
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीभित्र पुस्तान्तरण, नवप्रवर्तन र नीतिगत रूपान्तरणलाई अघि बढाउने उद्देश्यले आफू नेतृत्वको प्रतिस्पर्धामा उत्रिएको बताएका छन् ।
पार्टीको महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताका आकांक्षालाई समेटेर कांग्रेसलाई बदलिँदो विश्व परिवेश अनुकूल अघि बढाउन आवश्यक रहेको बताए ।
उनले ९० वर्ष नाघेका पुराना पुस्ताको अनुभवदेखि जेन जेड र अल्फा पुस्ताका अपेक्षासम्मलाई जोडेर पार्टीको संगठनात्मक तथा नीतिगत क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।
देश र कांग्रेस दुवै चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै महरले विद्यमान समस्याको समाधानका लागि परम्परागत राजनीतिक अभ्यासमा परिवर्तन आवश्यक रहेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पार्टीको भूमिका प्रभावकारी बनाउन नीतिगत सुधारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
महरले कांग्रेसलाई निर्वाचन जित्ने माध्यममा मात्र सीमित नराखी नागरिकका दैनिक समस्या र आवश्यकतासँग जोडिएको राजनीतिक संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।
बदलिँदो विश्व परिवेशमा जलवायु परिवर्तन, नवप्रवर्तन, युवा रोजगारी र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।
नागरिक र राजनीतिक नेतृत्वबीच बढ्दै गएको दूरी घटाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै उनले नागरिकमा देखिएको निराशा सम्बोधन गर्न र अर्थतन्त्रमा जनसहभागिता बढाउन कांग्रेसले पहल गर्नुपर्ने बताए ।
पार्टी नेतृत्व चयनका विषयमा महरले योग्यता र क्षमतासँगै जनअपेक्षा तथा लोकप्रियतालाई पनि ध्यान दिनुपर्ने धारणा राखे । लोकतान्त्रिक प्रतिस्पर्धामा यी पक्षबीच सन्तुलन आवश्यक रहेको उनको भनाइ छ ।
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिने समयसीमा समाप्त भइसकेकाले अब कुनै प्रकारको दबाबको औचित्य नरहेको बताउँदै उनले स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने विश्वास व्यक्त गरे ।
महाधिवेशनको मतदान प्रक्रियामा भएको ढिलाइबारे पनि महरले प्रतिक्रिया दिएका छन् । मतपत्र छपाइ र आन्तरिक व्यवस्थापनका केही प्राविधिक कामका कारण मतदान सुरु हुन ढिलाइ भएको उनको भनाइ छ ।
निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार निर्धारित समयमा मतदान सुरु हुने र महाधिवेशन प्रतिनिधिहरूले विवेकपूर्ण रूपमा नेतृत्व चयन गर्ने विश्वास उनले व्यक्त गरे ।