२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

इन्द्रजात्रा : पौराणिक मान्यता र सांस्कृतिक महत्व

Nada
विश्वनाथ खरेल
२०८३ असोज ९ गते ०६:००
Shares
इन्द्रजात्रा : पौराणिक मान्यता र सांस्कृतिक महत्व

धार्मिक र सांस्कृतिक बाहुल्यता रहेको नेपाली समाजमा धार्मिक आस्था अनुसार मनाइने अनेकौं चाडपर्वमध्ये इन्द्रजात्राको विशिष्ट स्थान छ । नेपाल भाषामा ‘येंयाः’ भनिने यो जात्रा विशेष गरी काठमाडौं उपत्यकाका नेवार समुदायको महान् पर्व हो । काठमाडौंका साथै ललितपुर, भक्तपुर, दोलखा, धुलिखेललगायत स्थानमा पनि वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आजा गरी यो पर्व परम्परागत रूपमा मनाइन्छ ।

ncell

पौराणिक कथा र इतिहास

सनातन धर्मावलम्बीका प्रमुख चाड दसैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविद्हरूले पुरानो पर्व मान्दछन् । वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णुधर्मोत्तर पुराण, बृहत् संहिता र भविष्य पुराणमा यसको विस्तृत वर्णन पाइन्छ । पौराणिक कथा अनुसार, प्राचीन कालमा देवासुर संग्र्रामका क्रममा त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन एउटा ध्वजा बनाएर पूजा गरी हस्तान्तरण गरेका थिए । सोही ध्वजाको शक्तिले देवताहरूले विजय प्राप्त गरेपछि पृथ्वीका राजाहरूले पनि आफ्नो राज्यमा सुख, समृद्धि र विजयको कामना गर्दै इन्द्रध्वजा स्थापना गर्न थालेको मानिन्छ ।

अर्को लोककथा अनुसार, देवराज इन्द्रकी आमा वसुन्धरालाई व्रतका लागि पारिजातको फूल र कर्कलो चाहिएकाले उनका छोरा जयन्तलाई पृथ्वीलोक पठाइएको थियो । काठमाडौं उपत्यकामा पारिजातको फूल टिप्दै गर्दा किसानहरूले (कसैका अनुसार दैत्यहरूले) जयन्तलाई चोर ठानेर दुवै हात पछाडि बाँधेर नियन्त्रणमा लिए । पछि इन्द्र आफैं आएर छोराको पहिचान गराई छुटाएको र वर्षा तथा सहकाल दिने वचनबद्धता प्रकट गरेको खुसीयालीमा यो जात्रा मनाउन थालिएको किंवदन्ती पनि छ ।

ऐतिहासिक रूपमा काठमाडौंमा इन्द्रध्वजा (लिंगो) ठड्याउने परम्परा राजा गुणकामदेवको पालादेखि सुरु भएको मानिन्छ । पछि कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा गराउने परम्परा थपेका थिए ।

जात्राको सुरुआत र विधि

इन्द्रजात्राको प्रमुख कार्य इन्द्रध्वजा (लिंगो) स्थापना गर्नु हो, जसलाई नेपाल भाषामा ‘योर्सी’ भनिन्छ । जात्राका लागि काभ्रेको नालास्थित जंगलमा तान्त्रिक विधिद्वारा पूजा गरी बोकाले छोएको रुख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । त्यसपछि साइत हेरेर रुखलाई उपत्यका भित्र्याई भोटाहिटीमा राखिन्छ र एकादशीका दिन विधिपूर्वक लिंगो तयार पारिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको विशाल मूर्तिअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजसहितको लिंगो ठड्याएपछि इन्द्रजात्राको विधिवत् सुरुवात हुन्छ । यस कार्यलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड बाजा, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन् । लिंगोको फेदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर भैरवको पूजा गरिन्छ ।

आठदिने जात्राका आकर्षण 

लिंगो ठड्याएपछि आठ दिनसम्म काठमाडौं उपत्यका उत्सवमय बन्छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको श्वेतभैरवको विशाल सरभमुख सर्वसाधारणका लागि खुला गरिन्छ । जात्राका क्रममा राष्ट्रप्रमुख (प्रसिद्धिअनुसार मल्लकालमा राजा) गद्दी बैठकमा उपस्थित भई गणेश, भैरव र कुमारीको पूजा गरी जात्रा अवलोकन गर्ने परम्परा छ ।

आठ दिनसम्म राजधानीका विभिन्न स्थानमा विभिन्न परम्परागत नृत्यहरू प्रदर्शन गरिन्छ । जसमा हलचोकको भक्कुनाच (सवभकु), भक्तपुरको महाकालीनाच, मञ्जुश्रीनाच (मजियमत), लाखेनाच, दशावतार नाच तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा ‘पुलुकिसी नाच’ प्रमुख छन् । कुमारीघर अगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुको दशावतार देखाइन्छ ।

गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट वर्षभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले दिदिवली बाली (सतबीज छर्दै) कान्तिपुर नगरी परिक्रमा गर्ने गर्दछन् । त्यसपछि मानन्धर समुदायले बाँसको लामो मालामा बत्ती बालेर ‘बौमत’ निकाली नगर परिक्रमा गराउँछन् । यसै अवसरमा काठमाडौंबाट करिब चार कोस पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरी मेला भर्ने भक्तजनको घुइँचो लाग्छ ।

इन्द्रजात्राले काठमाडौंलाई स्वर्गको अमरावतीजस्तै मनमोहक बनाउँछ । १२औं देखि १८औं शताब्दीसम्म निर्मित ऐतिहासिक मन्दिरहरूले सजिएको हनुमानढोका परिसर यसको मूल केन्द्र हो । नेवार समुदायको मौलिक पहिचान र समृद्ध संस्कृतिको प्रतीकका रूपमा रहेको इन्द्रजात्राले नेपाली संस्कृतिको व्यापकतालाई विश्वभर चिनाउन महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर