
मानिस जन्मिँदा कुनै जात, विभाजन वा उच्च–नीचको भावना लिएर आउँदैन । उसको अनुहारमा निष्कपट मुस्कान र जीवनप्रति असीम सम्भावना हुन्छ । तर, समाजले बिस्तारै पहिचानका पर्खाल उभ्याउँदै उसलाई मानिसभन्दा पहिले जात, धर्म, वर्ग र भाषाको परिचय दिन्छ । विभेदको यात्रा यहीँबाट सुरु हुन्छ ।
सभ्यताको विकाससँगै मानिस चन्द्रमासम्म पुग्यो, कृत्रिम बुद्धिमत्ता र प्रविधिको विकास ग¥यो । तर, दुःखको कुरा, अझै पनि मानिसलाई जन्मका आधारमा सम्मान वा अपमान गर्ने सोच कायम छ । व्यक्तिको क्षमता, चरित्र र कर्मभन्दा थर, जात वा सामाजिक पृष्ठभूमिलाई ठुलो ठान्नु मानव सभ्यताकै कमजोरी हो ।
जातीय विभेद केवल सामाजिक समस्या होइन, मानव चेतनामाथिको प्रश्न हो । जब बालकले थर भन्न डराउनुपर्छ, युवाले प्रतिभाभन्दा पहिचानका लागि लड्नुपर्छ र नागरिकले समान सम्मानका लागि संघर्ष गर्नुपर्छ, तब त्यो पीडा सम्पूर्ण राष्ट्रको आत्मामाथि लागेको घाउ बन्छ । सडक, भवन र प्रविधिले मात्र समाजको प्रगति मापन हुँदैन । सभ्य समाजको निर्धारण कमजोर र सीमान्तकृत नागरिकले पाउने व्यवहारले गर्छ । जहाँ जन्मले होइन, कर्म र मानवताले मानिसको सम्मान हुन्छ, त्यही समाज विकसित हो ।
विभेदरहित समाज आधुनिक लोकतन्त्रको पहिलो सर्त हो । संविधानमा समानताको अधिकार लेखिनु मात्र पर्याप्त छैन, नागरिकले दैनिक जीवनमा त्यसको अनुभूति गर्न पाउनुपर्छ । राज्यको दायित्व कानुन बनाउनु मात्र होइन, सबै वर्गलाई न्यायको अनुभूति गराउने वातावरण बनाउनु पनि हो ।
राज्यले शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायमा समान पहुँच सुनिश्चित गर्नुपर्छ । जात वा गरिबीकै कारण कुनै बालबालिका शिक्षाबाट र कुनै युवा अवसरबाट वञ्चित हुनुहुँदैन । समान अवसरबिना समानता भाषणमा मात्र सीमित हुन्छ ।
कानुनको कठोरताले मात्र विभेद अन्त्य हुँदैन । विभेद सोचभित्रको गलत धारणाबाट जन्मिने भएकाले समाधान चेतनाको परिवर्तनबाटै हुन्छ । घर, विद्यालय, सञ्चारमाध्यम र सामाजिक संस्थाबाट मानवता, सहअस्तित्व र सम्मानको संस्कार बसाल्नुपर्छ । शिक्षाले ज्ञानसँगै संवेदना र असल नागरिक बनाउने गुण दिन सक्नुपर्छ ।
ऐतिहासिक रूपमा पछि पारिएका समुदायलाई अगाडि ल्याउन विशेष प्रयास आवश्यक हुन्छ । अवसरबाट वञ्चितलाई अवसर दिनु विभेद होइन, विगतको असमानता सुधार्ने न्यायपूर्ण प्रक्रिया हो । सबै नागरिक एउटै विन्दुबाट यात्रा सुरु गर्दैनन् भन्ने यथार्थ स्वीकार नगरी वास्तविक समानता सम्भव छैन ।
आज पनि देशका धेरै ठाउँमा मानिस पहिचानका कारण पीडित छन् । नागरिकको आँसु राष्ट्रको सम्भावनाको क्षति हो । आफ्नै नागरिकको प्रतिभा रोक्ने समाजको भविष्य कमजोर हुन्छ । हामीले निर्माण गर्ने नेपालमा कुनै बच्चाले थरका कारण लज्जित हुनु नपरोस्, कुनै युवाले जन्मकै कारण अवसर नगुमाओस् र हरेकले आफ्नो पहिचानका साथ सम्मानपूर्वक बाँच्न पाओस् ।
जात मानिसले बनाएको पहिचान हो, तर मानवता प्रकृतिले दिएको साझा परिचय हो । जातले मानिसलाई बाँड्छ, मानवताले जोड्छ । विभेदरहित समाज निर्माण कुनै एक समुदाय वा सरकारको मात्र होइन, सम्पूर्ण नागरिकको साझा संकल्प हो । तर, यसको नेतृत्व राज्यले स्पष्ट नीति र निष्पक्ष कानुनमार्फत गर्नुपर्छ ।
राज्यको केन्द्रमा समानता, न्याय र मानव मर्यादा स्थापित भएमा मात्र लोकतन्त्र सार्थक हुन्छ । महान् राष्ट्र त्यो होइन जहाँ केही मानिस मात्र सम्मानित हुन्छन्, महान् राष्ट्र त्यो हो जहाँ प्रत्येक नागरिकले मानिस भएको गर्वका साथ बाँच्न पाउँछ ।