
काठमाडौं : चार महिना लामो रस्साकस्सी, विवाद र ध्रुवीकरणपछि नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सर्वसम्मत प्रतिवेदन सचिवालयमा बुझाएको छ । कार्यदलभित्र नेतृत्व पुनर्गठनको विषयमा सहमति जुट्न नसकेपछि विभिन्न चरणमा तयार भएका प्रतिवेदनलाई मिलाएर साझा प्रतिवेदन तयार गरिएको हो । यद्यपि नेतृत्व पुनर्गठनको बहस भने टुंगिएको छैन ।
एमालेले गत जेठ १० मा गठन गरेको संगठन पुनर्गठन तथा निर्वाचनसम्बन्धी समीक्षा कार्यदलले ढिला गरी भदौ अन्तिमतिर मात्रै प्रतिवेदन छलफलमा ल्याएको थियो । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन भएको कार्यदलमा महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणलाई प्राथमिकता दिएपछि विवाद सुरु भएको थियो ।
सातवटै प्रदेश, उपत्यका र जनवर्गीय संगठनसमेत गरी १३ वटा समूहबाट आएका सुझावका आधारमा नेतृत्व पुनर्गठन गर्नुपर्ने पोखरेलले आफ्नो प्रतिवेदनमा स्पष्टसँग लेखेका थिए । निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने सुझाव पोखरेलको प्रतिवेदनमा थियो ।
तर, कार्यदल संयोजक बादलले वर्तमान नेतृत्वको निरन्तरताको पक्षमा छुट्टै प्रतिवेदन तयार पारे । दुई प्रतिवेदनमा सहमति जुटाउन गत भदौ २९ मा काभ्रेको बल्थलीमा कार्यदलको आवासिय बैठक बसेको थियो । त्यहाँ पनि सहमति नजुटेपछि बादल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेललाई दुवै प्रतिवेदन समायोजन गरी साझा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो । असोज १ भित्रै दुवै प्रतिवेदन समायोजन गर्ने जिम्मेवारी तीन सदस्यीय कमिटीलाई दिइए पनि नेतृत्व हटाउने वा निरन्तरता दिने विषयमै नेताहरू अल्झिएपछि सहमति जुट्न सकेन ।
त्यसपछि अध्यक्ष ओलीको निर्देशनमा कार्यदल बाहिरका नेता प्रदीप ज्ञवालीलाई नयाँ प्रतिवेदन तयार गर्ने जिम्मा दिइयो । ज्ञवालीले तयार गरेको प्रतिवेदनमा देशभरबाट आएका सुझावलाई अनुसूचीमा राख्ने र नेतृत्वले मार्गप्रशस्त गर्न दिइएको सुझाव हटाइएको थियो । कार्यदलले आइतबार तीनवटै प्रतिवेदनका विषय समेटेर साझा दस्ताबेज तयार गरी सचिवालयमा बुझाएको हो । सचिव पद्मा अर्यालले सचिवालयले प्रतिवेदन बुझेको जानकारी दिइन् । ‘कार्यदलको प्रतिवेदन सचिवालयले बुझेको छ,’ उनले भनिन्, ‘सचिवालयले बुझेको प्रतिवेदनलाई सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने र केन्द्रीय कमिटीबाटै त्यसको छिनोफानो हुनेछ ।’
केन्द्रीय कमिटी बैठकअघि सोमबार बिहान ९ बजे फेरि सचिवालय बैठक बस्ने अर्यालले जानकारी दिइन् । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डासमेत तय गर्नेछ । कार्यदलको बैठक लम्बिएपछि आइतबार दिउँसो १ बजे बस्ने भनिएको सचिवालय बैठक ३ बजेलाई सारिएको थियो ।
कार्यदलको प्रतिवेदनबाट तत्काल नेतृत्व पुनर्गठनको विषय हटाइए पनि एमालेभित्रको अन्तरसंघर्ष भने यथावत् छ । प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयपछि सुरु भएको नेतृत्व परिवर्तनको बहसले पार्टीभित्र दुई धार स्पष्ट देखाएको छ । एक पक्ष तत्काल नेतृत्व पुनर्गठनको पक्षमा छ भने अर्को पक्ष अहिले नेतृत्व परिवर्तनको विषय उठाउँदा पार्टी थप कमजोर हुने तर्कमा छ ।
एमाले केन्द्रीय कमिटीमा अध्यक्ष ओलीकै पक्षमा बहुमत रहेको बताइन्छ । यही कारण पुनर्गठन पक्षधरले नेतृत्व परिवर्तनको विषय थाती राख्दै राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकतर्फ ध्यान केन्द्रित गराएका छन् । सम्भवतः सोमबारको केन्द्रीय कमिटी बैठकले परिषद् बैठकबारे निर्णय लिने छ ।
कार्यदलमा नेतृत्व पुनर्गठनको माग गर्दै आएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पुनर्गठनको विषय प्रतिवेदनको अनुसूचीमा मात्र राख्न सहमत भएको एमाले नेता प्रदीप ज्ञवालीले बताए । पार्टी नेतृत्वको पुर्नगठनभन्दा पनि राष्ट्रिय समस्याका विषयमा पहिला नेताहरूबीच एकाकार भएर समाधनतिर लाग्नुपर्ने आवश्यकताका बारेमा मन्थन भएको उनी बताउँछन् । ‘अहिलेको अवस्थामा नेतृत्व पुनर्गठन वा अध्यक्ष हटाउने विषय प्राथमिकतामा राख्दा पार्टी थप कमजोर हुने अवस्था देखिएकाले वर्तमान राष्ट्रिय राजनीति अवस्थालाई हेरेर पार्टीभित्र एकता कायम गरेर जाने विषयलाई जोड दिइएको छ’, ज्ञवालीले भने ।
गत निर्वाचनको परिणाम आएपछि नेतृत्व पुनर्गठन र पुस्तान्तरणको बहसको प्रारम्भ महासचिव पोखरेलले गरेका थिए । त्यहीबाट सुरु भएको एमालेको अन्तरपार्टी संघर्ष अहिले सतहमा आएको हो । पोखरेलले अध्यक्ष ओलीबाट प्रभावकारी पार्टी सञ्चालन र परिवर्तनको सम्भावना नरहेको निष्कर्ष निकालेका छन् ।
११औँ महाधिवेशनमा पोखरेल ओली क्याम्पबाटै महासचिव बनेका थिए । गत पुसको पहिलो साता भएको एमालेको ११औँ महाधिवेशनमा ओलीको पक्षमा खुलेर लागेका उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायत नेताहरू अहिले नेतृत्व पुनर्गठनको पक्षमा उभिएका छन् ।
यी नेताहरूको काउन्टरमा ओलीले उपाध्यक्ष रामबहादुर थापालाई अघि सारेका छन् । थापापछि पार्टी सचिव पद्मा अर्याल, महेश बस्नेत, शेरधन राई, लेखराज भट्ट र केन्द्रिय सदस्य प्रदीप ज्ञवालीलगायत नेता ओली पक्षमा देखिएका छन् ।
विगतमा ओलीका बलिया सारथीहरूले नै नेतृत्व पुनर्गठनको प्रस्ताव अघि सारेपछि ओली पक्षले आफ्नो बचाउका लागि निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई समेत विवादित बनाएको पुनर्गठन पक्षधर नेताहरूको बुझाइ छ ।
ज्ञवालीलाई प्रतिवेदन लेख्ने जिम्मेवारीले पनि एमालेमा विवाद बढाएको छ । पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा एउटालाई जिम्मेवारी दिने र अर्को व्यक्तिलाई काम लगाउने नेतृत्वको प्रवृत्तिले समस्या निम्त्याउने बताए ।
‘हामीले पार्टीको महाधिवेशन अघिबाटै यो नेतृत्वबाट पार्टी बलियो बन्दैन भनेरै परिवर्तनको अभियान चलाएका थियौं,’ उनले मध्यान्हसँग भने, ‘साथिहरूले त्यसबेला उहाँ (ओली) नै ठिक भन्नुभयो ।’
