
लोकतन्त्रलाई विश्व जगत्ले नै एक उत्कृष्ट, समावेशी र आदर्श राजनीतिक प्रणालीका रूपमा स्वीकार गरेको छ । लोकतन्त्रका धेरै सुन्दर र सशक्त पक्षमध्ये व्यक्तिको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । नेपालको संविधान (२०७२)ले पनि विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई नागरिकको मौलिक अधिकारका रूपमा दस्ताबेजीकरण गर्दै अक्षुण्ण राखेको छ । समाजमा खुलेर बोल्न, लेख्न र आफ्ना विचार निर्भीकताका साथ अभिव्यक्त गर्न पाउने यो स्वतन्त्रताको कतिपय क्षेत्रमा रचनात्मक सदुपयोग भएको छ भने विशेषगरी आधुनिक सामाजिक सञ्जालमा यसको व्यापक, गम्भीर र चिन्ताजनक दुरुपयोग भइरहेको छ ।
२०४६ सालको प्रजातन्त्र पुनर्बहालीपश्चात् नेपालमा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग मुख्यतया पत्रपत्रिकाका लेख–रचना, सम्पादकीय, औपचारिक विचार–गोष्ठी, अन्तर्वार्ता, सामाजिक अन्तरक्रिया तथा विभिन्न बौद्धिक बहसजस्ता मर्यादित कार्यक्रममा हुने गर्दथ्यो । ती विचार रेडियो, टेलिभिजन तथा छापा माध्यमबाट जनतामाझ पुग्थे । तर, सूचना र प्रविधिको द्रुत विकाससँगै आज ती परम्परागत माध्यमसँगै विविध डिजिटल प्लेटफर्मको व्यापक प्रयोग हुन थालेको छ । पछिल्लो समयमा युट्युब, इन्स्टाग्राम, टिकटक, लिंक्डइन, ह्वाट्सएप, म्यासेन्जर, स्न्यापच्याट, डिस्कर्ड र रेडिटजस्ता प्लेटफर्ममा करोडौं प्रयोगकर्ताले आफ्ना विचार सम्प्रेषण गरिरहेका छन् र अनगिन्ती भिडियो सामग्री अपलोड गरिरहेका छन् ।
छापा माध्यममा आउने लेख, रचना र वैचारिक विमर्श अथवा रेडियो र टेलिभिजनमा प्रस्तुत हुने सामग्री सम्पादकीय संस्कारबाट गुज्रिएर परिस्कृत र परिपक्व रूपमा सार्वजनिक हुन्छन् । तर, त्यसको ठीकविपरीत सामाजिक सञ्जालमा आउने धेरैजसो अभिव्यक्ति अश्लील, अभद्र, उत्तेजक र स्तरहीन बन्दै गएका छन् । डिजिटल प्लेटफर्ममा हरेक तह, विचार, उमेर र स्तरका व्यक्तिले स्वतन्त्र रूपमा आफ्ना निजी धारणा सम्प्रेषण गर्ने छुट पाएका छन् । यसै छुटको आडमा तथ्यहीन, भ्रामक र अश्लील शब्द लेखेर, बोलेर वा भिडियोमार्फत सम्प्रेषण गर्ने होडबाजी नै चलेको छ । यस कोणबाट हेर्दा सामाजिक सञ्जाल केवल अभिव्यक्ति स्वतन्त्रताको सुसंस्कृत मञ्चमा सीमित नरहेर व्यक्तिगत गालीगलौज, मानमर्दन, व्यक्तिगत रिसइबी साध्ने र बदला लिने दूषित अखडाका रूपमा दुरुपयोग भइरहेको छ । यो अभिव्यक्ति स्वतन्त्रताका नाममा देखिएको चरम भद्रगोल अवस्था हो ।
