२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनएको आग्रह

Nada
तिलोचन गौतम
२०८३ साउन ३१ गते १९:०९
Shares
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनएको आग्रह

गोन्जाउ, चीन : नेपाली श्रमिकको संख्या उल्लेख्य रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार, सुरक्षित बसोबास र आवश्यक सहयोगका लागि ‘सेल्टर हाउस’ स्थापना गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारसँग आग्रह गरेको छ ।

ncell

चीनको गोन्जाउमा शनिबारदेखि जारी एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत ‘सुरक्षित वैदेशिक रोजगार र पुनःएकीकरण’ विषयक सत्रमा सहभागीहरूले विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई तत्काल सुरक्षित स्थानमा राख्ने भरपर्दो संरचना नहुँदा उद्धारमा कठिनाइ हुने गरेको बताएका हुन् ।

उनीहरूले विभिन्न मुलुकमा रहेका एनआरएनए प्रतिनिधिले व्यक्तिगत पहल र स्रोतसाधन प्रयोग गरेर समस्यामा परेका नेपाली श्रमिकको उद्धार तथा व्यवस्थापन गर्दै आए पनि त्यसका लागि औपचारिक कानुनी अधिकार नहुँदा कतिपय अवस्थामा उल्टै प्रतिनिधिहरू नै समस्यामा पर्ने गरेको उल्लेख गरे । त्यसैले सरकारले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा व्यवस्थित रूपमा सेल्टर हाउस स्थापना गरी सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ ।

सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रमा सुरक्षित र मर्यादित वैदेशिक रोजगार, दक्ष जनशक्ति उत्पादन, विदेशमा रहेका नेपाली श्रमिकका समस्या, उद्धार तथा कानुनी सहायता, मानसिक स्वास्थ्य र स्वदेश फर्किएपछि पुनःएकीकरणलगायतका विषयमा विस्तृत छलफल भएको थियो ।

एनआरएनए उपाध्यक्ष तथा उक्त सत्रका सभापति खगेन्द्र न्यौपानेले धेरै नेपाली श्रमिक रहेका मुलुकमा सरकारले नै सेल्टर हाउस स्थापना गर्नुपर्ने बताए । उनका अनुसार विदेशमा श्रमिक समस्यामा पर्दा तत्काल सुरक्षित स्थानमा राख्ने व्यवस्था नहुँदा एनआरएनए प्रतिनिधिहरूले आफ्नै पहलमा बसोबास तथा अन्य व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।

कतिपय अवस्थामा श्रमिकलाई सुरक्षित राख्ने क्रममा स्थानीय कानुनी प्रक्रिया जटिल बन्ने र एनआरएनए प्रतिनिधि आफैं कानुनी झमेलामा पर्ने अवस्था समेत आउने गरेको न्यौपानेले बताए ।

उनले वैदेशिक रोजगारीमा जाने नेपालीलाई सीपयुक्त बनाएर मात्र विदेश पठाउने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए । त्यसका लागि सरकार र एनआरएनएको सहकार्यमा विभिन्न मुलुकमा स्किल एकेडेमी तथा सीप परीक्षण केन्द्र स्थापना गर्नुपर्ने उनको भनाइ थियो ।

न्यौपानेले विदेशमा नेपाली समस्यामा पर्दा एनआरएनए प्रतिनिधिले तत्काल सहयोग गर्दै आए पनि उनीहरूको भूमिकालाई कानुनी मान्यता नदिइएका कारण व्यवहारिक कठिनाइ रहेको बताए । एनआरएनए प्रतिनिधिलाई ‘अनररी’ अर्थात् अवैतानिक श्रमिक दूतका रूपमा मान्यता दिन उनले सरकारसँग आग्रह गरे ।

प्रतिनिधिसभाका सांसद तथा पूर्वसञ्चारमन्त्री जगदीश खरेलले विदेशमा रहेका नेपालीले आफ्ना समुदायका समस्या समाधानमा महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै एनआरएनएको प्रशंसा गरे ।

विदेशमा रहेका एनआरएनहरूले राजदूतसरह नेपालीका समस्या समाधानका लागि काम गरिरहेको उल्लेख गर्दै खरेलले अवैतानिक दूतको पद औपचारिक रूपमा सानो देखिए पनि यसको भूमिका महत्वपूर्ण हुने बताए । उनले यस विषयमा आवश्यक पहल सरकारसमक्ष गर्ने प्रतिबद्धता जनाए ।

खरेलले प्रवासमा रहेका नेपालीका समस्या सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले नजिकबाट बुझेको उल्लेख गर्दै समाधानका लागि काम गर्ने बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकको सीप विकासका लागि सरकार, निजी क्षेत्र र गैरआवासीय नेपालीबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य ऐन महरले वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन राज्यले विशेष ध्यान दिनुपर्ने बताए । नेपाललाई अदक्ष श्रमिक विदेश पठाउने देशका रूपमा मात्र चिनिने अवस्थाको अन्त्य गर्न सीप विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

