
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक–२ का क्षेत्रीय सभापति तथा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा गर्दै खरेलले पार्टीभित्रको गुट–फुट अन्त्य गर्दै कांग्रेसको खस्किएको साख फर्काउन आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताए ।
उनले कांग्रेसलाई एकताबद्ध बनाउँदै संगठनलाई बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै संवैधानिक निकायमा हुने दलीय भागबन्डाको अन्त्य गर्नुपर्ने बताए । बीपी कोइरालाको विचार र सिद्धान्तलाई आत्मसात् गर्दै भाषणमा मात्र सीमित नभई काम गरेर देखाउने नेतृत्व अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।
खरेल पाँचखाल नगरपालिकाका लगातार दोस्रो कार्यकालका प्रमुख हुन् । अमेरिकाको बसाइ छाडेर नेपाल फर्किएपछि सक्रिय राजनीतिमा लागेका उनले स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
स्थानीय तहको नेतृत्वसँगै सामाजिक काममा समेत सक्रिय खरेलले आफ्नो सेवा–सुविधा र तलबभत्ता सामाजिक कार्यमा खर्च गर्दै आएका छन् ।
सार्वजनिक पदबाट प्राप्त हुने सुविधा व्यक्तिगत प्रयोजनभन्दा सामाजिक सेवामा लगाउने अभ्यासलाई निरन्तरता दिँदै आएको बताउँदै खरेलले राजनीतिलाई जनसेवासँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्दै खरेलले पार्टीभित्रको गुटगत राजनीति अन्त्य, संगठन सुदृढीकरण र कांग्रेसको वैचारिक तथा सांगठनिक पुनर्जागरणलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन् ।