२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नयाँ पुस्तालाई विश्वास गर्नुहोस्, पार्टीको रोग लुकाएर हुँदैन : सुहाङ नेम्वाङ

Nada
२०८३ असोज ७ गते १८:३९
Shares
नयाँ पुस्तालाई विश्वास गर्नुहोस्, पार्टीको रोग लुकाएर हुँदैन : सुहाङ नेम्वाङ

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टी नेतृत्वले नयाँ पुस्तालाई विश्वास गर्दै समाजको भरोसा जित्ने नयाँ मार्गचित्र बनाउनुपर्ने बताएका छन् ।

ncell

ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै नेम्वाङले पार्टीको आन्दोलन र अहिलेको अवस्था ‘ठिकठाक’ नरहेको उल्लेख गर्दै पार्टीप्रतिको विश्वास र भरोसा कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

उनले पार्टीलाई नयाँ पुस्ता र समाजसँग जोड्न नेतृत्वले स्पष्ट मार्गचित्र दिनुपर्ने बताए । नयाँ पुस्तालाई विश्वास गरेर अघि बढ्न सके पार्टी र आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन सकिने उनको भनाइ थियो ।

‘समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र बनाउनुहोस् । हामी त्यहाँ कसरी हिँड्ने, त्यो भनिदिनुहोस् । कि हामी नयाँ पुस्तालाई विश्वास गर्नुहोस्,’ उनले भने, ‘हामी पार्टी र आन्दोलनलाई सारा बन्धन र षड्यन्त्रबाट बाहिर निकालेर तपाईंहरूको गौरवमय इतिहासको कथा समाज, पुस्ता र दुनियाँलाई भन्छौं । त्यो मार्गचित्र र आत्मविश्वास हामी नयाँ पुस्तासँग छ ।’

नेम्वाङले एमालेका अग्रज नेताहरूले परिवर्तनका लागि कष्टसाध्य र असाधारण संघर्ष तथा योगदान गरेको स्मरणसमेत गरे । ती संघर्ष र योगदानको गौरवमय इतिहासलाई नयाँ पुस्ताले निरन्तर अघि बढाउन चाहेको उनले बताए ।

गल्ती लुकाउनु भनेको रोग लुकाउनु हो
नेम्वाङले पार्टीभित्रका कमजोरी र गल्तीलाई औंल्याउन डराउन नहुनेमा जोड दिए । उनले बैठकमा चे ग्वेभारा र माओ त्सेतुङका भनाइ उद्धृत गर्दै सत्यको सामना गर्नुपर्ने धारणा राखे ।

उनले भएका कमजोरीप्रति आत्मसमीक्षा गर्नुपर्ने माओको भनाइ उद्धृत गर्दै भने, ‘जसरी दिनहुँ अनुहार नधुँदा फोहोर जम्छ, त्यसैगरी आत्मसमीक्षा र गल्ती स्वीकार नगर्दा विचारमा पतन आउँछ । गल्ती लुकाउनु भनेको रोग लुकाउनु जस्तै हो, जसले अन्ततः विनाश नै ल्याउँछ ।’

उनले एमालेको वर्तमान अवस्थाप्रति संकेत गर्दै पार्टीको आन्दोलनमा समस्या देखिएको बताए ।

‘यति भन्छु, हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ । कमरेड माओले भनेजस्तै गल्ती लुकाउनु भनेको रोग लुकाउनु हो,’ उनले भने ।

नेम्वाङले पार्टीका अग्रजहरूले गरेको संघर्ष र योगदानको इतिहासलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘फेरि भन्छु, तपाईंहरूले गर्नुभएको कष्टसाध्य संघर्ष, योगदानको कथा र कम्युनिष्ट आन्दोलनको गौरवमयी कथा धेरै पुस्तासम्म भनिरहन चाहन्छौं । सुनाइरहन चाहन्छौं,’ उनले भने ।

तर, पार्टी पुनर्गठित भएर नयाँ उचाइमा अघि बढ्न नसके अग्रजहरूले निर्माण गरेको गौरवमय इतिहासको कथा सुन्ने नयाँ पुस्तासँग पनि त्यसको अर्थ नरहने उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर