२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

समाजवादी मोर्चा निष्क्रिय, ‘अग्रगामी मोर्चा’को उदय

Nada
२०८३ साउन २३ गते ०६:२५
Shares
समाजवादी मोर्चा निष्क्रिय, ‘अग्रगामी मोर्चा’को उदय

काठमाडौं : समाजवादको नेपाली बाटो तय गर्ने धेयका साथ तीनवटा कम्युनिस्ट पार्टी र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मिलाएर बनाइएको समाजवादी मोर्चा आफैं बेवारिसे बन्न पुगेको छ । २०८० साल असार ४ गते तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र नेकपा सम्मिलित मोर्चा अहिले पूर्ण रूपमा निष्क्रिय बनेको हो । 

ncell

मोर्चामा आबद्ध दुई दलबीच पार्टी एकता भएको छ भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजन र विवादले निष्क्रियजस्तै छ । मधेसको प्रतिनिधित्व गर्ने उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि तितरवितर भएको छ । यादव आफैं मधेसकेन्द्रित दलहरूलाई जम्मा पारेर अग्रगामी मोर्चा निर्माणको अभियानमा जुटेका छन् । 

शनिबार जसपा नेपालसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै छन् । यसले पुरानो समाजवादी मोर्चालाई स्वतः खारेजीको अवस्थामा पु¥याएको हो । समाजवादी मोर्चाका नाममा तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाहिर रहँदा सरकारको विरोध गर्ने र आफ्नो दल सत्तामा पुगेपछि मोर्चा नै बिर्सिने गरेका थिए । यद्यपि बेलाबखत राजनीतिक गतिविधि गर्दै आएको सो मोर्चा अहिले शून्यतामा पुगेको छ ।  

विभेदको अन्त्य गर्न जनदबाब सिर्जना गर्ने, पिछडिएको क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने, राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा पछाडि पारिएका सिमान्तकृत समुदायका अधिकार प्रत्याभूत गराउनेजस्ता कुरा समावेश गरेको थियो । त्यस्तै, विद्यमान राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्दै देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाउने मोर्चाको उद्देश्यसमेत अलपत्र परेको छ । संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न साझा मुद्दा, लक्ष्य र उद्देश्य प्राप्तिका लागि मोर्चाका शीर्ष नेताहरूको प्रतिबद्धता थियो । यद्यपि, मोर्चालाई नेताहरूले नै सत्ताको भ¥याङ बनाउने र सत्तामा पुगेपछि सबै एजेन्डा छाड्ने प्रवृत्तिले मोर्चाको औचित्य पहिला नै समाप्त भइसकेको राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले बताए ।  

सुरुमै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गरेको मोर्चामा प्रत्येक ६ महिनामा अर्को दलका नेताले नेतृत्व गर्नेगरी सहमति भए पनि सहमतिअनुसार नेतृत्व फेर्ने र उद्देश्यअनुसारका गतिविधि भने गर्न सकेको थिएन । २०८१ सालमा नेकपा महासचिव विप्लवलाई मोर्चाको नेतृत्व चयन गरे पनि त्यसयता अर्को नेतृत्व नफेरिई मोर्चाको औचित्य नै समाप्त भएको नेताहरू बताउँछन् । काठमाडौंमा भव्य कार्यक्रमबीच मोर्चाको घोषणा गरेका माधव नेपाल र प्रचण्ड अहिले पार्टी एकता गरेर नेकपाका संयोजक र सहसंयोजक छन् । मोर्चा गठनताका सदस्य रहेका जसपा अध्यक्ष उपेन्द्र यादव एमाले–माओवादी सत्तासहकार्यकै बेला पार्टी विभाजन भएपछि औचित्य समाप्त भएको भन्दै मोर्चाबाट अलग भएका थिए । सत्तापक्षलाई संख्याका हिसाबले बलियो बनाउने नाममा तत्कालीन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले जसपालाई फुटाएर अशोक राई, प्रदीप यादवसहित बहुमत सांसदहरूमार्फत पार्टी फुटाएर आफ्नो नेतृत्वको सरकारको समर्थक बनाएपछि असन्तुष्ट यादव अहिलेसम्म प्रचण्डप्रति सकारात्मक छैनन् । त्यस्तै, नेकपाका महासचिव विप्लव राजनीतिको मूलधारमै देखिन छाडेका छन् ।  

तत्कालीन माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठलाई दस्ताबेज तयार पार्ने जम्मा दिइएको थियो । दस्ताबेजमा मोर्चाको विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र आगामी योजना समेटिएको भनिए पनि सार्वजनिक नभई मोर्चा आफैं निष्क्रिय बनेको हो । देशव्यापी प्रचार–प्रसार गर्ने, भित्तेलेखन, ब्यानर, पर्चालगायतबाट मोर्चाको नीति जनतामाझ पु¥याउने, उपत्यकामा वामपन्थी बुद्धिजीवी, व्यवसायीसँग केन्द्रीयस्तरको अन्तरक्रिया गर्ने, प्रदेशस्तरमा विचार–गोष्ठी गर्नेलगायत निर्णय अलपत्र पारेर नेताहरूले मोर्चाको औचित्य समाप्त गरेको दोस्रो तहका नेताहरूले टिप्पणी गर्दै आएका छन् ।  

आज ‘अग्रगामी मोर्चा’ घोषणा 

मधेसकेन्द्रित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङका अनुसार साउन २३ गते आजै दिउँसो १ बजे काठमाडौं ब्यांक्वेट थापागाउँमा आयोजना हुनेछ । सात दलले गठन गर्न लागेको अग्रगामी मोर्चाको उद्देश्य, संरचना तथा भावी कार्यदिशाबारे सोही कार्यक्रममा जानकारी दिइने नेताहरूले बताएका छन् । जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आमजनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले संयुक्त रूपमा मोर्चा घोषणा हुन लागेको हो ।

ताजा खबर

सम्बन्धित खबर