
शिक्षालाई विभिन्न विद्वान्हरूले फरक–फरक तरिककाले अथ्र्याएका छन् । सभ्यताको विकाससँगै मानिसले सुखी र सम्पन्न जीवनको आधार शिक्षा मान्दै आएको पाइन्छ । मानव जीवनमा शिक्षा आर्जनको न आदि हुन्छ, न त अन्त्य नै । शिक्षा जीवनपर्यन्त चलिरहने प्रक्रिया हो । शिक्षा प्राप्त गर्नु भनेको विश्वविद्यालयबाट उच्चशिक्षाको प्रमाणपत्र आर्जन गर्नु मात्र होइन । शिक्षाका बाटा र पाटाहरू अनेक छन् । शिक्षा केवल पाठ्यक्रमको ज्ञान मात्र होइन, समाज बदल्ने नैतिक जिम्मेवारी हो । प्लेटोका शब्दमा शिक्षा आत्मालाई उज्यालोतर्फ मोड्ने माध्यम हो । यही उज्यालो सोचबाट दिमाग सकारात्मक बन्दछ । ‘तमसोमा ज्योतिर्गमय’को मार्ग निर्देश गर्न शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्दछ । दार्शनिक सुकरातका शब्दमा शिक्षा भनेको भाँडो भर्नु होइन, आगो बाल्नु हो । यो आगो भनेको मगजमा उत्पन्न हुने जिज्ञासा हो । जिज्ञासाले प्रश्न गर्ने साहास र सत्य खोज्ने चेतना दिन्छ । यस अर्थमा शिक्षालाई दिमाग खोल्ने चेतनामय कुञ्जीको रूपमा अथ्र्याउन सकिन्छ ।
त्यसो त शिक्षा आर्जनको एकद्वार विधि हुँदैन । शिक्षा औपचारिक, अनौपचारिक तथा अनियमित प्रक्रियाबाट आर्जन हुन्छ । औपचारिक शिक्षा आर्जनका संस्थाहरू विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरू हुन् भने अनौपचारिक शिक्षाअन्तर्गत शिक्षालयबाहिरका संघसंस्थाहरू हुन् । अनौपचारिक रूपमा आर्जन गरिने शिक्षाले पनि मानिसको मन, मस्तिष्क र चिन्तनको विकासमा भूमिका खेलेको हुन्छ । घर, परिवार, छिमेक, समुदाय, सञ्चारका साधन, स्वअध्ययन, अन्तरक्रिया, छलफल, बहस, विचार विमर्श, अवलोकन आदिजस्ता माध्यमबाट पनि मानिसले शिक्षा आर्जन गरिरहेको हुन्छ । मानिसले जहाँबाट जसरी शिक्षा आर्जन गरे तापनि यसको मुख्य काम मानिसको मगजलाई फराकिलो बनाउनु हो । दिमाग खोल्नु हो । अँध्यारोबाट उज्यालो मार्गको यात्रामा हिँड्न सक्ने क्षमता आर्जन गर्नु हो ।
प्राचीन समयमा विद्यालय र विश्वविद्यालयहरू थिएनन् । मानिसले अनौपचारिक रूपमा आर्जन गरेको अनुभव र सिकाइका आधारमा जीवन बिताउने गर्दथे । समाज विकासको क्रमसँगै विद्यालयहरू खोलिए । विश्वविद्यालयहरू निर्माण भए । आधुनिक समाज निर्माणसँगै विद्यालय तथा विश्वविद्यालयहरूमा पढ्नेहरूलाई शिक्षित भनिन थालियो । अनियमित वा अनौपचारिक शिक्षाबाट प्राप्त ज्ञानले प्रशिक्षित भए तापनि शिक्षित र अशिक्षितहरू छुट्याउने क्रममा औपचारिक शिक्षाको मानदण्डले मान्यता पाएको देखिन्छ । औपचारिक शिक्षाकै आधारमा हरेक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुन्छन् । डाक्टर, इन्जिनियर, प्राध्यापक, शिक्षक, वकिल, प्रशासक, वैज्ञानिक, आदि इत्यादि क्षेत्रका जनशक्ति उत्पादन गर्नका लागि विश्वविद्यालयहरूले विशेषज्ञताको भूमिका खेलेका हुन्छन् । यस कोणबाट हेर्दा दक्ष जनशक्ति उत्पादन गर्नका लागि औपचारिक शिक्षाको महत्त्व रहेको पाइन्छ ।
शिक्षा ज्ञानको स्रोत हो । चाणक्य भन्छन्, ‘ज्ञानले विनम्रता दिन्छ, विनम्रताबाट चरित्र जन्मन्छ ।’ रुसोका अनुसार पनि शिक्षा चरित्र निर्माणको स्रोत हो भन्ने छ । चरित्र निर्माणको सवाल मानिसको सोचसँग जोडिएको हुन्छ । सकारात्मक सोचले व्यक्ति र समाजलाई सभ्य, सुसंस्कृत बनाउँछ भने नकारात्मक सोचले अपराधीकरणतर्फ निर्देश गर्दछ । शिक्षा सत्यम्, शिवम् र सुन्दरम्को भाव सिर्जना गर्ने पुञ्ज हो । सिर्जनात्मक चिन्तनको आधार हो । मार्टिन लुथर भन्छन्, ‘शिक्षाको मूल काम गहिरो र समालोचनात्मक सोच सिकाउनु हो ।’ मार्टिनका अनुसार गहिरो चिन्तनको विकास नभईकन समालोचनात्मक सोचको सिर्जना हुन सक्दैन भन्ने हुन आउँछ । यस कोणबाट हेर्दा शिक्षाले व्यक्तिको मगजलाई गुण र दोषको आधारमा देश र दुनियाँलाइ हेर्न सक्ने फराकिलो क्षमताको विकास गर्दछ ।
नेलसन मन्डेलाले शिक्षा संसार परिवर्तन गर्ने सबैभन्दा शक्तिशाली हतियार हो भनेका छन् । त्यो हतियार तब मात्र प्रयोग हुन सक्दछ, जब त्यसले शिक्षितहरूको दिमाग खोल्न सक्दछ । अल्बर्ट आइन्टाइन भन्छन्, ‘प्रश्न गर्न सक्नु नै शिक्षाको आत्मा हो । प्रश्न गर्न सक्नुको अर्थ सबल र दुर्बल पक्षको आधारमा सत्यको खोजी गर्ने क्षमता हो ।’ यसरी हेर्दा शिक्षाले समालोचनात्मक तथा आलोचनात्मक दृष्टिकोणको विकास गर्दछ ।
शिक्षाले मानव जीवनका आयामहरूमा भिन्नभिन्न कार्य गर्ने भए तापनि यसको मुख्य कार्य मानिसको मगज खोल्नु हो । मगज खोल्नेक्रममा शिक्षाले व्यक्तिका अन्तरनिहित प्रतिभाहरूको विष्फोट गराउन मद्दत गर्दछ । व्यक्तिबाट व्यक्तित्व निर्माण गर्न पनि शिक्षाको नै भूमिका हुन्छ । वास्तवमा शिक्षा बालबालिकाका लागि सामाजिकीकरणको माध्यम हो भने युवाहरूको लागि शिष्ट, सभ्य सिर्जनशील तथा पेसागत ज्ञान र सीप आर्जनको आधार हो । शिक्षाको महिमा यति गहन छ कि धनीहरूका आभूषण, वृद्धहरूका लागि आत्मसन्तुष्टि तथा गरिबहरूका लागि आयआर्जनको साधन हो ।
शिक्षाले व्यक्तिको सर्वांगीण विकासमा सहयोग गर्दछ । सामाजिक, नैतिक, बौद्धिक, सांस्कृतिक, आत्मिक, सौन्दर्यात्मक,
संवेगनात्मकलगायत गुणहरूको विकास गर्न शिक्षाले कुञ्जीको रूपमा काम गर्दछ । महात्मा गान्धीको शब्दमा बालक र मानिसको शरीर, मन, आत्मामा रहेका असल कुराहरूलाई सम्पूर्ण रूपमा बाहिर निकाल्ने काम शिक्षाले गर्दछ । यसको अर्थ मानिसमा खराब कुराहरू पनि हुन्छन् तर खराब चिन्तन, आचरण र अभ्यासको अन्त्य गरी असल व्यवहार निर्माण गर्न शिक्षाले औषधिरूपी काम गर्दछ । शिक्षाका बारेमा महात्मा गान्धीको जस्तो मिल्दोजुल्दो भनाइ भिक्टर ह्युगोको पनि छ । उनी भन्छन्, ‘जो मान्छेले विद्यालयको ढोका खोल्छ, उसले जेलको ढोका बन्द गर्छ ।’ यसको अर्थ शिक्षाले समाजलाई अपराधी चिन्तन र अभ्यासको अन्त्य गरी विकास र नवप्रवर्तनको दिशामा डोहो¥याउन दियोरूपी उज्यालोको भूमिका खेल्दछ ।
अहिले हाम्रो समाजमा पढेलेखेका मानिसहरूको संख्यामा वृद्धि भइरहेको छ । परन्तु समाजमा विभेद, अशान्ति, द्वन्द्व, भ्रष्टाचार, अपराधीकरण, हत्या, हिंसा, सम्बन्धहरूमा टकरावजस्ता क्रियाकलाप बढिरहेको देखिन्छ । गान्धीले भनेको जस्तो असल चरित्र र अभ्यास समाजले अनुभव गर्न सकिएको छैन । बुद्धले भन्छन्, ‘तिमी जस्तो सोच्छौ त्यस्तै बन्छौ । यसको अर्थ सोचाइले मानिलाई निर्देश गर्दछ भन्ने हो । हाम्रो शिक्षाले समाजको मन, मष्तिस्कलाई गान्धी, बुद्ध र भिक्टर ह्युगोले भने जस्तो असल चरित्र, सकारात्मक सोच तथा अपराधमुक्त व्यवहार निर्माण हुन सकेन भन्ने कोणबाट घोत्लिनुपर्ने अवस्था देखिन्छ ।
अन्त्यमा, शिक्षा केवल अक्षर चिनाउने, पढ्न लगाउने र सूचना प्रवाह गर्ने माध्यम मात्र होइन । यो मानिसको बन्द ढोकाजस्तै नखोलिएको दिमाग खोल्ने कुञ्जी हो । मानिसको दिमाग खुल्यो भने हृदय खुल्छ । हृदय खुल्यो भने सहिष्णुता, मानवता, विवेक र परोपकारी भावनाको जन्म हुन्छ । मानिसले आर्जन गर्ने यिनै मूल्य र गुणहरूले समाजलाई सभ्यता र समृद्धिको बाटोमा अगाडि बढाउँछन् । यस अर्थमा शिक्षा मानिसको व्यक्तिगत सम्पत्ति मात्र नभई सामूहिक उन्नतिको आधारशीला पनि हो । त्यसैले दिमाग खोल्न सक्ने कुञ्जीरूपी शिक्षा आजको आवश्यकता हो ।