल्ने भो । यसमा तपाईं मज्जाले काम गर्न सक्नुहुन्छ । बस्नुस् ।"
नारायणदाइको कर थियो ।
मैले भनेँ, "त्यसो भए एकपटक मन्त्रीजीसँग कुरा गर्छु दाइ, अनि निर्णय दिन्छु ।"
त्यसपछि पहिलो कल मैले मित्र अमर न्यौपानेलाई गरेँ र सबै कुरा बताएँ । अमरजीले भन्नुभयो, "प्रशासनिक झमेला त असाध्यै हुन्छ । तर तपाईं सक्नुहुन्छ । ओके गर्नुस् ।"
एकछिनपछि मेसेन्जरमा मन्त्री गणेश पौडेलको फोन आयो ।
"प्लिज साथी, मेरो मुख हेर्नुस् । नारायण दाइले जे प्रस्ताव गर्नुभयो, त्यसलाई ओके गर्नुस् यार है ।"
मैले भनेँ, "त्यसो भए मेरो एउटा कुरा मानिदिनुस् । लोकगायक तथा संस्कृतिविद् यज्ञराज उपाध्याय र म दुई वर्षदेखि 'पठन संस्कृति उत्प्रेरणात्मक अभियान' मा छौँ । कम्तीमा चार वर्ष यो अभियान चलाउने र सधैँ सँगै सहयात्रा गर्ने हाम्रो अठोट हो । उहाँलाई बीचमै धोका दिएर म एक्लै जाँदा बेइमानी हुन्छ । उहाँलाई पनि सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा लगाइदिनुहुन्छ भने म बस्छु ।"
"ल, हुन्छ । ओके । बायोडाटा र नागरिकता पठाइदिनुस् ।"
मन्त्रीको फोन काटियो ।
फेरि नारायण दाइको फोन आयो । भन्नुभयो,
"यज्ञराजजीको कुरा ओके भयो । अब तपाईंलाई काम गर्न सजिलो पनि हुनुपर्छ । तपाईंको तर्फबाट ५/७ जना प्राज्ञ सभामा राख्ने मान्छेको नाम सिफारिस गर्नुस् ।"
त्यसपछि मैले सभाका लागि सम्बन्धित व्यक्तिहरूको स्वीकृति लिएर ७ जनाको नाम पठाइदिएँ ।
एकछिनपछि एकेडेमीमा यी नामहरू सिफारिस भए भनेर समाचारहरू आए ।
समाचारसँगै कति तरङ्गहरू आए । कति बतासहरू चले । हल्ला र हावाहरू यसरी फैलिए कि अनेक लबिङ, प्रोपोगान्डा र चलखेलहरू सुरु भए । दोस्रो दिन मलाई असाध्यै माया गर्ने एकजना दाइले भन्नुभयो,
"बबुवा, रास्वपामा प्रवेश गरेको हो?"
मैले भनेँ, "रास्वपामा त म यो जुनीमा प्रवेश गर्दिनँ दाइ ।"
"त्यसो भए काठमाडौं आएर भनसुन गरेको हो? कुराकानी मिलाएको हो?"
इमानदारीसाथ भनेँ, "काठमाडौं नआएको त दुई वर्ष भयो दाइ । भेटघाट र कुराकानी मिलाउन केही आवश्यक छैन ।"
"त्यसो भए सुन, बबुवा," उहाँले भन्नुभयो, "यहाँ वर्षौँदेखि सिंहदरबारको वरिपरि फन्को मार्नेहरू थाकेका छैनन् । सत्ता र शक्तिका वरिपरि नाच्ने पुतलीहरूलाई जिल ख्वाएर तिमी कदापि सदस्य सचिव बन्न सक्तैनौ । लेखेर राख, तिमीलाई सदस्य सचिव बनाउँदैनन् ।"
मैले भनेँ, "आवेदन भरेको होइन दाइ । बनाइदेऊ भनेर अनुरोध गरेको पनि होइन । मैले चाहेको पनि होइन । सहयोग गर्नुस् भनेर प्रस्ताव गरेका हुन् । नबनाए मेरो गाँस खोसिने त होइन नि ।"
नभन्दै फेरि नारायण दाइको फोन आयो । भन्नुभयो,
"रामलालजी, धेरै दबाब आयो । सदस्यमा बसेर सहयोग गर्नुपर्यो ।"
म अवाक् बनेँ ।
धेरै सोचेँ । आफ्नो मूल कर्म र धर्म छोडेर मैले यो झमेलामा पर्नु कदापि उचित होइन । त्यसपछि आत्मनिर्णय गरेँ—मलाई एकेडेमीमा जानु छैन ।
कुनै पदमा बस्नु छैन । कसैको पद खोस्नु पनि छैन । चुपचाप आफ्नो कर्म गर्नु छ । बस् ।
यसबिचमा आएका यी सबै कुराहरू मैले थाहा पाइरहेको छु । चुपचाप हेरिरहेको छु । समय बलवान् छ । एकदिन समयले सबै छर्लङ्ग गर्नेछ ।
मेरो मूल धर्म लेखन हो । मूल कर्म साहित्य सेवा हो । यो धर्म र कर्मबाट म कहिल्यै विचलित हुने छैन । हिजोका दिनमा पनि मैले आफ्नो कर्मक्षेत्रमा बसेर जेजति गर्न सकेको छु, सबैलाई थाहा छ । भोलिका दिनमा अझै अठोटका साथ दरिलो भएर कर्म गर्नेछु । सकेसम्म र याद भएसम्म कसैको चित्त दुखाउने र दुर्नियत राखेर कुनै कुकर्म गरेको छैन । परन्तु एक मानवमा जेजति गुणहरू हुन्छन्, कमजोरी पनि उसैसँग सुरक्षित रहेका हुन्छन् । यिनै कारणले गर्दा मेरा बोलीव्यवहार, कुराकानी, संवाद र बोलीवचनबाट कसैको चित्त दुखेको छ भने क्षमाप्रार्थी छु ।
मेरो मूल धर्म लेखन र मूल कर्म साहित्य सेवा हो । यो गर्ने क्रममा भोलिका दिनमा सबैसँग सहकार्य र हालेमालो हुने नै छ ।
तर आफ्नो मूल धर्म र कर्म छोडेर मलाई कुनै पदप्रति आशक्ति थिएन, छैन र हुने पनि छैन । पद प्राप्तिका लागि कतै दरखास्त, आवेदन वा निवेदन कहिल्यै दिएको छैन । र गठन हुन लागेको नेपाल प्रज्ञा-प्रतिष्ठानको कुनै पनि पदमा नजाने जानकारी गराउँछु ।
सबैको जय होस् ।
(जोशीको फेसबुकबाट ।)