अहिलेको पार्टी नेतृत्वबाट समाज, राष्ट्र र एमालेमा दिनुपर्ने योगदान दिइसकेकाले ओली आफैँले नयाँ साथीलाई जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका सम्बन्धमा अध्ययन गर्न उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा बनाइएको कार्यदलको प्रतिवेदन नै अहिले एमाले विवादको केन्द्र बनेको हो । कार्यदलभित्र कुरा नमिलेपछि प्रतिवेदनमाथिको विवाद पदाधिकारी र सचिवालय हुँदै केन्द्रीय कमिटीसम्म पुगेको छ ।
पार्टीभित्रको विवाद अब प्रतिवेदनको विषयमा मात्र सीमित छैन । निर्वाचन पराजयको समीक्षा कसरी गर्ने र त्यसको राजनीतिक तथा सांगठनिक जिम्मेवारी कसरी निर्धारण गर्ने भन्ने प्रश्नसमेत यससँग जोडिएको छ । महासचिव पोखरेलले पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय महत्वपूर्ण एजेन्डा बनिसकेको दाबी गरेका छन् । ‘पार्टीले तीन पुस्ताको संयोजनको नीतिलाई ठोस योजना बनाएर अघि बढाउनुपर्दछ,’ उनले भनेका छन्, ‘यसका लागि पार्टीमा नेतृत्व निर्माण र हस्तान्तरणको सहज प्रणाली स्थापित गर्ने प्रतिबद्धता प्रकट गर्नु आवश्यक छ ।’
ओली पक्षका नेताहरू नेतृत्व पुनर्गठनको विरुद्धमा उभिएपछि एमालेको अन्तरसंघर्ष नयाँ चरणमा प्रवेश गरेको छ । अब सोमबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा कार्यदलको साझा प्रतिवेदनसँगै नेतृत्व पुनर्गठन, निर्वाचन पराजयको समीक्षा र पार्टीको आगामी दिशाबारे बहस हुने देखिएको छ ।
चुनावी हारको तीनथरी विश्लेषण
गत निर्वाचनमा नमिठो पराजयको ६ महिनापछि कार्यदलमार्फत समिक्षा गर्दा एमालेले तीन थरी निष्कर्ष निकालेको छ । कार्यदलका संयोजक बादल र सदस्य सचिव पोखरेलका प्रतिवेदन समायोजन गर्ने जिम्मेवारी पाएका केन्द्रिय सदस्य प्रदिप ज्ञवालीको निर्वाचन परिणामको कारणबारे फरक व्याख्या गरिएको छ । सार्वजनिक भएको प्रतिवेदनअनुसार उनले निर्वाचनमा भएको पराजय व्यक्तिविशेषका कारण मात्र नभएको निष्कर्ष राखेका छन् । पार्टी वैचारिक–राजनीतिक प्रशिक्षण, सांगठनिक सुधार र एकताबद्ध प्रयासबाट पुनःस्थापित हुन सक्ने ज्ञवाली प्रतिवेदनमा छ । जबकी, महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा भने कार्यकर्ताबाट संकलित सुझावका आधारमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयलाई महत्वपूर्ण एजेन्डा बनाइएको थियो ।
उनले भनेका छन्, ‘पार्टीले तीन पुस्ताको संयोजनको नीतिलाई ठोस योजना बनाएर अघि बढाउनुपर्दछ । यसका लागि पार्टीमा नेतृत्व निर्माण र हस्तान्तरणको सहज प्रणाली स्थापित गर्ने प्रतिबद्धता प्रकट गर्नु आवश्यक छ ।’
महासचिव पोखरेलको प्रतिवेदनमा सबै प्रदेश र जनवर्गीय संगठनसहित १३ वटा समूहले दिएका सुझाव समेटिएको थियो । कार्यकर्ताबाट संकलित सुझावका आधारमा ‘अब पुरानो नीति र नेतृत्वबाट एमाले अघि लानिँदैन त्यसैले ओलीले नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुने’ निष्कर्ष निकालिएको थियो ।
त्यसप्रति फरक मतका रुपमा संयोजक बादलले पेस गरेको प्रतिवेदनमा वर्तमान नेतृत्वकै निरन्तरताको पक्षमा वकालत गरिएको थियो ।