२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

'सरकारी सहयोग पाए नेपाली ब्याग उद्योगले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छन्'

Nada
इसत्याक अहमद
२०८३ साउन २१ गते १४:४५
Shares
'सरकारी सहयोग पाए नेपाली ब्याग उद्योगले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छन्'

काठमाडौं : नेपालमा ब्याग उद्योगले हजारौं नेपालीलाई रोजगारी दिँदै आए पनि पर्याप्त सरकारी सहयोग र उद्योगमैत्री नीतिको अभावमा अपेक्षित विस्तार हुन नसकेको उद्योगीहरूले बताएका छन् । कर सहुलियत, सहुलियतपूर्ण ऋण, कच्चा पदार्थको सहज आपूर्ति र आधुनिक प्रविधिमा पहुँच उपलब्ध गराउन सके नेपाली ब्याग उद्योगले आन्तरिक बजारमा विदेशी उत्पादनलाई प्रतिस्थापन गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने उद्योगी मोहम्मद सम्सुदिन साहले बताएका छन् ।

ncell

काठमाडौंमा ब्याग उद्योग सञ्चालन गर्दै आएका शेख सुखाडीका अनुसार नेपालमा उत्पादन हुने ब्यागको गुणस्तर विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको छ । तर, उत्पादन लागत, कच्चा पदार्थ आयातमा लाग्ने कर, प्रविधिको सीमितता र बजार व्यवस्थापनको अभावले स्वदेशी उद्योगीहरू चुनौती सामना गर्न बाध्य छन् । 

“नेपालमा सीप र श्रमशक्तिको कमी छैन । सरकारले उद्योगलाई आवश्यक वातावरण सिर्जना गरिदिने हो भने ब्याग उद्योगले हजारौं युवालाई स्वदेशमै रोजगारी दिन सक्छ । यसले आयात घटाउनुका साथै नेपाली उत्पादनलाई विदेशसम्म पुर्‍याउने आधार तयार गर्छ,” सुखाडीले भने ।

रौतहट निवासी प्रेम कुमार साह, बिनाेद कानु, आफताब आलमसहित धेरै नेपालीले भारतको मुम्बईमा लामो समयसम्म ब्याग उद्योगमा काम गरी यस क्षेत्रको सीप र अनुभव हासिल गरेका थिए । 

सन् २०१० सम्म मुम्बईमा काम गरेपछि नेपाल फर्किएका साहले २०७० सालदेखि काठमाडौंमा आफ्नै ब्याग उद्योग सञ्चालन गर्दै आएका छन् । विदेशमा सिकेको प्रविधि, व्यवस्थापन र उत्पादन अनुभवलाई स्वदेशमै प्रयोग गरी नेपाली उत्पादन प्रवर्धन गर्ने उद्देश्यले उद्योग सञ्चालन गरेको उनले बताए ।

नेपालमा हाल स्कुल ब्याग, ह्यान्डब्याग, ट्राभल ब्याग, अफिस ब्याग, कृत्रिम छाला तथा विभिन्न कपडाबाट बनेका ब्याग उत्पादन भइरहेका छन् । 

काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा रहेका यस्ता उद्योगहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठुलो संख्यामा रोजगारी सिर्जना गरेका छन् । तर नेपाली बजारमा ब्यागको माग पूरा गर्न अझै ठुलो मात्रामा विदेशी उत्पादनमा निर्भर रहनुपरेको छ । चीन र भारत नेपालका प्रमुख ब्याग आपूर्तिकर्ता मुलुक हुन् ।  व्यापार तथ्यांकअनुसार सन् २०२२ मा प्लास्टिक बाहिरी सतह भएका ह्यान्डब्यागको नेपाल आयात करिब ४९ लाख ६५ हजार अमेरिकी डलर बराबर रहेको थियो भने अन्य प्रकारका ह्यान्डब्यागको आयात करिब १९ लाख १८ हजार अमेरिकी डलर बराबर रहेको थियो । यसले नेपालमा ब्यागको ठुलो बजार भए पनि त्यसको ठुलो हिस्सा विदेशी उत्पादनले ओगटेको देखाउँछ ।

नेपालबाट ब्यागको निर्यात भने हाल आयातको तुलनामा न्यून छ । यद्यपि नेपाली हस्तकला, ढाका, ऊन, फेल्ट, हेम्प तथा प्राकृतिक फाइबरबाट बनेका वातावरणमैत्री ब्यागको अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना रहेको व्यवसायीहरू बताउँछन् । विशेषगरी पर्यावरणमैत्री उत्पादनप्रति बढ्दो विश्वव्यापी आकर्षणले नेपालका साना तथा घरेलु उद्योगलाई निर्यातको अवसर सिर्जना गर्न सक्छ ।

उद्याेगी अर्शद आलमका अनुसार सरकारले ब्याग उद्योगलाई प्राथमिकतामा राखेर स्पष्ट नीति ल्याउन सके नेपालले यस क्षेत्रमा आत्मनिर्भरता हासिल गर्दै निर्यातमुखी उद्योग विकास गर्न सक्छ । ब्याग उत्पादनमा प्रयोग हुने कपडा, मेसिन तथा अन्य कच्चा पदार्थमा कर सहुलियत, उद्योग विस्तारका लागि सहुलियतपूर्ण ऋण, सीप विकास तालिम र निर्यात प्रवर्द्धनका कार्यक्रम आवश्यक रहेको उनले बताए ।

“स्वदेशी उद्योगलाई संरक्षण र प्रोत्साहन गर्ने नीति भएमा नेपाली उत्पादनले भारत, खाडी मुलुक र युरोपेली बजारसम्म पहुँच बनाउन सक्छ । अहिले आवश्यकता भनेको उद्योगीको मेहनतलाई राज्यको नीतिगत साथ दिनु हो,” अर्का उद्याेगी कमरे आलमले भ ने।

व्यवसायीहरूका अनुसार नेपालमा ब्याग उद्योगको सम्भावना केवल घरेलु बजारमा सीमित छैन; स्कुल तथा अफिस प्रयोगका ब्यागको ठुलो आन्तरिक माग, हस्तकलामा आधारित विशिष्ट उत्पादनको अन्तर्राष्ट्रिय बजार र ‘मेड इन नेपाल’ ब्रान्ड निर्माणको सम्भावनाले यस क्षेत्रलाई रोजगारी र निर्यातको महत्वपूर्ण माध्यम बनाउन सक्छ । 

उद्योगी साहले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने वातावरण बनाउन सरकार, निजी क्षेत्र र उपभोक्ता सबैको सहकार्य आवश्यक रहेको बताए । उनका अनुसार सही नीति र लगानीको वातावरण निर्माण भए नेपाली ब्याग उद्योगले देशको औद्योगिक विकास, रोजगारी सिर्जना र व्यापार घाटा न्यूनीकरणमा महत्वपूर्ण योगदान दिन सक्छ ।
 

ताजा खबर

सम्बन्धित खबर