
काठमाडौं : नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पार्टीभित्रको अस्वस्थ ध्रुवीकरण अन्त्य गर्दै बलियो एकताका साथ अघि बढ्नुपर्ने बताएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले पार्टी पुनर्गठनको बहस अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने विषयमा केन्द्रित हुनु उचित नभएको बताए ।
अध्यक्ष ओलीनिकट नेताका रूपमा चिनिएका ज्ञवालीले अहिले एमाले, कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र नै जटिल परिस्थितिमा रहेको भन्दै यस्तो अवस्थामा पार्टीभित्र बलियो एकता आवश्यक रहेको बताए ।
‘पार्टी पुनर्गठनको विषय अध्यक्ष हटाउन केन्द्रित भयो, त्यसो हुनुहुँदैनथ्यो,’ ज्ञवालीले भने, ‘अहिलेको जटिल परिस्थितिमा पार्टीभित्र बलियो एकता बनाएर जानुपर्छ ।’
उनले एमालेको पछिल्लो निर्वाचन धक्काको मुख्य कारण पार्टीभित्रको एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको बताए । पार्टी पुनर्गठनको बहस तलसम्म पुग्दा त्यसले ध्रुवीकरण बढाएको र व्यक्ति केन्द्रित बनेको उनको भनाइ थियो ।
‘पहिला औषधिको प्रेस्क्रिप्सन, त्यसपछि रोगको डायग्नोसिस गर्न खोजेजस्तो भएको छ,’ ज्ञवालीले भने । पार्टीका सबै समस्याको कारक अध्यक्षलाई मानेर उहाँलाई विस्थापन नगरेसम्म पार्टी अघि बढ्न नसक्ने तर्क र पुनर्गठनको बहस नै विभाजन हो भन्ने दुवै अतिवादी धारणा रहेको उनले बताए ।
ज्ञवालीले राष्ट्रिय एकताको आधार र एमालेको पुनर्जागरणको प्रस्थानविन्दु पार्टीभित्रकै एकता भएको बताए । एमालेमा ठूलो वैचारिक समस्या नभए पनि भदौ २३ र २४ गतेदेखि निर्वाचनसम्मका घटनाक्रमलाई हेर्ने विषयमा फरक दृष्टिकोण देखिएको उनले उल्लेख गरे ।
निर्वाचनको धक्कालाई सामूहिक चुनौती र जिम्मेवारीका रूपमा लिएर जनतामा आशा र भरोसा बढाउनुपर्ने समयमा पार्टीभित्र देखिएको अस्वस्थ अवस्था दुःखद भएको उनको भनाइ थियो ।
उनले कार्यदलको प्रतिवेदनलाई ‘कट अफ पोइन्ट’ मानेर पार्टीलाई एकताबद्ध गर्ने दायित्व नेतृत्वको भएको बताए । अध्यक्षले पार्टीभित्रको आन्तरिक लडाइँ जित्नुभन्दा योजनाबद्ध नेतृत्व विकास र अभिभावकीय भूमिकामा ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
ज्ञवालीले पार्टीभित्र सबैभन्दा धेरै अवसर पाएका नेताहरू नै बढी असन्तुष्ट देखिनुको कारणबारे पनि प्रश्न उठाए । ‘सबैभन्दा धेरै अवसर पाउने नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो? सन्देश नै प्राप्ति हो भन्ने दियौँ कि अवसर दिँदा मूल्यांकन भएन?’ उनले प्रश्न गरे ।
स्थानीय तहमा हुने प्रतिस्पर्धा र स्वाभाविक द्वन्द्व व्यवस्थापन गर्न नसक्दा ध्रुवीकरण बढेको भन्दै उनले प्रतिस्पर्धालाई एकतामा रूपान्तरण गर्ने नयाँ विधि खोज्नुपर्ने बताए ।
ज्ञवालीले एमालेको कार्यभारमा जनजीविकाका विषय पर्याप्त रूपमा नआएको भन्दै अब पार्टीको ऊर्जा जनताका दैनिक समस्यामा केन्द्रित गर्नुपर्ने बताए । लोकतन्त्र, राष्ट्रिय हित र जनजीविकाको रक्षालाई पार्टीको प्रमुख कार्यभारका रूपमा अघि बढाउनुपर्ने उनको सुझाव थियो ।
रास्वपा असफल हुँदैमा एमाले स्वतः सफल नहुने भन्दै उनले पार्टी आफैँ सुदृढ हुनुपर्ने बताए । प्रमुख प्रतिपक्षमा समेत रहन नदिने प्रयास भइरहेको दाबी गर्दै उनले त्यसलाई चिर्न एमालेभित्रको एकता र संगठन बलियो बनाउनुपर्ने धारणा राखे ।
आफू पार्टीभित्र समन्वयको भूमिकामा उभिनुलाई कमजोरीका रूपमा नबुझ्न आग्रह गर्दै ज्ञवालीले ध्रुवीकरणका बेला अतिवादी धारणा राखेर मिडिया चर्चामा आउनुभन्दा पार्टी निर्माणमा योगदान गर्नु महत्वपूर्ण हुने बताए । ‘मिडिया ट्रायलले एकछिनलाई न्यानो दिन्छ । मिडिया हाइपले एकछिनलाई सन्तुष्टि देला, तर काम लाग्दैन,’ उनले भने ।