
काठमाडौं : नेपाली डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रिम’ले भारतको सिम्लामा आयोजित १२औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ सिम्लामा स्पेसल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जितेको छ ।
निर्देशक तथा सञ्चारकर्मी गणेश पाण्डेले निर्देशन तथा निर्माण गरेको ‘द एभरेस्ट ड्रिम’ले विश्वभरका अन्तर्राष्ट्रिय वृत्तचित्रबीच प्रतिस्पर्धा गर्दै यो अवार्ड हात पारेको हो । आइतबार सिम्लामा आयोजित अवार्ड समारोहमा हिमाचल प्रदेशका गभर्नर कविन्दर गुप्ता र फेस्टिभल निर्देशक पुष्पराज ठाकुरले पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए । सेप्टेम्बर २५ देखि २७ सम्म सिम्लाको ऐतिहासिक गेती हेरिटेज कम्प्लेक्समा आयोजना भएको महोत्सवमा ३३ देशका फिल्म सहभागी थिए ।
मस्तिष्कमा गम्भीर चोट लागेपछि जीवनमा अनेक चुनौती सामना गरिरहेका बेलायती नागरिकहरूको एभरेस्ट बेस क्याम्पसम्मको साहसिक यात्राको कथा ‘द एभरेस्ट ड्रिम’मा प्रस्तुत गरिएको छ । स्कटल्यान्डबाट सुरु भएको उनीहरूको कठिन प्रशिक्षणदेखि नेपाल आएर हिमालयको यात्रासम्मको अनुभवलाई वृत्तचित्रले समेटेको छ ।

जेम्स लेम्बको नेतृत्वमा पाँच जना ब्रेन इन्जुरी सर्भाइभर्ससहित सात सदस्यीय टोलीले एभरेस्ट बेस क्याम्पसम्म गरेको यात्रालाई फिल्मले केन्द्रमा राखेको छ । शारीरिक तथा मानसिक चुनौतीका बाबजुद सपना पूरा गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश फिल्मले दिएको छ । निर्देशक पाण्डेका अनुसार, फिल्मको मुख्य सन्देश ‘जीवनमा गम्भीर चोट वा कठिनाइ आए पनि मानिसले नयाँ सपना देख्न र ती सपना पूरा गर्न सक्छ’ भन्ने हो ।
‘द एभरेस्ट ड्रिम’ले यसअघि अमेरिकाको जर्जियास्थित कब अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितिसकेको छ । सिम्लामा प्राप्त यो अन्तर्राष्ट्रिय अवार्डसँगै नेपाली डकुमेन्ट्रीले अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा आफ्नो उपस्थिति थप बलियो बनाएको छ ।
