
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्र बंगलादेशसँग घरेलु मैदानमै ऐतिहासिक द्विपक्षीय टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ । पहिलोपटक यी दुई टोलीबीच औपचारिक शृंखला आयोजना हुन लागेको हो, जसले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)को संयुक्त पहलमा आयोजना हुन लागेको तीन खेलको टी-२०आई शृंखला सन् २०२७ मार्च महिनामा काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ । सार्वजनिक गरिएको तालिकाअनुसार पहिलो खेल मार्च २६ मा हुनेछ भने दोस्रो खेल मार्च २८ र तेस्रो तथा अन्तिम खेल मार्च ३० मा आयोजना गरिनेछ ।
क्यानका सचिव पारस खड्काका अनुसार यो शृंखला केवल प्रतिस्पर्धात्मक खेलमा सीमित हुने छैन । यसलाई हालै नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा समर्पित गरिने उनले उल्लेख गरेका छन् ।
यो शृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक मात्र नभई रणनीतिक दृष्टिले पनि महत्वपूर्ण मानिएको छ । टेस्ट राष्ट्रसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नुले नेपाली खेलाडीलाई उच्चस्तरीय अनुभव प्राप्त हुने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न आवश्यक आत्मविश्वास बढ्ने विश्वास गरिएको छ ।
यसैबीच, क्यान र बिसिबीबीचको सहकार्य खेलमै सीमित नरहने स्पष्ट पारिएको छ । दीर्घकालीन साझेदारी अन्तर्गत बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट तथा उमेर समूहका खेलाडीहरूको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रशिक्षण, क्षमता अभिवृद्धि कार्यक्रम र प्राविधिक सहयोगमार्फत नेपाली क्रिकेटको आधार बलियो बनाउने योजना अघि सारिएको छ ।
त्यसैगरी, आगामी दिनमा नेपाल ‘ए’ टोलीको बंगलादेश भ्रमण तथा द्विपक्षीय ‘ए’ टोलीबीचका खेलहरूलाई प्रोत्साहन गर्ने सहमति समेत भएको छ । यसले नयाँ खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने र राष्ट्रिय टोलीका लागि बलियो विकल्प तयार पार्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।