नेपाली समाज पछिल्लो समय झन्–झन् उत्ताउलो र अनुशासनहीन बन्दै गएको स्पष्ट देखिन्छ । सामाजिक सञ्जालमा अकारण गालीगलौज गर्ने, अश्लीलता फैलाउने र सत्तोसराप गर्ने विकृत अभ्यास दिन–प्रतिदिन बढ्दो छ । कतिपय प्रयोगकर्ताले सामाजिक सञ्जाललाई सस्तो लोकप्रियता आर्जन गर्ने, लाइक, भ्युज तथा कमेन्ट बढाउने र भाइरल हुने होडबाजीका रूपमा मात्र प्रयोग गरेका छन् । कतिपयले त नक्कली परिचय (फेक आइडी) बनाएर सामाजिक सञ्जालको एल्गोरिदमलाई नै दूषित बनाइरहेका छन् । लोकप्रियताको अन्धो दौडमा तथ्यभन्दा अफवाहले, तर्कभन्दा गालीले, असहमतिभन्दा अपमानले र संवादभन्दा घृणा एवं द्वेषले प्राथमिकता पाउन थालेको छ । यसको दुष्परिणामस्वरूप व्यक्तिको प्रतिष्ठा, परिवारको मर्यादा, सामाजिक सद्भाव, भाइचारा र लोकतान्त्रिक संस्कृतिमा नै गम्भीर नकारात्मक असर पर्न थालेको छ ।
विचारको स्वतन्त्रता लोकतन्त्रले नागरिकलाई उदारतापूर्वक प्रदान गरेको अनमोल उपहार हो । तर, स्वतन्त्रताको उपभोग गर्ने नाममा अरूको आत्मसम्मान, गोपनीयता तथा मर्यादाको सामान्य ख्यालै नगरी शब्दको तिखो प्रहार गर्नु कुनै पनि दृष्टिकोणबाट उचित मान्न सकिँदैन । सामाजिक सञ्जालमा प्रस्तुत गरिने शब्द, विषयवस्तु, अक्षर र भिडियो केवल प्राविधिक सामग्री मात्र होइनन्, तिनले हाम्रो समग्र समाजको चरित्र, चेतना र स्तरलाई पनि उजागर गरिरहेका हुन्छन् । चिनियाँ दार्शनिक लाओत्सुले भनेका थिए– आफ्ना विचारप्रति सचेत बन, ती शब्द बन्छन् आफ्ना शब्दहरूप्रति सचेत बन, ती कर्म बन्छन् ।’
तर, लाओत्सुको यो कालजयी भनाइ हाम्रो समाजमा भइरहेको सामाजिक सञ्जालको प्रयोगको सन्दर्भमा भने पूर्णतः मेल खाँदैन । हाम्रा सामाजिक सञ्जालमा लाओत्सुले भनेजस्तै सचेत विचार, परिपक्व शब्द र मर्यादित कर्महरू प्रस्तुत हुन सकिरहेका छैनन् । बरु त्यसको साटो आक्रोश, अपमान, अहंकार र मपाइँत्वले डिजिटल दुनियाँ भरिएको छ ।
डिजिटल प्लेटफर्ममा लेखिएको वा बोलिएको एउटा शब्द केही सेकेन्डभित्रै हजारौं–लाखौं मानिससम्म पुग्दछ । यदि ती शब्दमा सभ्यता, शिष्टता, विवेक तथा सामाजिक मर्यादा छैन भने त्यसले समाजलाई नैतिक पतनको दिशातिर उन्मुख गराउँछ र अराजकता फैलाउँछ । सामाजिक सञ्जालमा पोस्ट गरिने विषयवस्तु र प्रयोग गरिने भाषाले व्यक्तिको निजी चरित्रका साथै समग्र सामाजिक संस्कारको चित्रण गरिरहेको हुन्छ । त्यसैले यो डिजिटल प्लेटफर्मलाई विवेकहीन ढंगले दुरुपयोग गरिनुहुन्न ।
सूचना र सञ्चार प्रविधिको अभूतपूर्व विकासले आज सिंगो संसारलाई एउटा सानो गाउँ (ग्लोबल भिलेज)मा रूपान्तरण गरिदिएको छ । भूगोलको कुनै पनि कुनामा बसेर सामाजिक सञ्जालका माध्यमबाट सरकार, राजनीतिक दल, विशिष्ट व्यक्ति वा सर्वसाधारण जोकसैलाई पनि प्रेम, प्रशंसा, आलोचना, गाली, घृणा, चरित्रहत्या, अफवाह वा गालीबेइज्जती गर्न सकिने स्थिति बनेको छ । अहिले नेपाली समाजमा देशभित्र र बाहिर रहेका कतिपय मानिसमा अभिव्यक्ति स्वतन्त्रताको आवरणमा नैतिकता, दायित्व र सामाजिक उत्तरदायित्वलाई भुल्ने प्रवृत्ति ह्वात्तै बढेको छ । मूलतः मानिसहरूलाई आपसमा जोड्न र सम्बन्ध प्रगाढ बनाउन बनेको सामाजिक सञ्जाललाई समाज तोड्ने, विभाजन गर्ने र भिडन्त गराउने माध्यम बनाइनुहुँदैन । यसको दुरुपयोग होइन, रचनात्मक सदुपयोग हुनुपर्छ ।
