
काठमाडौं : स्वाथ्य उपचारका लागि गत फागुन १३ गते सिंगापुरबाट उडेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्कने तयारीमा छन् । सिंगापुरबाट हङकङ गएका भनिएका देउवा यही साउन २६ गते स्वदेश फर्किने भएका हुन् ।
हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘२६ गते राति ९ः४५ बजे आइपुग्नुहुन्छ,’ उनले भने । पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले फर्किने मिति तय नभएको प्रतिक्रिया दिए । ‘साउन २६ या २८ गते आउनुहुन्छ,’ उनले भने, ‘तर, डेट फिक्स भइसकेको छैन ।’
नेपाली कांग्रेसको देउवा समुहले २९ साउनमा राष्ट्रिय भेला आयोजन गर्दै छ । उक्त भेलालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री समेत रहेका पूर्व सभापति देउवा नेपाल आउने तयारी भएको संस्थापन इतर समुहका नेताहरूको भनाई छ । देउवा समुहले पूर्वमहामनत्री डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेर भेलाको आवश्यक तयारी गरिरहेको छ । देउवा ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।
उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । गत वर्षको भदौमा भएको जेनजी आन्दोलनका क्रममा देउवामाथि आन्दोलनकारीले निर्धात कुटपिट गरेका थिए ।
आन्दोलनका क्रममा २४ भदौमा बुढानिलकण्ठस्थि आफ्नै निवासमा जेनजी आन्दोलनकारीले उनको घरमा आगो लगाउनका साथै देउवा दम्पत्तिमाति मरणासन्न हुनेगरी धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । देउवा दम्पत्ति उपचाचरकै क्रममा गत प्रतिनिधिसभाको निर्वाचन अघि नै सिंगापुर गएका थिए ।