
काठमाडौं उपत्यकाको मौलिक पहिचान, इतिहास र संस्कृतिसँग जोडिएको सबैभन्दा भव्य र उल्लासमय पर्व हो– इन्द्रजात्रा । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाइने यो पर्व भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकास्थित वसन्तपुर दरबार अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि औपचारिक रूपमा प्रारम्भ हुन्छ । आठ दिनसम्म निरन्तर चल्ने यस जात्रामा विभिन्न प्रकारका तान्त्रिक नाचगान, रथयात्रा, दीपप्रज्वलन तथा देवीदेवताको पूजाआजा गर्ने गरिन्छ ।
पौराणिक मान्यता अनुसार शत्रुमाथि विजय प्राप्त गरेको खुसीयालीमा विजयोत्सवका रूपमा इन्द्रजात्रा मनाउने परम्परा चलेको हो । यसलाई इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन गर्ने र सो शक्तिको प्रदर्शन गर्ने पर्वका रूपमा पनि लिइन्छ । काठमाडौं उपत्यकाका साथै ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका स्थानमा पनि यो पर्व उत्साहका साथ मनाइन्छ ।
इन्द्रजात्राको मुख्य आकर्षण इन्द्रध्वजोत्थान अर्थात् लिङ्गो ठड्याउने प्रक्रिया हो । लिङ्गो तयार पार्ने कार्य आफैँमा तान्त्रिक र परम्परागत विधिमा आधारित हुन्छ । काभ्रेको नालास्थित जङ्गलमा तान्त्रिक विधिद्वारा पूजा गरी छोडिएको बोकाले छोएको रुखलाई भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । त्यसपछि निश्चित साइत हेरेर लिङ्गोलाई उपत्यका भित्र्याइन्छ र एक रात भोटाहिटीमा राखेर एकादशीका दिन तयार पारिन्छ । द्वादशीका दिन लिङ्गो ठड्याएपछि त्यसको फेदमा तान्त्रिक विधिबाट भैरवको पूजा गरिन्छ ।
जात्राको मुख्य दिन अनन्त चतुर्दशीका अवसरमा हनुमानढोकास्थित गद्दी बैठक अगाडि जीवित देवीका रूपमा पूजित श्री कुमारी, श्री गणेश र श्री भैरवको भव्य रथयात्रा गराइन्छ । उक्त अवसरमा राष्ट्रप्रमुख (राष्ट्रपति) स्वयं उपस्थित भई गद्दी बैठकबाट श्री कुमारी, गणेश र भैरवको दर्शन तथा रथयात्रा अवलोकन गर्ने परम्परा छ ।
इन्द्रजात्रा सुरु भएपछि आठै दिनसम्म काठमाडौंका गल्ली र डबलीहरूमा विविध सांस्कृतिक नाचहरूको रौनक छाउँछ । यस अवधिमा भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार नाचका साथै देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाइन्छ । टोलटोलमा हात बाँधिएका इन्द्रको मूर्ति र आकाश भैरव (श्वेत भैरव) को प्रदर्शन गरी सर्वसाधारणलाई समय्बजी र जाँडको प्रसाद वितरण गरिन्छ ।
यस पर्वको अर्को धार्मिक पक्ष अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना पनि हो । भाद्र शुक्ल चतुर्दशीका दिन व्रत बसी चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभरि शुभ फल प्राप्त हुने जनविश्वास छ । साथै, श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा) का दिन कुनै कारणवश जनै मन्त्रन नपाएकाहरूले इन्द्रजात्राका दिन मन्त्रने शास्त्रीय विधान रहेको छ । जात्राका क्रममा उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्ने भक्तजनहरूको ठूलो घुइँचो लाग्छ ।
काठमाडौं महानगरपालिकाले यो पर्वको अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि विभिन्न देशका अतिथिहरूलाई निमन्त्रणा गरी जात्रा अवलोकन गराउने गर्दछ। काठमाडौं उपत्यकामा यस दिन सार्वजनिक बिदा दिइन्छ । अन्ततः इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौँथीका दिन विधिपूर्वक लिङ्गो ढालिन्छ, जसलाई ’इन्द्रध्वज पातन’ भनिन्छ । लिङ्गो ढालिएसँगै यो ऐतिहासिक, तान्त्रिक र लोकसांस्कृतिक जात्राको समापन हुन्छ ।
(लेखक समाजशास्त्री हुन्।)