
सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा एक महिला राज्यसँग आफ्ना श्रीमानको खोजी गरिदिन आग्रह गरिरहेकी हुन्छिन् । ‘ए सरकार मेरो श्रीमान किन खोज्दिनस्’, ‘विदेशी आउँछु भनेको थियो किन आउन दिइनस् ? ‘मलाइ मेरो श्रीमान चाहियो’ महिलाले रूँदै भनिरहेकी छन् । भदौ १० गते भोटेकोशीमा विनाशकारी बाढी आयो । बाढीले घर, सम्पत्ति र आफन्त गुमाएका नागरिक सामाजिक सञ्जालाटै पीडा र सरकारसँग माग राखिरहेका छन् । यो स्वाभाविक नागरिक अधिकार हो । तर यही कुरालाई सरकारविरोधीका रूपमा व्याख्या गर्दै पीडितकै चरित्र र जीवनमाथि आपत्तिजनक टिप्पणी भइरहेका छन् । केहीले लेखेका छन्, ‘तेरो बा केपीले के गरेको हो र यो सरकारलाई दोष’, ‘बुढो सरकारले बेपत्ता बनाएको हैन होला दिदी, विपद्ले कता लग्यो लग्यो खोजतलास गर्नेले गरिरहेका छन्...।’ अर्की एक महिलाले आफ्नो श्रीमान जलविद्युत आयोजनामा काम गर्ने र बाढीको कारण टनेलमा थुनिएको हुन सक्ने भनेर छिटो खोजीकार्य गरिदिन गरेको आग्रहमा पनि उस्तै आपत्तिजनक कमेन्टहरू छन् । ‘आफैं खोज्न जा न’, ‘तेरोमात्र लोग्ने बाढीमा परेको छ ?’ जस्ता टिप्पणी गरिएका छन् ।
विपद्को समयमा नागरिकले राज्यसँग गर्ने अपेक्षा सुरक्षा, उद्धार र आफ्ना आफन्तको खोजी हो । घर बग्दा, सम्पत्ति गुमाउँदा र आफन्त बेपत्ता हुँदा नागरिकले सरकारसँग गुहार माग्नु अस्वाभाविक होइन । बरु त्यो राज्यप्रतिको विश्वासको अभिव्यक्ति हो । तर भोटेकोशी बाढीपछि सामाजिक सञ्जालमा देखिएका आपत्तिजनक प्रतिक्रियाले सामाजिक संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ । श्रीमान् खोजिदिनुस् भन्दै काखमा बच्चा च्यापेर रोइरहेकी महिलामाथि समेत चरित्र, पहिरन र व्यक्तिगत जीवनसँग जोडेर गरिएका टिप्पणी कुनै पनि कोणबाट स्वीकार्य हुन सक्दैनन् । सरकारसँग प्रश्न गर्नु सरकारविरोधी हुनु होइन । नागरिकले राज्यसँग जवाफ माग्न पाउँछन् । अझ विपद्को समयमा आफ्नो आफन्तको अवस्था थाहा पाउन खोज्नु त नागरिकको स्वाभाविक अधिकार हो ।
समस्या सामाजिक सञ्जालमा मात्र छैन । यो हाम्रो सोच र संस्कारसँग जोडिएको विषय हो । राजनीतिक पक्षधरता यति बलियो बन्नु कि आफ्ना राजनीतिक समूहको बचाउका लागि पीडितकै आँसुमाथि प्रहार गर्नसमेत पछि नपर्ने अवस्था आउनु गम्भीर चिन्ताको विषय हो । व्यक्ति र सरकार बदलिँदैमा नागरिकप्रतिको व्यवहार र सामाजिक संस्कार नबदलिने हो भने परिवर्तनको अर्थ के रहन्छ ? यसको समाधान सरकारले मात्र दिन सक्दैन । सरकारले नागरिकलाई सभ्य बन्न आदेश दिएर सामाजिक संस्कार परिवर्तन हुँदैन । आज अरूको श्रीमान् हराएको पीडा भोलि आफ्नै परिवारमा पनि पर्न सक्छ । त्यसैले अहिले को माथि कस्तो टिप्पणी भयो वा सामाजिक सञ्जालबाट कस्तो दुव्र्यवहार भन्ने प्रश्न त छँदैछ । यो भन्दा गम्भीर विषय समाज कस्तो बन्दैछ भन्न हो । यसमा नागरिकको पनि उत्तिकै ठूलो दायित्व छ । सामाजिक सञ्जालमा लेख्नुअघि आफूले लेखेको एउटा वाक्यले विपद्मा परेको मानिसलाई कति गहिरो चोट पु¥याउन सक्छ भन्ने सोच्नुपर्छ । यसकारण असहमति राखौँ, सरकारलाई प्रश्न गरौँ, आलोचना गरौँ; तर पीडितको चरित्रमाथि प्रहार नगरौं ।