
काठमाडौं : नेकपा एमालेकी सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारुढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद घतानीले आपत्ति जनाएकी हुन् । सांसद ढकालले आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै सिंहदरबारको नाम परिवर्तन गरेर अनामनगर दरबार राख्नुपर्ने तर्क गरेका थिए ।
सांसद घतानीले सिंहदरबार जलाउनु नै पर्याप्त भएन र ? भन्दै प्रश्न गरिन् । उनले सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्न समेत चेतावनी दिइन् । उनले जनतामा बढ्दो निराशाप्रति सरकार गम्भीर नबनेको आरोप पनि लगाइन् ।
उनले बजारमा रहेको ग्यासको अभाव तत्काल समाधान गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा सहकारी पीडितको वचत फिर्ताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले किसानलाई रासायनिक मल र बजार उपलब्ध गराउन तथा युवालाई रोजगारी र व्यापारीलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकारसँग माग गरिन् ।
जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ ? भन्दै सांसद घतानीले प्रश्न पनि गरिन् ।