
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सत्तारुढ दलभन्दा प्रमुख प्रतिपक्षका रूपमा नेपाली कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी १५औं महाधिवेशनबाट आउने नयाँ नेतृत्वले चुनौतीपूर्ण समयमा सशक्त भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।
महामन्त्री पौडेलले कांग्रेस कार्यकर्ताहरूलाई सम्बोधन गर्दै पार्टीभित्रको निराशालाई चिर्नुपर्ने बताए । महामन्त्री पौडेलले पार्टी पंक्तिलाई निराश नहुन आग्रह गर्दै उत्साहित भएर आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गरे । उनले काठमाडौं महानगरलाई सन्देश दिने केन्द्रका रूपमा व्याख्या गर्दै यहाँबाट गरिने निर्णय र सक्रियताले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे ।
महामन्त्री पौडेलले पार्टीको १५औं महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा सहभागी गराउने इच्छा पार्टीको रहेको पनि व्यक्त गरे । पार्टीका सबै नेतालाई समेट्दै अघि बढ्ने कांग्रेसको योजना रहेको बताए ।
महामन्त्री पौडेलले पार्टीभित्र देखिएका असन्तुष्टि र दूरीलाई कम गर्दै सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । उनकाअनुसार, पार्टीभित्रको एकतासँगै कांग्रेसको नेतृत्वमा देशको विकास र परिवर्तन सम्भव छ भन्ने विश्वास जनतामा जगाउनु अहिलेको आवश्यकता हो । कसैलाई अपमान गर्ने वा ठेस पुर्याउने आफ्नो कुनै मनशाय नभएको स्पष्ट पार्दै पौडेलले सबैको आदर र सम्मानका साथ पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।
महामन्त्री पौडेलले पार्टीभित्रका नेताहरू मात्र नभएर कांग्रेस बाहिर रहेका शुभेच्छुक तथा अन्य व्यक्तिहरूलाई पनि पार्टीमा आकर्षित गर्ने वातावरण निर्माण गरिरहेको जानकारी दिए ।