
१० भदौको भोटेकोशी बाढीले नेपाललाई नयाँ जोखिमतर्फ सचेत गराएको छ । प्रारम्भिक अध्ययनअनुसार उच्च हिमाली भागबाट ठुलो परिमाणमा बरफ र चट्टान खसेर ल्हेन्दे खोला थुनिएको र त्यहाँ जम्मा भएको पानी तथा भग्नावशेष एकाएक तल बगेको देखिन्छ । अर्थात् हिम–चट्टान पहिरोले नदी थुन्ने, अस्थायी ताल बन्ने र त्यसपछि आकस्मिक बाढी आउने जोखिमबारे अब नेपालले गम्भीर रूपमा बुझ्नुपर्छ । यस घटनालाई अहिले नै जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम मात्र भन्न नमिल्ला । त्यसका लागि थप अध्ययन आवश्यक छ । तर बढ्दो तापक्रमले हिमनदी पछाडि हट्ने, जमेको भूभाग पग्लिने र चट्टानका चिराभित्र पानी पस्ने अवस्था बढाउन सक्छ । यसले उच्च हिमाली भूभागको स्थिरता कमजोर बनाउन सक्ने विज्ञहरूको विश्लेषण छ । त्यसैले जलवायु परिवर्तनको असर बुझ्दा हिमतालमा मात्र सीमित हुनु हुँदैन ।
नेपालमा हिमतालको जोखिमबारे अध्ययन र निगरानी हुँदै आएको छ । तर भोटेकोशीले जोखिमको दायरा अझ फराकिलो बनाउनुपर्ने देखाएको छ । हिमतालसँगै अस्थिर हिमनदी, हिम–चट्टान पहिरो सम्भावित भिर, जमेको भूभाग र नदी थुनिन सक्ने साँघुरा उपत्यकालाई पनि जोखिमको सूचीमा राख्नुपर्छ । नेपाल सरकारको अबको प्राथमिकता यही हुनुपर्छ । पहिलो, हिमाली क्षेत्रमा बहु–जोखिम मूल्यांकन गरिनुपर्छ । भू–उपग्रह तस्बिर, भू–आकृति, हिमनदी र हिमतालको अवस्था, चट्टानको स्थिरता तथा तल्लो क्षेत्रमा रहेका बस्ती र पूर्वाधारलाई जोडेर जोखिमयुक्त क्षेत्र पहिचान गर्नुपर्छ ।
दोस्रो, पूर्वसूचना प्रणालीलाई नयाँ जोखिमअनुकूल बनाउनुपर्छ । नदीको जलसतह मापन मात्र पर्याप्त छैन । उच्च हिमाली क्षेत्रमा क्यामेरा, मौसम केन्द्र, जमिनको चाल र अन्य आवश्यक संकेत निगरानी गर्ने प्रविधि जोड्नुपर्छ । खतरा पहिचान भएपछि सूचना स्थानीय सरकार, सुरक्षा निकाय, जलविद्युत् आयोजना र समुदायसम्म केही मिनेटमै पुग्ने व्यवस्था हुनुपर्छ ।
तेस्रो, जोखिमयुक्त क्षेत्रमा नयाँ बस्ती र संवेदनशील पूर्वाधार निर्माणबारे पुनर्विचार गर्नुपर्छ । पुराना संरचनाका लागि सुरक्षित स्थान, उद्धार मार्ग र नियमित अभ्यास आवश्यक छ । सीमापारबाट आउने हिमाली नदीका कारण नेपाल–चीनबीच मौसम, नदी र सम्भावित अवरोधसम्बन्धी सूचना तत्काल आदानप्रदान गर्ने संयन्त्र पनि बलियो बनाउनुपर्छ ।
भोटेकोशीको पानी घटेपछि जोखिम सकिएको छैन । यो विपत्तिले दिएको सबैभन्दा ठुलो पाठ भनेकै अब सरकारले बाढी आएपछि प्रतिक्रिया दिने मात्र होइन, बाढी आउनुअघि जोखिम पहिचान गर्नुपर्छ । हिमालमा हुने परिवर्तन केही घण्टामै तलको बस्तीका लागि विपत्ति बन्न सक्छ । त्यसैले अर्को विपत्ति पर्खिनुभन्दा अहिले नै तयारी सुरु गर्नु बुद्धिमानी हुनेछ ।