२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

ओलीले स्वीकारे चुनावी हारको जिम्मेवारी

अध्यक्षका रूपमा नैतिक जवाफदेही स्वीकार गर्दै भने- जिम्मेवारी लिनु र सम्पूर्ण दोष एक व्यक्तिमा थोपर्नु फरक कुरा हो 

Nada
२०८३ असोज ५ गते १५:४१
Shares
ओलीले स्वीकारे चुनावी हारको जिम्मेवारी

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको जिम्मेवारीबाट आफू नभाग्ने बताएका छन् । उनले अध्यक्षका रूपमा आफ्नो नैतिक जवाफदेही स्वीकार गर्दै चुनावी हारलाई भने एक व्यक्तिको असफलताका रूपमा मात्र बुझ्न नहुने बताएका छन् ।

ncell

एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत आफ्नो राजनीतिक प्रतिवेदनमा ओलीले चुनावी परिणामको जिम्मेवारी आफूले स्वीकार गर्ने तर हारका कारण पार्टीको समग्र संरचना, समयको परिस्थिति, बाह्य वातावरण, संगठनात्मक कमजोरी र पार्टीभित्रका समस्यासमेत जोडिएको बताएका हुन् ।

“म सुरुमा स्पष्ट भन्न चाहन्छु, चुनावी परिणामको जिम्मेवारीबाट म भाग्दिनँ । अध्यक्षको रूपमा मेरो नैतिक जवाफदेही म स्वीकार गर्छु,” ओलीले भनेका छन् ।

उनले नेतृत्वका रूपमा आफूले जवाफ दिनुपर्ने प्रश्नहरू पनि आफैं अघि सारेका छन् । जनताको मनसम्म पार्टीको कुरा किन पुग्न सकेन, पार्टीले गरेका कामको स्मृति जनताको मनमा किन दिगो बनाउन सकेन र सरकारमा रहँदा जनताको दैनिक जीवनमा पर्याप्त सकारात्मक प्रभाव परेको अनुभूति किन दिन सकिएन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, युवाको बेचैनीलाई पार्टीले सुन्न नसकेको हो कि, संगठनका कतिपय तह किन सुस्त भए र डिजिटल युगमा एमालेको कुरा कहाँ हरायो भन्ने प्रश्नबाट पनि भाग्न नहुने ओलीले बताएका छन् ।

‘जिम्मेवारी लिनु र दोष थोपर्नु फरक’

ओलीले चुनावी हारको जिम्मेवारी स्वीकार गर्नुको अर्थ नेतृत्वले पार्टी छाडेर पन्छिनु नभएको बताएका छन् । संकटका बेला नेतृत्वले संगठनलाई अनिश्चिततामा छाड्न नहुने उनको तर्क छ ।

“तर जिम्मेवारी स्वीकार गर्नु र मैदान छोड्नु एउटै कुरा होइन । जिम्मेवारी स्वीकार गर्नु भनेको घाइते शरीर छोडेर भाग्नु होइन, उपचारको अगुवाइ गर्नु हो,” उनले भनेका छन् ।

उनले नेतृत्वको धर्म गल्ती भए स्वीकार गर्नु, सत्यको सामना गर्नु, कार्यकर्ताको मनोबल उठाउनु, जनताको घरमा फेरि फर्कनु र सुरक्षित भविष्यको बाटो बनाउनु भएको बताएका छन् ।

ओलीले चिकित्सक र किसानको उदाहरण दिँदै संकट देखिएपछि उपचार र सुधारका लागि नेतृत्व गर्नुपर्ने बताएका छन् ।

“चिकित्सकले रोग देखेपछि अस्पताल छोड्दैन । किसानले बालीमा रोग लागेपछि खेत छोड्दैन । नेतृत्वले पनि संकटको बेला संगठनलाई अनिश्चिततामा छोड्दैन,” उनले भनेका छन् ।

‘हारलाई एक व्यक्तिको असफलता मान्नु हुँदैन’

