
काठमाडौं : नेकपा एमालेले मंसिर २ र ३ गते काठमाडौंको माइतीघरमा आयोजना गर्ने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले भेलामा पार्टीका केन्द्रीय नेतादेखि पालिका तहका प्रतिनिधि र जनप्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने जानकारी दिए ।
भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । भेलामा ओलीले वर्तमान राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा दुई प्रमुख कार्यभार र १५ वटा कार्ययोजनाबारे मार्गदर्शन गर्नेछन् ।
वरिष्ठ नेता, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभारसम्बन्धी विशेष सम्बोधन गर्नेछन् भने उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्त्वपूर्ण कामहरू तथा उपलब्धिहरूको समीक्षा र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्नेछन् ।
एमालेले पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने, स्थानीय निर्वाचनको तयारी गर्ने र जनतामा नयाँ आशा तथा ऊर्जा सञ्चार गर्ने उद्देश्यले भेला आयोजना गर्न लागेको जनाएको छ ।