२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

उदयपुरमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

Nada
बिन्द्र राई
२०८३ भदौ ८ गते १३:३१
Shares
उदयपुरमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

उदयपुर : उदयपुरको बेलका नगरपालिकामा सोमबार सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

ncell

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका–५ जहडास्थित सडकखण्डमा सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५-००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा अटोमा सवार पाँचै जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोप) धरान पठाइएकोमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकी तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा अटोमा सवार बेलका नगरपालिका–५ बस्ने अन्दाजी ३४ वर्षीया मन्दिरा मगर रहेकी छिन् । ज्यान गुमाउने अर्की एक महिलाको भने नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते हुनेहरूमा अटो चालक बेलका नगरपालिका–५ का २८ वर्षीय इन्द्र थापा, विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङ र बेलका–५ का १८ वर्षीय रोशन मगर रहेका छन् । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न बस र ३६ वर्षीय बस चालक विक्रम थापालाई नियन्त्रणमा लिएको छ । चालक थापालाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर