
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा फर्किएपछि अध्यक्ष केपी शर्मा ओलीसँगै बस्ने नेताहरूको पोजिसन फेरिएको छ । भण्डारी अध्यक्षपछिको दोस्रो वरीयतामा वरिष्ठ नेताका रूपमा एमालेमा फर्किएसँगै महासचिव शंकर पोखरेलको ओलीसँगै बस्दै आएको स्थान पछाडि सरेको हो ।
अब ओलीको दायाँतर्फ भण्डारी रहनेछिन् भने बायाँतर्फ रामबहादुर थापा ‘बादल’ रहनेछन् । ओलीको दायाँतर्फ भण्डारी, विष्णु पौडेल र गोकर्ण विष्टपछि पोखरेलको स्थान तय गरिएको छ ।
गत असोज ५ देखि ७ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकमै ओलीले नेताहरूको बसाइको पोजिसन परिवर्तन गर्न खोजेका थिए । तर, उपाध्यक्षहरू साबिककै स्थानमा बसेपछि पोखरेल ओलीसँगै बसेका थिए ।
भण्डारीलाई एमालेले असोज ८ गते वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो । त्यसलाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि उनी पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी भएकी हुन् । साढे सात वर्ष राष्ट्रपति बनेपछि करिब तीन वर्षको राजनीतिक ‘वार्मअप’ पूरा गरेर भण्डारी वरिष्ठ नेताका रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन् ।
राष्ट्रपति बन्नुअघि एमालेकी उपाध्यक्ष रहेकी भण्डारी करिब तीन वर्षपछि सक्रिय पार्टी राजनीतिमा फर्किएकी हुन् । एमालेले उनलाई अध्यक्षपछिको दोस्रो वरीयतामा राखेको छ । केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालय बैठकमा सहभागी हुने अधिकारसमेत उनलाई दिइएको छ ।
भण्डारीको पुनरागमनसँगै एमालेको शीर्ष नेतृत्वको आसनक्रमसमेत फेरिएको छ । त्यसको प्रत्यक्ष प्रभाव महासचिव पोखरेलको पोजिसनमा परेको छ ।