
काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औं स्वर्ण वर्षका अवसरमा आयोजना गर्न लागेको १८औं नाडा अटो शोका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत अवलोकनकर्ताहरूले खल्ती एपमा गएर वा आधिकारिक खल्तीको क्युआर कोड स्क्यान गरी अग्रिम टिकट खरिद गर्दा साधारण र विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत भारी छुट पाउनेछन् । यो विशेष 'अर्ली बर्ड' छुट योजना सीमित अवधिका लागि मात्र लागू हुने भएकाले समयमै आफ्नो टिकट सुरक्षित गर्न नाडाले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
यस वर्षको नाडा अटो सोमा वातावरणमैत्री इलेक्ट्रिक (इभी) तथा परम्परागत इन्धनबाट चल्ने अत्याधुनिक दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनहरूको बृहत् प्रदर्शनी हुनेछ । अटोमोबाइल क्षेत्रका नयाँ प्रविधिहरू, अत्याधुनिक पार्टपुर्जाहरू र गुणस्तरीय लुब्रिकेन्टहरू पनि हुनेछन् । सवारी साधन खरिद गर्न चाहनेहरूका लागि एकै थलोमा सहज वित्तीय (फाइनान्स) तथा बिमा सुविधाहरू पनि उपलब्ध रहेको नाडाले जनाएको छ ।
नाडाले आफ्नो ५० वर्षको गौरवमय यात्रालाई उत्सवका रूपमा मनाउन र अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधिहरूसँग साक्षात्कार गर्नका लागि सम्पूर्ण अटोप्रेमी, युवा तथा विद्यार्थीहरूलाई प्रदर्शनी अवलोकनका लागि विशेष आह्वान समेत गरेको छ ।