२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

चार वर्षपछि कप्तानीमा सन्दीपको पुनरागमन

Nada
२०८३ साउन २५ गते १९:१४
Shares
चार वर्षपछि कप्तानीमा सन्दीपको पुनरागमन

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको छ । क्यानले नियमित कप्तान रोहितकुमार पौडेललाई जिम्मेवारीबाट हटाउँदै सन्दीपलाई ओडिआई टोलीको नेतृत्व सुम्पिएको हो ।

ncell

सन्दीपले करिब चार वर्षपछि नेपाली राष्ट्रिय टोलीको कप्तानीमा पुनरागमन गरेका हुन् । यसअघि उनी नेपाली टोलीका कप्तान थिए । तर, उनीमाथि बलात्कार मुद्दा लागेपछि कप्तानीको जिम्मेवारीबाट हटाइएको थियो । उक्त मुद्दामा सन्दीपले अदालतबाट सफाइ पाइसकेका छन् ।

सन् २०२१ मा पहिलो पटक नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका सन्दीपले त्यसपछि टोलीको नेतृत्वबाट बाहिरिनुपरेको थियो । कानुनी विवादका कारण उनको क्रिकेट करियरसमेत प्रभावित भएको थियो ।

बलात्कार मुद्दामा सफाइ पाएपछि उनी राष्ट्रिय टोलीमा पुनः फर्किएका थिए । खेलाडीका रूपमा राष्ट्रिय टोलीमा निरन्तरता पाउँदै आएका सन्दीपलाई क्यानले अहिले नेतृत्वको जिम्मेवारीसमेत दिएको हो ।

क्यानले मलेसियामा आयोजना हुने एसिसी पुरुष प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा १४ सदस्यीय नेपाली ओडिआई टोलीसमेत घोषणा गरेको छ । प्रिमियर कप एकदिवसीय फर्म्याटमा आयोजना हुँदैछ र यो प्रतियोगिता आगामी एसिया कपको छनोटका रूपमा समेत रहेको छ । सन्दीपले प्रिमियर कपबाटै नेपाली ओडिआई टोलीको नेतृत्व सम्हाल्नेछन् । 

सन्दीपको कप्तानीमा पुनरागमन भएसँगै रोहित पौडेलको नेपाली ओडिआई टोलीको कप्तानी यात्रा टुंगिएको छ । रोहितले २०७९ कात्तिकमा सन्दीपकै स्थान लिँदै नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए ।

सन्दीपमाथि लागेको बलात्कार मुद्दाका कारण उनी टोलीको नेतृत्वबाट बाहिरिएपछि रोहितलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । त्यसयता रोहितले लामो समय नेपाली टोलीको नेतृत्व गर्दै आएका थिए ।

तर पछिल्लो समय नेपाली टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन नसकेपछि क्यानले नेतृत्व परिवर्तनको निर्णय गरेको हो । विशेषगरी आइसिसी विश्वकप लिग–२ अन्तर्गतका पछिल्ला सिरिजमा नेपालको प्रदर्शन कमजोर बनेपछि टोलीको नेतृत्व परिवर्तन गर्नुपर्ने दबाब बढेको थियो ।

रोहितले ओडिआईसँगै केही महिनाअघि नेपाली टी-२० टोलीको कप्तानीसमेत गुमाइसकेका छन् । क्यानले टी-२० टोलीको कप्तानमा दीपेन्द्रसिंह ऐरीलाई नियुक्त गरिसकेको छ । अब ओडिआई टोलीको नेतृत्व पनि परिवर्तन भएपछि रोहित दुवै फर्म्याटको कप्तानीबाट बाहिरिएका छन् ।

प्रिमियर कपका लागि टोलीमा व्यापक परिवर्तन

क्यानले सन्दीपको कप्तानीमा घोषणा गरेको ओडिआई टोलीमा केही महत्वपूर्ण परिवर्तनसमेत गरेको छ । नियमित रूपमा राष्ट्रिय टोलीमा रहँदै आएका केही खेलाडी यसपटक टोलीमा परेका छैनन् भने केही खेलाडीले पुनरागमन गरेका छन् ।

टोलीमा ओपनर कुशल भुर्तेल र अनुभवी अलराउन्डर सोमपाल कामी छैनन् । यस्तै आरिफ शेख पनि यसपटकको ओडिआई टोलीमा अटाएका छैनन् । नन्दन यादव पनि टोलीबाट बाहिर छन् । उनी चोटका कारण टोलीमा नरहेको जनाइएको छ ।

यसको विपरीत देव खनाल र बसिर अहमदले राष्ट्रिय ओडिआई टोलीमा पुनरागमन गरेका छन् । सन्दीप जोरा र शेर मल्लले पनि टोलीमा स्थान बनाएका छन् ।

क्यानले नयाँ कप्तानसँगै टोलीको संयोजनमा समेत परिवर्तन गरेको देखिएको छ । युवा र अनुभवी खेलाडीलाई मिश्रण गर्दै आगामी प्रतियोगिताका लागि टोली तयार पारिएको छ ।

प्रिमियर कपका लागि घोषणा गरिएको १४ सदस्यीय नेपाली टोलीमा कप्तान सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमाल, रोहितकुमार पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन् ।

रोहित पौडेल कप्तानीबाट हटाइए पनि खेलाडीका रूपमा भने टोलीमा यथावत् छन् । यसअघि नेपाली टोलीको नेतृत्व गरिसकेका रोहितले अब सन्दीपको कप्तानीमा खेल्नेछन् ।

मलेसियामा हुने एसिसी पुरुष प्रिमियर कप नेपाली टोलीका लागि महत्वपूर्ण प्रतियोगिता हो । एकदिवसीय फर्म्याटमा हुने प्रतियोगिताले एसिया कपको छनोटको आधारसमेत तय गर्ने भएकाले नेपाली टोलीका लागि यसको महत्व अझ बढेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा अपेक्षाकृत कमजोर प्रदर्शन गरिरहेको नेपाललाई प्रिमियर कपमा राम्रो प्रदर्शन गरेर आफ्नो स्थिति सुधार्ने चुनौती छ । 

कप्तान परिवर्तनसँगै टोलीको प्रदर्शन सुधार गर्ने जिम्मेवारी पनि नयाँ कप्तान सन्दीपको काँधमा आएको छ । व्यक्तिगत रूपमा पनि पछिल्ला खेलमा अपेक्षाकृत कमजोर प्रदर्शन गरेका सन्दीपलाई कप्तानका रूपमा टोलीलाई लयमा फर्काउने चुनौती हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर