
दम्माम, साउदी अरब : नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) राष्ट्रिय समन्वय परिषद् साउदी अरबको आयोजनामा ३२औं विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित मनाइने भएको छ ।
आगामी १४ अगस्ट २०२६ शुक्रबार दम्मामस्थित रोज गार्डेनमा आयोजना हुने कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको नेफिन साउदीका अध्यक्ष खेम गुरुङले जानकारी दिएका छन् ।
विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा साउदी अरबमा रहेका नेपाली आदिवासी जनजाति समुदायका साथै विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली समुदायको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा साउदी अरबमा रहेका स्थानीय नेपाली कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत दिने भएका छन् । मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई कार्यक्रममार्फत प्रस्तुत गरिने आयोजकको भनाइ छ ।
नेफिन साउदीले कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ ।