२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

अर्घाखाँचीमा सिंचाइ विस्तारले कृषि प्रणालीमा सुधार, ९६ योजना सम्पन्न

Nada
शोभाखर पन्थी
२०८३ साउन २२ गते १८:१०
Shares
अर्घाखाँचीमा सिंचाइ विस्तारले कृषि प्रणालीमा सुधार, ९६ योजना सम्पन्न

अर्घाखाँची : ‘कृषिको आधार, सिंचाइमा सुधार’ भन्ने नारालाई आत्मसात् गर्दै जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीले जिल्लामा सिंचाइ पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ । चालु आर्थिक वर्षभित्र कार्यालयले ९६ वटा सिंचाइ योजना सम्पन्न गर्दै किसानको उत्पादन प्रणालीमा उल्लेखनीय सुधार ल्याएको जनाएको छ ।

ncell

कार्यालय प्रमुख भरतप्रसाद सापकोटाका अनुसार जिल्लामा कुल २६ हजार ३०१ हेक्टर खेतीयोग्य जमिनमध्ये ८ हजार ५४४ हेक्टर जमिन सिंचाइयोग्य भए पनि बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध हुने क्षेत्रफल भने ३ हजार १५३ हेक्टर मात्र छ । यस अन्तरलाई कम गर्न कार्यालयले विभिन्न योजना सञ्चालन गर्दै आएको छ ।

सूचना अधिकारी रामजी भट्टराईका अनुसार हालसम्म १०.७५ किलोमिटर पक्की कुलो तथा २.५ किलोमिटर पाइपलाइन निर्माण गरिएको छ । यसै आर्थिक वर्षमा मात्रै थप ३५ हेक्टर जमिनमा नयाँ सिंचाइ सुविधा विस्तार गरिएको छ भने १५० हेक्टर क्षेत्रफलमा कुलोहरूको मर्मतसम्भार सम्पन्न गरिएको छ ।

No description available.

नदी नियन्त्रण र तटबन्ध निर्माणलाई पनि प्राथमिकता दिँदै कार्यालयले यस वर्ष १.५ किलोमिटर तटबन्ध निर्माण गरेको छ । यसबाट करिब ५ किलोमिटर नदी किनार सुरक्षित हुनुका साथै १० हेक्टर खेतीयोग्य जमिन कटानबाट जोगिएको बताइएको छ ।

कार्यालयले आर्थिक अनुशासनमा पनि राम्रो प्रगति हासिल गरेको छ । हाल कार्यालयमा बेरुजु शून्य प्रतिशत रहेको छ भने सम्पन्न योजनाहरूको भौतिक प्रगति ८५.१५ प्रतिशत पुगेको तथ्यांकले देखाउँछ ।

यस वर्षका प्रभावकारी आयोजनामध्ये सितगंगा नगरपालिका–११ स्थित खयरभट्टी सिंचाइ आयोजना प्रमुख रहेको छ । २.५ किलोमिटर कुलो निर्माणपछि ३५ हेक्टर जमिनमा वर्षभरि सिंचाइ सुविधा पुगेको छ । उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर कुँवरका अनुसार यस आयोजनाले किसानलाई आकाशे पानीको निर्भरता हटाउँदै व्यवस्थित खेतीतर्फ आकर्षित गरेको छ । यहाँ प्याज उत्पादनको पकेट क्षेत्र विकास गर्ने तयारीसमेत थालिएको छ ।

त्यसैगरी सन्धिखर्क नगरपालिका–१० स्थित हर्सिङखोर सिंचाइ आयोजना सम्पन्न भएसँगै १६ हेक्टर जमिनमा नियमित सिंचाइ सुविधा पुगेको छ । उपभोक्ता समितिका अध्यक्ष प्रकाश श्रेष्ठले सिंचाइ सहज भएपछि धान, मकै, गहुँ तथा तरकारी उत्पादनमा वृद्धि भएको बताए ।

स्थानीय किसानहरूका अनुसार समयमै पानी उपलब्ध हुँदा उत्पादन लागत घटेको र उत्पादन वृद्धि भएको छ । यससँगै तरकारी तथा नगदे बालीतर्फ किसानको आकर्षण बढ्दो क्रममा रहेको छ ।

कार्यालय प्रमुख सापकोटाले जिल्लाका सबै सिंचाइयोग्य क्षेत्रमा क्रमशः दिगो सिंचाइ सुविधा विस्तार गर्ने लक्ष्य रहेको बताए । उनले आधुनिक सिंचाइ प्रणालीमार्फत कृषि उत्पादन बढाउने, किसानको आयआर्जन सुधार गर्ने तथा खाद्य सुरक्षामा टेवा पुर्‍याउने उद्देश्य रहेको स्पष्ट पारे ।

सिंचाइ पूर्वाधार विस्तार, मर्मतसम्भार, नदी नियन्त्रण तथा आर्थिक अनुशासनलाई एकसाथ अघि बढाउँदै आएको कार्यालयको प्रयासले अर्घाखाँचीको कृषि क्षेत्रलाई थप व्यावसायिक र उत्पादनमुखी बनाउने अपेक्षा गरिएको छ ।

No description available.

No description available.

ताजा खबर

सम्बन्धित खबर