२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति भण्डारी, एमालेमा शक्तिशाली पुनरागमन

Nada
२०८३ असोज ९ गते ०६:२०
Shares
सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति भण्डारी, एमालेमा शक्तिशाली पुनरागमन

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएकी छन् । राष्ट्रपति पदबाट बाहिरिएको करिब साढे तीन वर्षपछि पार्टी सदस्यता पुनः कायम गराएकी भण्डारीले बिहीबार एमालेमा दोस्रो वरीयता प्राप्त गरिन् । ललितपुरमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो वरीयतामा भण्डारी रहने गरी वरिष्ठ नेता बनाएको हो । 

ncell

यो प्रस्ताव स्वयं अध्यक्ष ओलीले राखेका थिए । यसलाई अनुमोदन गर्दै केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गरेको हो । एमालेको विधानमा वरिष्ठ नेता पद थिएन । नयाँ पद नै सिर्जना गरेर भण्डारीलाई एमालेले पार्टीमा शक्तिशाली पुनरागमन गराएको छ । नेताहरूका अनुसार योसँगै एमालेमा देखापरेको असन्तुष्टि र समीकरणसमेत बदलिएको छ । 

एमालेको विभिन्न जिम्मेवारी सम्हाल्दै उपाध्यक्षसम्म भएकी थिइन् । तर २०७२ सालमा राष्ट्रपति निर्वाचित भएपछि दलगत राजनीति छाडेकी थिइन् । ११ वर्षपछि एमालेमा वरिष्ठ नेता बनाएर एमालेले सक्रिय राजनीतिमा संलग्न गराएको हो । 

भण्डारी पहिलोपटक २०७२ कात्तिक १२ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनको पहिलो कार्यकाल २०७४ फागुन २९ गते सकियो । त्यसको भोलिपल्ट उनी दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति निर्वाचित भइन् । दोस्रो कार्यकाल २०७९ फागुन २९ गते सकियो ।

त्यसपछि उनी राष्ट्रपति बनेपछि निष्क्रिय भएको पार्टी सदस्यता सक्रिय गराउन लागिन् । २०८२ असार १४ गते मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको सार्वजनिक घोषणा नै गरेकी थिइन् । 

तर एमालेमा उनको सदस्यता नवीकरणको विषयमा विवाद भयो । २०८२ साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता होल्डमा राख्ने निर्णय गर्‍यो । पूर्वराष्ट्रपति सक्रिय दलीय राजनीतिमा फर्कनु उपयुक्त नहुने तर्क कतिपयले गरे । अध्यक्ष ओलीले नै पनि राष्ट्राध्यक्ष भइसकेको व्यक्ति राष्ट्रिय एकताको प्रतीक र संविधानको संरक्षकका रूपमा रहेको भन्दै पार्टीको कार्यकर्ता वा नेता बन्न नहुने तर्क गरेका थिए ।

भण्डारीले भने आफू ४५ वर्षदेखि एमालेमा आबद्ध रहेको र पार्टीकै तर्फबाट राष्ट्रपति बनेकोल पार्टी त्यागेका भन्न नमिल्ने तर्क गरिन् । २०८२ पुसमा भएको एमालेको ११औं महाधिवेशनमा ओली तेस्रोपटक अध्यक्ष निर्वाचित भए । सदस्यता नै नवीकरण नभएपछि भण्डारी प्रतिस्पर्धामा आउन सकिनन् । 

भण्डारीको समर्थन लिएर ईश्वर पोखरेल ओलीसँग अध्यक्षमा प्रतिस्पर्धामा उत्रिए । चुनाव जित्न सकेनन् । 

ओलीकै नेतृत्वमा २१ फागुन २०८२ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले ठुलो राजनीतिक धक्का व्यहोर्‍यो । निर्वाचन परिणामपछि पार्टीभित्र नेतृत्व र संगठन पुनर्गठनबारे बहस सुरु भयो । यही पृष्ठभूमिमा एमालेमा भण्डारीको शक्तिशाली पुनरागमन भएको हो । 

योसँगै एमालेभित्र रहेको असन्तुष्टि मत्थर हुने र असन्तुष्ट पक्षले पनि पार्टीमा संघर्ष गरेर आफ्नो स्थान खोज्ने अवसर पाएको नेताहरू बताउँछन् । यसले एमालेमा नयाँ समीकरण देखा परे पनि पार्टी नै फुटतर्फ नजाने र यसले पार्टीको हित गर्ने उनीहरूको तर्क रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर