
काठमाडौंको एउटा सानो, साँघुरो गल्ली । मेरो घरको ठ्याक्कै आडैमा एउटा सानो एकतले घर छ । घर सानो भए पनि त्यहाँको वातावरण सधैं न्यानो लाग्थ्यो । त्यो घर हो– सीतादेवी र उनकी १० वर्षकी छोरी रियाको । रियाका बुवा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा हुनुहुन्छ । घरमा आमा र छोरी मात्रै बस्छन् । म अक्सर आफ्नो कौसीबाट उनीहरूको आँगन नियाल्ने गर्छु । सीतादेवी गाउँबाट सहर आएकी सोझी, मिहिनेती महिला हुन् । उनी आफ्नी छोरीलाई संस्कार र राम्रो शिक्षा दिन अहोरात्र खट्थिन् ।
रिया स्थानीय विद्यालयको कक्षा सातमा पढ्छिन् । मेरो र उनको घरनजिकै भएकाले साँझपख उनीहरू गफिएको, हाँसेको स्पष्ट सुनिन्थ्यो । सीतादेवी सधैं भन्छिन्, ‘मोबाइलले मान्छेलाई बिगार्छ, किताब पढ्नुपर्छ ।’ रिया पनि किताबमै रमाउँथिन् । तर, आजको समय प्रविधिको हो । रियाका साथीहरूसँग चम्किला स्मार्ट फोन थिए । एक दिन स्कुलमा साथी सृष्टिले नयाँ मोबाइलमा टिकटक डान्स देखाइछन् । त्यो चम्किलो संसार देखेकी रियाको मनमा पनि मोबाइलको तृष्णा जागेछ ।
एक साँझ म आफ्नै बलेसीमा बसिरहेको थिएँ । रिया र सीतादेवीको चर्को स्वर सुनियो । रिया आमासँग भन्दै थिइन्, ‘आमा, मलाई पनि मोबाइल चाहियो, सबैसँग छ !’ सीतादेवीले सम्झाउने प्रयास गरिन्, ‘हामीसँग पैसा छैन छोरी, बुवाले पठाएको पैसाले घरखर्च चलाउनुपर्छ ।’ तर, बालहठका अगाडि आमाको केही लागेन । रिया ‘तपाईं पुरानो सोचको हुनुहुन्छ’ भन्दै ढोका ड्याम्म लगाएर कोठाभित्र छिरिन् । त्यो दृश्यले मेरो मन पनि अमिलो बनाएको थियो ।
रियाको १०औं जन्मदिनमा सीतादेवीले ओभनविनै ग्यासमा केक बनाइन् । अनि एउटा बाकसमा आफ्नो पुरानो, बटनवाला कालो मोबाइल रियालाई उपहार दिइन् । साथमा सर्त राखिन्, दिनमा एक घण्टा मात्र चलाउने । बाँकी समय पढ्ने र आमासँग कुराकानी गर्ने ।
सुरुमा त रिया खुसी भइन् । इन्टरनेट नभए पनि उनी त्यही कालो मोबाइलको ‘स्नेक गेम’मा रमाउन थालिन् । तर, बिस्तारै परिस्थिति बदलियो । जुन कुराको डर सीतादेवीलाई थियो, त्यही भयो । रिया मोबाइलमा यसरी हराउन थालिन् कि आमाले बोलाउँदा पनि नसुन्ने भइन् । खाना खाँदा होस् वा ओछ्यानमा, उनको हातबाट मोबाइल छुट्न छाड्यो । स्कुलको गृहकार्य छुट्न थाल्यो । एक घण्टाको सर्त घण्टौंमा बदलियो ।
एक दिन म उनीहरूको घरतिर जाँदै थिएँ । सीतादेवीलाई कडा ज्वरो आएर थला परेकी थिइन् । उनले भान्साबाट काँप्दो स्वरमा बोलाइन्, ‘रिया, मलाई थोरै पानी ल्याइदे न छोरी...।’
तर, रिया भने कुनामा बसेर मोबाइलको गेममा लीन थिइन् । आमाको पुकार रियाको कानसम्म पुगेन । अन्ततः बिरामी आमा आफैं उठेर पानी लिन जानुपर्यो । मैले बाहिरैबाट यो दृश्य देखेँ । सीतादेवीको अनुहारमा एउटा दुःख र पीडा प्रस्ट झल्कन्थ्यो ।
त्यसको केही बेरपछि जब रियाले आमालाई ओछ्यानमा अचेतजस्तै ढलेको देखिन्, उनको हातबाट मोबाइल आफैं छुट्यो । आमाको त्यो अवस्था देखेपछि रिया भित्रैदेखि झसंग भइन् । मोबाइलको भर्चुअल संसारमा हराउँदा उनले आफूलाई सबैभन्दा माया गर्ने आमालाई नै उपेक्षा गरिरहेकी थिइन् ।
त्यस दिन रियाले महसुस गरिन्, मोबाइलमा बिताएको समयले उसलाई साथीभाइसँग त जोड्न खोजेको थियो, तर जीवनको असली आधार मानिने आमासँगको सम्बन्ध भने कमजोर बनाउँदै लगेको थियो । आमाको आँखामा देखिएको त्यो पीडाले रियाको बालमस्तिष्कलाई झस्क्यायो । उनले तुरुन्तै त्यो बटनवाला मोबाइल टेबलमा राखिन् र आमाको गोडा सुम्सुम्याउन थालिन् ।
रियाको घरमा घटेको यो सामान्य घटनाले आजको सम्पूर्ण समाजलाई नै एउटा ठुलो पाठ सिकाउँछ । प्रविधि वा मोबाइलको प्रयोग आफैंमा गलत होइन । तर, यसको अनियन्त्रित प्रयोगले जब हाम्रा आत्मीय सम्बन्धलाई कमजोर बनाउँछ, तब जीवन एकाकी बन्न पुग्छ । मोबाइलले हामीलाई संसारभरका मानिससँग जोड्न सक्छ, तर आमाको माया, काख र न्यानो उपस्थितिलाई यसले कहिल्यै प्रतिस्थापन गर्न सक्दैन । प्रविधिको प्रयोगमा सन्तुलन कायम गर्दै आफ्ना अभिभावक र परिवारसँग समय बिताउनु नै जीवनको साँचो खुसी हो । मोबाइल केवल एउटा साधन हो, तर आमा हाम्रो जीवनकी आधार हुन् ।