२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

मलेसियामा पाँचौं सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड-२०२६ सम्पन्न

Nada
तिलोचन गौतम
२०८३ भदौ २३ गते ११:५७
Shares
मलेसियामा पाँचौं सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड-२०२६ सम्पन्न

क्वालालम्पुर : नेपाली कला, संगीत तथा संस्कृतिको प्रवर्धनसँगै विभिन्न विधामा योगदान पुर्‍याउँदै आएका कलाकार तथा व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले मलेसियामा आयोजित पाँचौं सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड–२०२६ तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

ncell

प्रियसी म्युजिक प्रा.लि.को प्रस्तुति तथा व्यवस्थापनमा आइतबार क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम एनआरएनए मलेसियाका अध्यक्ष इन्द्र लिम्बूको प्रमुख आतिथ्यता तथा वरिष्ठ पत्रकार ऋषि थपलियाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन लोकप्रिय गायक अमृत खाती र कार्यक्रम प्रस्तोता पुरन रुपाकोटी मगरले गरेका थिए ।

अवार्ड तथा सम्मान समारोहमा नेपाली कला, संगीत, चलचित्र, खेलकुद, व्यवसाय तथा रेमिट्यान्सलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

चलचित्र झिँगेदाउमा गरेको अभिनयका लागि वरिष्ठ कलाकार हिँउबाला गौतम सम्मानित भएकी थिइन् । त्यस्तै, टेलिसिरियल निर्देशनतर्फ गीता नेपाल, लोकदोहोरी गायनतर्फ रुपक परियार र स्मृति गौतम, चलचित्र निर्देशनतर्फ अन्जान शर्मा तथा चलचित्र निर्माणतर्फ चक्रधोज भण्डारीलाई सम्मान गरिएको थियो ।

पप गायनतर्फ अर्जुन खरेल, चाडपर्व तथा सांस्कृतिक गायनतर्फ कल्पना ओली र भाषाभाषी तथा सांस्कृतिक गायनतर्फ धर्मराज न्यौपानेलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै, व्यवसायिक क्षेत्रको योगदानका लागि सुन्दर आले, रेमिट्यान्स क्षेत्रतर्फ इन्द्रराज गिरी र मीरा पुरी गिरी, खेलकुद क्षेत्रतर्फ राजु तामाङ तथा नवकलाकारका रूपमा अपूर्व गौतमलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन तथा प्रस्तोताका रूपमा योगदान पुर्‍याएका पुरन रुपाकोटी मगरलाई पनि ‘होस्ट अवार्ड’ प्रदान गरिएको थियो । कला क्षेत्रमा योगदानका लागि रश्मि पाण्डेलाई विशेष सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल तथा मलेसियामा सक्रिय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत रहेको थियो । विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार, सञ्चारकर्मी तथा नेपाली समुदायका अगुवाहरूको सहभागिताले कार्यक्रमलाई थप विशेष बनाएको आयोजकको भनाइ छ ।

कार्यक्रम सफल बनाउन नेपाल एयरलाइन्स, आरटिएफसी फुटबल क्लब, जीपीएल रेमिट्यान्स, एनबी रमाइलो मार्ट, होटल लांघाली चुलो, एनइएसिया होलिडेजलगायत विभिन्न संस्था तथा व्यवसायिक प्रतिष्ठानले सहयोग गरेका थिए । विभिन्न सञ्चार तथा मिडिया संस्थाहरूले मिडिया पार्टनरका रूपमा सहकार्य गरेका थिए ।

प्रियसी म्युजिक प्रालिका अध्यक्ष तथा पाँचौं सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड कार्यक्रम का संयोजक राजेन्द्र पुरि का अनुसार विदेशमा रहेर नेपाली कला, संगीत तथा संस्कृतिको संरक्षण र प्रवर्धनमा योगदान पुर्‍याइरहेका कलाकार तथा स्रष्टालाई एउटै मञ्चमा जोड्दै उनीहरूको योगदानको कदर गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्था, कलाकार, पत्रकार, अतिथि तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी कार्यक्रम हरुमा समेत साथ रहने आपेक्षा गरेको बताए ।

uae

ताजा खबर

सम्बन्धित खबर