२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

कांग्रेस महाधिवेशनमा होमिए तीन दर्जन व्यवसायी

Nada
२०८३ असोज १७ गते ०६:१०
Shares
कांग्रेस महाधिवेशनमा होमिए तीन दर्जन व्यवसायी

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुन नेपाली कांग्रेसपक्षधर वैदेशिक रोजगार व्यवसायी सक्रिय देखिएका छन् ।

ncell

वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक सूर्यबहादुर क्षेत्रीसहित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा आबद्ध करिब दुई दर्जन व्यवसायी महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् । प्रतिनिधि छनोटको पालिका तहको निर्वाचन परिणाम आइतबार बिहानसम्म आउने अनुमान छ । यसअघि १४औं महाधिवेशनमा करिब तीन दर्जन व्यवसायी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका हैसियतमा सहभागी भएका थिए ।

शुभेच्छुक संस्थाको हैसियतमा रहेको एसोसिएसनले महाधिवेशनमा पठाउने प्रतिनिधिबारे निर्णय गरिसकेको छैन । केही समयअघि एसोसिएसनको निर्वाचित कार्यसमिति पार्टी सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्मासँग भेटघाटमा जाँदा शुभेच्छुक संस्थाले ७ जना प्रतिनिधि पठाउन सक्ने जानकारी पाएका थिए ।

तर, यसअघि ३ जना प्रतिनिधि पठाउन पाउने व्यवस्था गरेको नेपाली कांग्रेसले शुक्रबारसम्म प्रतिनिधि पठाउने चिठ्ठी शुभेच्छुक संस्थाहरूलाई दिएको छैन । ३ जना पक्का भए पनि ५ जना पाउने हो वा ७ जना पाउने हो भन्ने अनिश्चित भएकाले कुनै निर्णय नगरिएको बताइएको छ । एसोसिएसनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले प्रतिनिधि पठाउने गृहकार्यमा रहेको र पार्टीले संख्या तोकेपछि निर्णय गरिने जानकारी दिए ।

हालसम्म एसोसिएसनका संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट (कास्की), पूर्वअध्यक्ष किरण किशोर घिमिरे (दाङ), दीपक थापा (काठमाडौं), नवराज केसी (खोटाङ), सुवास गिरी (सर्लाही), रविन मेघाले मगर (धनकुटा), राजेश गौतम (काभ्रे)सहित ११ जना महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भइसकेका छन् ।

जंगबहादुर इजम (ताप्लेजुङ), नरेश छहरी मगर जनजातितर्फ, देवेन्द्र लुइँटेल, महमद जबार दिन मियाँ (मुन्ना) मुस्लिमतर्फबाट तथा नगेन्द्र पोखरेल (नवीन) झापाबाट उम्मेदवार रहेको बताएका छन् । त्यस्तै, विनोदजंग केसी, प्रज्ञान न्यौपाने (दाङ), मचिन्द्रनाथ शेर्मा (झापा), सचिन शेर्मा र शेरबहादुर गुर्मछान ‘शेरु’ (महोत्तरी), यामप्रसाद श्रेष्ठ (नवलपुर), विष्णु सुवेदी, शालिकराम अधिकारी, शिवप्रसाद चालिसे, हर्कबहादुर लिम्बुलगायतले प्रतिस्पर्धा गरिरहेको बताएका छन् ।

नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते उद्घाटन हुनेछ भने १९ र २० गते बन्द सत्र तथा २१ र २२ गते निर्वाचन गराउने तयारी छ ।

सम्बन्धित खबर