२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कथा : दुई किनारको मौनता

Nada
अजनबी शर्मा
२०८३ साउन २३ गते ०६:०५
Shares
कथा : दुई किनारको मौनता

‘वान साइड हेर्दा त्यस्तो देखिनु स्वाभाविक हो । नेक्स्ट साइडबाट हेर्दा अलि फरक देखिन्छ ।’ 

ncell

सञ्जोगले त्यो वाक्य धेरैपटक मनमनै दोहोर्‍यायो । उसलाई लाग्थ्यो, संसारका आधाभन्दा धेरै सम्बन्ध यिनै दुई वाक्यका बीचमा हराउँछन् । 

सम्झना भैरहवाबाट काठमाडौं आइपुगेकी थिइन् । ठुलो छोरो पढ्न अस्ट्रेलिया उड्दै थियो । छोरालाई बिदाइ गर्नुपूर्व केही दिन काठमाडौं बस्नुपर्ने थियो । उसले केही दिनअघि सञ्जोगलाई भनेकी थिई, ‘सस्तो र सफा होटल भए हेरिदेऊ न ।’ 

सञ्जोगले खोजेको पनि थियो । जमलनजिक । भिड कम । रातको अठार सय रुपैयाँ । सुरक्षित पनि । उसले सम्झनालाई त्यहीँ पठाउने सोचेको थियो । तर, त्यसपछि उनीहरूबीच खासै कुरा हुन पाएन । 

कुनै कारणबिना होइन । कारण थियो, कारण भन्न पनि नमिल्ने एउटा मौनता । 

अठार वर्षदेखि उनीहरूको सम्बन्धमा कहिल्यै ठुलो झगडा परेको थिएन । कहिल्यै ‘किन ?’  भनेर हिसाब मागिएको थिएन । कहिल्यै ‘तिमीले यस्तो गर्नुपथ्र्यो’ भन्ने गुनासो पनि थिएन ।

सायद प्रेम त्यही थियो । जहाँ अपेक्षा थिए, तर दबाब थिएन । जहाँ अभाव थियो, तर आरोप थिएन । जहाँ दूरी थियो, तर मन टाढा थिएन ।

सञ्जोगले धेरैपटक फोन गर्ने सोच्यो । फेरि रोकियो । सम्झनाका श्रीमान् अलि शंकालु छन् भन्ने उसले सुनेको थियो । साथमा छोरी पनि आएकी छे । परिवार सबै काठमाडौंमा छन् । अहिले फोन गयो भने कसले उठाउँछ ? म्यासेज कसले पढ्छ ? एउटा सामान्य अभिवादनले पनि अनावश्यक प्रश्न जन्मायो भने ?

त्यसैले ऊ चुप लाग्यो । 

ऊ सोच्थ्यो, ‘उनी आफैं फुर्सदमा फोन गर्लिन् ।’ 

तर फोन आएन । 

धेरै दिनपछि डराउँदै नम्बर थिच्यो । 

‘हेलो !’ 

उताबाट चिनिएको स्वर आयो । 

‘कता छौ ?’ 

‘सपिङमा छु ।’ 

यत्ति मात्रै । सञ्जोगले थप केही सोधेन । सपिङमा भनेपछि त्यो शब्दका सय अर्थ हुन सक्थे । परिवारसँग होलिन् । वा साँच्चै किनमेलमै व्यस्त होलिन् । वा कुरा गर्न नमिल्ने ठाउँमा । सञ्जोगले फोन छोट्याइदियो ।

त्यसपछि पनि उसले एकाधपटक सन्देश पठायो, ‘हेलो, कता ? व्यस्त हो ?’ 

उत्तर आयो, ‘अँ, व्यस्त भनौं ।’ 

यति पढेपछि सञ्जोग मुस्कुरायो । ऊ सम्झनालाई अठार वर्षदेखि चिन्छ । ‘व्यस्त भनौं ’ भन्नु भनेको, अहिले बोल्न सक्दिनँ भन्ने संकेत पनि हुनसक्थ्यो । 

उसले फेरि केही लेखेन । कहिलेकाहीँ प्रेम भनेको बोलिरहनु होइन । नबोलेर पनि अर्कोको परिस्थिति बुझ्नु रहेछ । 

पाँच वर्षअघि सम्झनाको एउटा सानो अप्रेसन भएको थियो । त्यतिबेला पनि सञ्जोग यस्तै दोधारमा परेको थियो । अस्पताल जाऊँ ? नजाऊँ ? उसको परिवार त्यहीँ थियो । उनका श्रीमान् पनि । ऊ भेट्न गयो भने कसरी चिनाउने ?

‘पुरानो साथी ?’

‘कलेजको चिनजान ?’ कि केही पनि नभन्ने ? ऊ जाँदाजाँदै रोकियो । जब जाने आँट गर्‍यो, सम्झनाले घर फर्किने टिकट काटिसकेकी थिइन् । त्यो दिन पनि एउटा भेट अधुरै रह्यो । 
सञ्जोग धेरैपटक सोच्थ्यो– यो कस्तो सम्बन्ध हो ? नाम के हो यसको ? प्रेम ? मित्रता ? वा यी दुवैभन्दा माथि केही ?

बिहेपछि उनीहरूले कहिल्यै हात समातेनन् । कहिल्यै अँगालो हालेनन् । चुम्बन त परको कुरा । शरीरले एकअर्कालाई छोएन । तर, मनले भने कुनै दूरी स्वीकार गरेन । कुनै सीमा राखेन । उनीहरू एकअर्काको दुःख थाहा पाउँथे । खुसी थाहा पाउँथे । मौनता पनि पढ्थे ।

सम्झनाले धेरैजसो म्यासेज पढेपछि मेटाइदिन्थिन् । यो पनि सञ्जोगलाई थाहा थियो । डरले होइन । घरको शान्ति जोगाउन । शंका नबढाउन । गोपनीयताका लागि । कतिपय प्रेमहरू आफूलाई होइन, अरूलाई बचाउन लुकेर बाँच्दा रहेछन् ।

त्यो दिन आयो । छोरालाई बिदाइ गर्न सम्झना बिहानै विमानस्थल पुगिसकेकी थिइन् । सञ्जोगले एउटा सन्देश पठायो, ‘छोरालाई शुभयात्रा । उसको सपना पूरा होस् ।’ 

त्यति मात्रै । 

दिउँसो ११ बजे सम्झनाले छोरालाई त्रिभुवन विमानस्थलबाट बिदाइ गरिन् । आमा भएर मुस्कुराइन् । भित्रभित्रै रोइन् । पक्षीलाई पखेटा दिएपछि गुँड खाली हुने रहेछ ।

दिउँसोपछि सञ्जोगले सोध्यो, ‘अब त फुर्सद भयो होला नि ? भेटौं ?’ 

उत्तर आयो, ‘म त प्लेन चढिसकेको छु ।’ 

सञ्जोग धेरैबेर मोबाइलतिर हेरेर बसिरह्यो । उसले फेरि लेख्यो, ‘आज बस न । हाम्रो भेट त भएको छैन । एक कप कफी पनि नपिईकन जाने ?’ 

उत्तर आएन ।

त्यो रात उसले धेरै सोचेन । उसले सम्झनालाई दोष पनि दिएन । किनकि वान साइडबाट हेर्दा एउटा कुरा देखिन्थ्यो । नेक्स्ट साइडबाट अर्कै । सायद उनी परिवारसँगै विमानबाट सिधै फर्किनुपर्ने थियो । सायद घरमा कसैले प्रतीक्षा गरिरहेको थियो । सायद धेरै कुरा थिए, जुन शब्दमा भन्न सकिँदैनथ्यो । 

दिनहरू फेरि मौन भए । दुई हप्ता । एउटा सन्देश पनि आएन । एक साँझ सम्झनाले एउटा भिडियो कविता पठाइन् । कुनै व्याख्या थिएन । सिर्फ कविता । सञ्जोगले तिनै कविको अर्को कविता फर्काइदियो । त्यसमा कविताको जवाफ थियो । त्यसपछि एउटा अडियो आयो । स्वरमा हल्का गुनासो थियो । ‘त्यतिका दिन म काठमाडौं बस्दा कुनै वास्ता छैन । हिँड्ने दिनचाहिँ बस रे । कस्तो हो ?’ 

सञ्जोग धेरैबेर केही बोल्न सकेन । यत्ति भन्यो, ‘वान साइडबाट त्यस्तै देखियो । नेक्स्ट साइडबाट अलि फरक थियो ।’ उताबाट हल्का हाँसो सुनियो । त्यो हाँसोमा गुनासो पनि थियो । माया पनि । र अठार वर्षदेखि जोगिँदै आएको विश्वास पनि । संवाद फेरि खुल्यो । उनीहरूले फेरि प्रेमका कुरा गर्नेछन् । जीवनका कुरा गर्नेछन् । सन्तानका सपना, उमेरका थकाइ, र बाँकी दिनहरूका उज्याला साँझबारे पनि । तर, एउटा कुरा भने सम्भवतः फेरि पनि तय हुनेछैन, उनीहरूको सम्बन्धको नाम । किनकि केही सम्बन्धहरू नामले साना हुन्छन् । 

र केही प्रेमहरू, टाढा बसेरै सबैभन्दा नजिक रहन्छन् । 

हालः भैरहवा ।

ताजा खबर

सम्बन्धित खबर