
काठमाडौँ : नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले सम्मानजनक रूपमा नेतृत्वबाट बिदा लिनुपर्ने प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।
बिहीबार ललितपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उपमहासचिव भट्टराईले नेतृत्व पुनर्गठनको विषय एउटा मात्र बैठक वा छलफलमा नसकिने भन्दै अगामी बैठकहरूमा समेत यो विषयमा छलफल गरिने बताए ।
उनले अब पार्टीको मुख्य कार्यभार स्थानीय तह निर्वाचनको तयारी रहेको बताए । उनले पार्टी एकताबद्ध भएर स्थानीय निर्वाचनमा केन्द्रित हुने बताए । स्थानीय तह निर्वाचनको लागि उम्मेदवार छनोटलगायतका विषयमा तल्लो तह कमिटीहरूलाई अधिकार सम्पन्न बनाउँदै कार्यकर्ता तथा जनताको भावनाअनुसार उम्मेदवार छनोट गरिने उनको भनाइ छ ।
उनले भने, ‘अहिलेको केन्द्रीय कमिटी बैठकले अध्यक्षज्यूलाई सम्मानजनक रूपमा बिदा गर्नुपर्छ भन्ने कुरा मानेन । त्यो कुरामा यसपछिका विभिन्न कमिटीमा पनि छलफल गर्दैजानुपर्छ । सबै कुरा एकै पटक सकिँदैन । यो बैठकबाट अब हाम्रो मुख्य कार्यभार आउने स्थानीय तह चुनावलाई गर्ने भन्या छौँ । स्थानीय चुनावको तयारीको निम्ति पार्टी एकजुट र एकताबद्ध भएर जान्छ । अब उम्मेदवार छनोटदेखि सबै कुरामा तलका कमिटीहरूलाई हामी अधिकार सम्पन्न बनाउँछौँ । कार्यकर्ताको भावना, जनताको भावना अनुसारको उम्मेदवार छनोट गर्छौँ । आम जनताले चाहेको, खोजेको घोषणापत्र लिएर जान्छौँ । नेकपा एमालेका विचार, सिद्धान्त, संगठनलाई लिएर स्थानीय चुनावको व्यापक तयारीमा नेकपा एमाले लाग्छ ।’
उपमहासचिव भट्टराईले जनअपेक्षा अनुसारको घोषणापत्र लिएर स्थानीय तह निर्वाचनमा जाने तयारी पार्टीको रहेको पनि बताएका छन् ।