अहिले नेपाली समाजका हरेक उमेर समूहका नागरिक सामाजिक सञ्जालमा सक्रिय छन् । बालबालिका तथा विद्यार्थीदेखि शिक्षक–प्राध्यापकसम्म, निरक्षरदेखि प्रख्यात विद्वान्सम्म, राजनीतिक नेतादेखि सर्वसाधारण कार्यकर्तासम्म र किसान–मजदुरदेखि शासक–प्रशासकसम्म हरेक क्षेत्र र वर्गका मानिस यसका प्रयोगकर्ता हुन् । अवश्य पनि सबैले यसको दुरुपयोग नै गरिरहेका छन् भन्न खोजिएको होइन । सामाजिक सञ्जालका अनेकौं सकारात्मक र उपयोगी पक्ष पनि छन् । यसको सही र विवेकपूर्ण सदुपयोगले शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, साहित्य, संगीत, सूचना तथा ज्ञान आर्जनको क्षेत्रमा ठुलो क्रान्ति ल्याएको छ र यो वरदान साबित भएको छ । तर, विडम्बना नै भन्नुपर्छ, यसको सदुपयोगको तुलनामा दुरुपयोगको पल्ला भारी हुँदै गएको छ, जसका कारण मानवीय व्यवहारमा गम्भीर नकारात्मक प्रभाव परिरहेको छ । समाजबाट डिजिटल नैतिकता, नागरिक चेतना, सामाजिक दायित्व र आत्मसंयम क्रमशः हराउँदै गएको भान हुन्छ ।
समाजको हरेक तप्कामा प्रत्यक्ष र दूरगामी प्रभाव पार्न सक्ने सामाजिक सञ्जाललाई दुरुपयोग गर्दै घृणा फैलाउने, साइबर दुव्र्यवहार गर्ने, असहमतिलाई वैचारिक भिन्नताका रूपमा नलगी सिधा शत्रुताका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिलाई अविलम्ब अन्त्य गर्न आवश्यक छ । आफूले समाजबाट सम्मान पाउनका लागि पहिले अरूलाई सम्मान गर्न सिक्नुपर्छ । भगवान् गौतम बुद्धले भन्नुभएको थियो, ‘घृणाले घृणाको अन्त्य कहिल्यै हुँदैन, घृणाको अन्त्य त केवल प्रेमले मात्र गर्न सकिन्छ ।’ तर, बुद्धको यो महान् उपदेश वर्तमान नेपाली समाजले प्रयोग गरिरहेको डिजिटल माध्यमको वास्तविकतासँग अलिकति पनि मेल खाँदैन । सामाजिक सञ्जालमा पोखिने घृणा, गालीगलौज र सीमाहीन नकारात्मक टिप्पणीको बदलामा अझ कडा, अशिष्ट र तल्लो स्तरको प्रतिक्रिया आउने गरेको छ ।
सामाजिक सञ्जालमा अपशब्दको जवाफ अझ कडा र अश्लील अपशब्दले नै फर्काउनु भनेको सभ्यताको पराकाष्ठा र नैतिक पतन हो । डिजिटल प्लेटफर्म एकले अर्कालाई अकारण कटाक्ष गर्ने, गालीबेइज्जती गर्ने, अशिष्ट भाषाको प्रयोग गर्ने र आफूलाई मात्र सर्वज्ञानी एवं अरूलाई खराब देख्ने विकृत मनोवृत्तिबाट ग्रस्त हुनु समाजका लागि कदापि शुभ संकेत हुन सक्दैन । अश्लील र हिंसात्मक भाषाको प्रयोग गरेर बदला लिने मनोविज्ञानको विकास हुनु लोकतान्त्रिक चरित्रको घोर अपमान हो । चिनियाँ दार्शनिक कन्फ्युसियसले भनेका थिए– श्रेष्ठ र आदर्श मानिस आफ्नो बोलीमा विनम्र हुन्छ, तर कर्मले महान् हुन्छ ।
सामाजिक सञ्जालमा प्रयोग हुने भाषा र प्रकट हुने आशयलाई कन्फ्युसियसको भनाइसँग तुलना गर्दा स्थिति ठीक उल्टो देखिन्छ । हाम्रा सामाजिक सञ्जालमा प्रस्तुत हुने शब्दहरूमा शालीनता, गम्भीरता र विचारको परिपक्वता बिरलै भेटिन्छ । त्यसैले अब नेपाली समाजले सामाजिक सञ्जालको प्रयोग असाध्यै सचेततापूर्वक गर्नुपर्ने समय आइसकेको छ । यसलाई स्वस्थ, सुसंस्कृत र वैचारिक अभिव्यक्तिको माध्यम बनाइनुपर्छ, अभद्रताको अखडा बनाइनुहुँदैन ।
विचारको स्वतन्त्रता लोकतन्त्रको प्राण भए तापनि त्यसको मर्यादा, सुन्दरता र जिम्मेवारीलाई आत्मसात् नगरी बोलिने गैरजिम्मेवार भाषा र विचारले व्यक्ति एवं समाजमा दूरगामी नकारात्मक असर पार्दछ । यसले सम्बन्धित व्यक्तिहरूमा ठुलो मानसिक तनाव, अशान्ति र निराशासमेत सिर्जना गर्दछ । वर्तमान समयमा डिजिटल प्लेटफर्मलाई दुरुपयोग गरी गलत धन्दा चलाउने र कमाइ खाने भाँडो बनाउनेहरूको बिगबिगी बढेको छ । गालीगलौज तथा अस्वस्थ आलोचना गर्दा समाजको ध्यान छिटो आकर्षित हुने भएकाले केवल भ्युज, लाइक र कमेन्ट बढाउने दुराशयले सस्ता, उत्तेजक र पेचिला सामग्री प्रस्तुत गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्छ । आफ्ना विचार प्रस्तुत गर्दा सकारात्मक, सन्देशमूलक र ज्ञान बाँड्ने माध्यमका रूपमा सामाजिक सञ्जालको उपयोग गरिनुपर्छ । यसलाई सत्य र तथ्यमा आधारित प्रामाणिक सूचनाको विश्वासिलो थलो बनाइनुपर्छ ।
हरेक नागरिकले विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई आफ्नो व्यक्तिगत विवेक, शिष्टता, सामाजिक मर्यादा तथा दायित्वसँग जोड्न सकेमा मात्र यस अधिकारको वास्तविक सदुपयोग भएको ठहरिन्छ । सामाजिक सञ्जाल त समाजको एउटा गतिशील ऐना मात्र हो । यो ऐना आफैंमा राम्रो वा नराम्रो हुँदैन, यसलाई कुन नियत र प्रयोजनका लागि कसरी प्रयोग गरिन्छ भन्ने कुराले नै यसको सार्थकता निर्धारण गर्दछ । यदि हामीले सामाजिक रूपी यो ऐनालाई नै क्षतविक्षत बनायौं भने त्यसमा देखिने समाजको अनुहार पनि उस्तै कुरुप र भयंकर देखिनेछ । यस्तो गैरजिम्मेवार कार्यले समाजको आपसी विश्वास, सद्भाव, एकता र भविष्यलाई नै घाइते बनाउँछ । त्यसैले, हरेक व्यक्तिले सामाजिक सञ्जालमा आफ्ना विचार, टिप्पणी, प्रतिक्रिया सम्प्रेषण गर्दा वा भिडियो निर्माण गर्दा यसले व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रमा पार्न सक्ने अल्पकालीन तथा दीर्घकालीन प्रभावको गम्भीर लेखाजोखा र सोचविचार गरेर मात्र डिजिटल दुनियाँमा प्रवेश गर्नु बुद्धिमानी हुनेछ ।