२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

मन्त्रीलाई पार्टीसँग जोड्दै रास्वपा

महिनामा एकपटक पार्टी कार्यालय जानैपर्ने

Nada
२०८३ साउन २५ गते ०६:२५
Shares
मन्त्रीलाई पार्टीसँग जोड्दै रास्वपा

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रीहरूलाई पार्टीसँग नियमित संवाद्मा जोड्दै छ । यसनिम्ति सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय जानैपर्ने गरी पार्टीसँगको प्रत्यक्ष संवादको कार्यक्रम तय गरेको छ । 

ncell

आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै छ । कार्यक्रममार्फत मन्त्रीहरूलाई नागरिकका गुनासा, समस्या, सुझाव र अपेक्षासँग प्रत्यक्ष जोड्न खोजिएको हो ।

रास्वपाका सहमहामन्त्री असीम शाहका अनुसार नयाँ निर्णयअनुसार अबदेखि मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनुपर्नेछ । सहमहामन्त्री असीम शाहले आइतबार विज्ञप्ति निकालेर यसबारे जानकारी दिएका हुन् । 

लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहेको उल्लेख गर्दै उनले यसै यथार्थलाई मनन गर्दै, जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न पार्टीले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्न लागेको बताएका छन् ।

यस कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई प्रत्यक्ष संवादमा जोडिएपछि भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास उनको छ । 

उनले लेखेका छन्, ‘मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनु हुनेछ । जसले भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास गरिएको छ ।’ 

यो कार्यक्रम साँझ ५ बजेदेखि देखि ६ बजेसम्म एक घण्टाको अवधि पूर्ण रूपमा आमनागरिकका लागि खुला रहनेछ । मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझाव सुन्नेछन् । यसले नेतृत्वलाई भुइँको यथार्थसँग जोडिराख्न मद्दत गर्ने आशा रास्वपाको छ । 

दोस्रो चरणमा भने नेतृत्व संवाद हुनेछ । साँझ ६ बजेपछि मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिध्सिभा सदस्यहरूबीचको संयुक्त बैठक बस्नेछ । पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा यस चरणमा सघन छलफल हुनेछ ।

कार्यक्रमका मुख्य उद्देश्यमा साझा रणनीति निर्माण रहनेछ । नागरिक, सरकार (मन्त्री), व्यवस्थापिका (सांसद) र संगठन (केन्द्रीय समिति)बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्ने हुनेछ । 

जवाफदेहिता प्रवर्धनअन्तर्गत मन्त्रीहरूलाई आमनागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउनेछ । नागरिकको वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्दा यथार्थपरक नीति लिनका सहज हुनेछ । 

साथै, यसबाट नागरिक, पार्टीको सांगठनिक तह, संसदीय दल र सरकार रहेका प्रतिनिधिबीच प्रभावकारी सूचना र कार्ययोजनाको आदानप्रदान हुनेछ र प्रभावकारी समन्वय हुनेछ । 

अर्थात्, सरकारमा रहेका मन्त्री, संसदीय दल तथा पार्टी संगठनबीच सूचना र कार्ययोजनाको आदानप्रदान प्रभावकारी बनाउन रास्वपाले मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्ने र संवादमा जोडिनुपर्ने नीति लिएको हो । 

ताजा खबर

सम्बन्धित खबर