
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश महाधिवेशन हुन नसक्नुका कारणबारे छानबिन गर्न गठित ‘अडिट समिति’ले प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।
आइताबर पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको सचिवालय बैठकमा समिति संयोजक तथा पार्टी सहमहामन्त्री हरि ढकालले प्रारम्भिक प्रतिवेदन बुझाएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
यसअघि सांसदहरूको दबाब र जातीय समस्याको कारण मधेश प्रदेशमा अधिवेशन हुन सकेको छैन । मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सामा मात्र महाधिवेशन सम्पन्न भएको छ । प्रवक्ता खरेलकाअनुसार समितिले प्रारम्भिक प्रतिवेदन बुझाएपनि विस्तृत प्रतिवेदन तयार भइरहेको बताए ।
बैठकले पार्टीका केही विभागमा सदस्य मनोनयन गर्ने निर्णय समेत गरको उनको भनाइ छ । बैठकमा पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो भारतको औपचारिक भ्रमणबारे समेत बैठकलाई जानकारी गराएको उनले बताए ।
बैठकमा पार्टी सभापति रवि लामिछानेले पार्टी, संसद र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले सोहीअनुसार काम गर्न सरोकारवालाई निर्देशन दिएको समेत प्रवक्ता खरेलले बताए ।