ओलीले चुनावी पराजयको समीक्षा गर्दा आफूलाई मात्र दोष दिने वा कार्यकर्ता तथा बाह्य शक्तिलाई मात्र जिम्मेवार ठहर्‍याउने दुवै दृष्टिकोणबाट बच्नुपर्ने संकेत गरेका छन् ।

उनका अनुसार चुनावी हारले पार्टीलाई आत्मसमीक्षाको कठिन मोडमा ल्याएको छ । हारको चोट सिटको संख्यामा मात्र नभई गाउँगाउँमा रहेका कार्यकर्ताको मनोबल, जनताको घरमा पार्टीको उपस्थितिबारे उठेका प्रश्न र युवाको बदलिएको मनोविज्ञानमा पनि देखिएको छ ।

“तर चोटले मानिसलाई दुईवटा बाटो देखाउँछ । एउटा, दुःखको सहने, चुप लाग्ने । अर्को, दुखाइलाई संकल्प, शक्ति र सक्रियतामा बदल्ने । हामी दोस्रो बाटो रोज्छौँ,” ओलीले भनेका छन् ।

उनले पार्टीभित्र अहिले एकअर्कालाई दोष दिएर कमजोर बनाउने समय नभएको पनि बताएका छन् । चुनावी हारका कारणबारे नेतृत्व, पार्टी र कार्यकर्ताले सामूहिक रूपमा प्रश्नको सामना गर्नुपर्ने उनको भनाइ छ ।

“यी प्रश्नहरू मेरा हुन्, नेतृत्वका पनि हुन्, पार्टीका पनि हुन्,” उनले भनेका छन् ।

‘संकटले ज्ञानको ढोका खोल्छ’

ओलीले वर्तमान संकटलाई पार्टी पुनर्निर्माणको अवसरका रूपमा लिनुपर्ने बताएका छन् । उनका अनुसार चुनावी पराजयपछि पार्टीले आफ्नो संगठन, विचार, जनसम्बन्ध, युवा संवाद र सञ्चार शैलीमा पुनर्विचार गर्न आवश्यक छ ।

“दर्शनले भन्छ, संकटले ज्ञानको ढोका खोल्छ । विज्ञानले भन्छ, कुनै जीवित प्रणाली आघातपछि आफूलाई सम्हाल्न सक्यो भने झन् बलियो हुन्छ,” उनले भनेका छन् ।

उनले एमालेका कार्यकर्तालाई सत्यको सामना गर्न, जनताकहाँ फर्कन, युवालाई सुन्न र संगठनलाई सक्रिय बनाउन आग्रह गरेका छन् ।

“यो समय एकअर्कालाई दोष दिएर कमजोर हुने समय होइन । यो समय सत्यको सामना गर्ने समय हो । यो समय झुटसँग नझुक्ने समय हो । यो समय जनताकहाँ फर्कने समय हो । यो समय युवालाई सुन्ने समय हो । यो समय संगठनलाई जगाउने समय हो,” ओलीले भनेका छन् ।

पार्टीभित्र चुनावी पराजयपछि नेतृत्व पुनर्गठन र पुस्तान्तरणबारे समेत बहस चलिरहेको छ । पछिल्ला बैठकहरूमा पार्टी र नेतृत्व पुनर्गठनका विषयमा फरक मतसहितका प्रतिवेदन आएपछि ती विषयलाई समेटेर साझा दस्तावेज बनाउने प्रयास भएको थियो।

यसै पृष्ठभूमिमा ओलीले भने चुनावी हारबाट पार्टीलाई पुनर्गठन र पुनर्निर्माणतर्फ लैजानुपर्नेमा जोड दिएका छन् । उनको सम्बोधनमा नेतृत्वको व्यक्तिगत जिम्मेवारी स्वीकारसँगै हारलाई पार्टीको समग्र कमजोरी र परिस्थितिको परिणामका रूपमा समीक्षा गर्नुपर्ने धारणा देखिन्छ ।

सम्बन्धित खबर