परराष्ट्र मन्त्रालयको डायस्पोरा समन्वय महाशाखाका उपप्रमुख कृशु क्षेत्रीले विदेशमा नेपाली दूतावास तथा नियोगपछि समस्यामा परेका नेपालीले एनआरएनएलाई नै सम्झने गरेको बताए ।

सरकारले औपचारिक रूपमा मान्यता नदिए पनि एनआरएनए प्रतिनिधिले व्यवहारमा श्रमिक दूतको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै क्षेत्रीले विदेशमा नेपाली समुदायका समस्या समाधानमा उनीहरूको योगदान प्रशंसनीय रहेको बताए ।

एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले वैदेशिक रोजगारको क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताए । यस विषयमा बृहत् छलफल आवश्यक रहेकाले केही महिनाभित्रै नेपालमा वैदेशिक रोजगारसम्बन्धी छुट्टै बृहत् सम्मेलन आयोजना गर्ने जानकारी उनले दिए ।

शर्माका अनुसार सुरक्षित वैदेशिक रोजगार, श्रमिक अधिकार, सीप विकास, उद्धार र पुनःएकीकरणका विषयमा सरकार, सरोकारवाला निकाय र प्रवासी नेपालीबीच थप सहकार्य आवश्यक छ । एनआरएनएले यस क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र आगामी दिनमा थप कार्यक्रम अघि बढाउने उनले बताए ।

एनआरएनए उपाध्यक्ष जुनु गुरुङले वैदेशिक रोजगारीमा रहेका नेपालीको मानसिक स्वास्थ्यका विषयमा भइरहेका काम तथा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी दिइन् । वैदेशिक रोजगारीका क्रममा देखिने मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान, परामर्श तथा समाधानका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक रहेको उनले बताइन् ।

सम्मेलनमा सहभागीहरूले वैदेशिक रोजगारीमा अदक्ष कामदार पठाउने प्रवृत्तिलाई क्रमशः अन्त्य गर्दै दक्ष र सीपयुक्त जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका थिए । त्यसका लागि सीपमूलक तालिम केन्द्र तथा सीप परीक्षण केन्द्र स्थापना गरी श्रमिकलाई आवश्यक सीपसहित वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ ।

सहभागीहरूले सीपयुक्त जनशक्ति उत्पादन तथा अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुसार श्रमिक तयार गर्न सरकार, निजी क्षेत्र र एनआरएनएबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।

विदेशमा रहेका एनआरएनए प्रतिनिधिले समस्यामा परेका नेपालीलाई तत्काल उद्धार, कानुनी सहायता तथा अन्य आवश्यक सहयोग गर्दै आए पनि औपचारिक कानुनी अधिकार नहुँदा काम गर्न कठिनाइ भइरहेको बताएका थिए । एनआरएनएले यसअघि पनि आफ्ना प्रतिनिधिलाई अवैतानिक श्रमिक दूतका रूपमा मान्यता दिन नेपाल सरकारसँग आग्रह गर्दै आएको थियो । सम्मेलनमा उक्त मागलाई पुनः प्राथमिकताका साथ उठाइएको हो ।

कार्यक्रममा विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकको अवस्था, उनीहरूले भोगिरहेका समस्या र समाधानका उपायबारे विषयगत प्रस्तुति पनि गरिएको थियो । दक्षिण कोरियामा रहेका नेपाली श्रमिकको अवस्थाबारे दीपक पुन, लाओसका बारेमा एकनाथ खतिवडा, जापानका बारेमा खगराज गौतम, मलेसियाका बारेमा तिलोचन गौतम तथा मकाउमा रहेका नेपाली श्रमिकको अवस्थाबारे युवराज न्यौपानेले प्रस्तुति दिएका थिए ।

पत्रकार अनिल अधिकारीले पनि सम्बन्धित विषयमा प्रस्तुति दिँदै विदेशमा रहेका नेपाली श्रमिकले भोगिरहेका समस्या, उद्धारका चुनौती तथा समाधानका सम्भावित उपायबारे प्रकाश पारे ।

एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले संस्थाले वैदेशिक रोजगार तथा श्रमिकको क्षेत्रमा गर्दै आएका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रमको मोडरेसन यज्ञराज सुवेदीले गरेका थिए भने पत्रकार उद्धव भट्टराईले कार्यक्रमका मुख्य विषय र निष्कर्षको टिपोट गरेका थिए ।

सम्मेलनले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन श्रमिकको अधिकार संरक्षणसँगै विदेशमा तत्काल उद्धार तथा सहयोगका लागि संस्थागत संरचना आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

एनआरएनएले नेपालमा केही समयपछि वैदेशिक रोजगारसम्बन्धी छुट्टै बृहत् सम्मेलन आयोजना गर्ने जनाएको छ । उक्त सम्मेलनमा सुरक्षित वैदेशिक रोजगार, सीप विकास, श्रमिक अधिकार, उद्धार, मानसिक स्वास्थ्य, विदेशबाट फर्किएका श्रमिकको पुनःएकीकरण तथा प्रवासी नेपालीको भूमिकालगायतका विषयमा सरकार, सरोकारवाला निकाय र प्रवासी नेपालीबीच थप छलफल गरिने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर