२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

Nada
२०८३ भदौ २५ गते १५:३६
Shares
भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।

ncell

प्रतिनिधि सभाको बैठकमा रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले विपदबाट भएको क्षति व्यापक रहेकाले उपलब्ध जनशक्ति, उपकरण र स्रोतसाधनलाई पर्याप्त रूपमा परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिनुपर्ने बताएका हुन् ।

उनले बाढीपछि बेपत्ता भएका, उद्धार गरिएका तथा मृत्यु भएकाहरूको प्रमाणित विवरण नियमित रूपमा प्रभावित वडासम्म पुर्‍याउने व्यवस्था गर्नुपर्नेमा जोड दिए । विपद्मा परेका व्यक्ति तथा पीडित परिवारले आफ्ना आफन्तको अवस्थाबारे प्रत्यक्ष र विश्वसनीय जानकारी प्राप्त गर्न सक्ने सूचना संयन्त्र विकास गर्नुपर्ने उनको भनाइ छ ।

बुर्लाकोटीले खोज तथा उद्धारका लागि आवश्यक संयन्त्रसँगै दक्ष जनशक्ति र उपकरणको पर्याप्त व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । विशेष गरी भेटिएका शवको पहिचानमा ढिलाइ हुन नदिन डिएनए परीक्षणलाई प्रभावकारी बनाउन थप जनशक्ति, उपकरण तथा आवश्यक स्रोत परिचालन गर्न उनले माग गरे ।

विपद्पछिको पुनर्निर्माणलाई तत्कालीन क्षति व्यवस्थापनमा मात्र सीमित नगरी भविष्यमा दोहोरिन सक्ने जोखिमलाई समेत ध्यान दिनुपर्ने उनले बताए। बाढी तथा पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बस्ती, सार्वजनिक कार्यालय र अन्य भौतिक संरचना निर्माण गर्ने अभ्यासलाई पुनरावलोकन गर्नुपर्ने उनको सुझाव छ ।

जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित विपद्, जोखिम न्यूनीकरणका उपाय तथा सुरक्षित स्थानान्तरणलगायत विषयमा आवश्यक जनचेतना अभिवृद्धि गर्न पनि बुर्लाकोटीले सरकारसँग आग्रह गरेका छन् ।

रास्वपाले विपद् व्यवस्थापनमा तत्कालीन उद्धार तथा राहतसँगै प्रभावितको अवस्थाबारे विश्वसनीय सूचना प्रवाह, मृतकको पहिचान र दीर्घकालीन पुनर्निर्माणलाई जोखिम न्यूनीकरणको नीतिसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर