
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वैदेशिक रोजगारीलाई बाध्यता मात्र नभई सुरक्षित, व्यवस्थित र अधिकारमुखी बनाउने दृष्टिकोण अगाडि सारेका छन् ।
आइतबारदेखि राजधानीमा सुरु भएको कांग्रेसको १५औं महाधिवेशनमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सभापति थापाले रोजगारी र वैदेशिक रोजगारी शीर्षकमा उक्त दृष्टिकोण अगाडि सारेका हुन् ।
महाधिवेशन प्रतिनिधिहरूलाई उपलब्ध गराइएको प्रतिवेदनमा देशभित्र उत्पादन र सम्मानजनक रोजगारी विस्तारलाई राष्ट्रिय प्राथमिकता बनाउने तथा वैदेशिक रोजगारीलाई बाध्यता मात्र नभई सुरक्षित, व्यवस्थित र अधिकारमुखी बनाउने उल्लेख छ ।
कांग्रेसले प्रवासी नेपालीका अधिकार र सामाजिक सुरक्षालाई नीतिमा समेट्दै विदेशबाट आएको विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने बताएको छ । उद्घाटन सत्रमा सभापति थापाले पटकपटक वैदेशिक रोजगारभित्रको पीडालाई उठाएर विदेशमा रहेका लाखौं नेपालीलाई सम्बोधनको प्रयास गरेका थिए ।