२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

किशोरकिशोरीबीच सहमतिमा हुने यौन सम्बन्धलाई जबरजस्ती करणी नमान्ने प्रस्ताव

Nada
२०८३ कार्तिक ३० गते १७:०८
Shares
किशोरकिशोरीबीच सहमतिमा हुने यौन सम्बन्धलाई जबरजस्ती करणी नमान्ने प्रस्ताव

काठमाडौं : प्रेम सम्बन्धमा रहेका किशोरकिशोरीबीच सहमतिमा यौन सम्बन्ध भए पनि कानुनले त्यसलाई जबरजस्ती करणी मान्छ । १८ वर्षमुनिका किशोरीसँग मञ्जुरीमै भएको यौन सम्बन्धलाई समेत बलात्कार ठहर गर्ने प्रचलित कानुनी व्यवस्थाका कारण किशोरहरू गम्भीर फौजदारी मुद्दामा तानिने गरेका छन् ।

यही कानुनी अन्योल अन्त्य गर्न सरकारले मुलुकी अपराध संहिताको दफा २१९ संशोधन गर्ने प्रस्ताव अघि सारेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा विवाहको उमेर नपुगेका किशोरकिशोरीबीच प्रेम सम्बन्ध रहेको, दुवैको मञ्जुरीमा यौन सम्बन्ध भएको र उनीहरूबीचको उमेर अन्तर दुई वर्ष वा सोभन्दा कम भएको अवस्थामा एक वर्षसम्म कैद हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्को ‘बालबालिकाको राष्ट्रिय स्थिति प्रतिवेदन, २०८१’ अनुसार आर्थिक वर्ष २०८०/८१ मा अदालतमा दर्ता भएका बालबालिका संलग्न कसुरका मुद्दामध्ये बलात्कारसम्बन्धी अभियोगमा ४७० जना बालबालिका जोडिएका थिए । तीमध्ये ४६९ जना बालक र एक जना बालिका थिए । यसले बलात्कारसम्बन्धी अभियोगमा बालकहरूको संलग्नता कति ठूलो छ भन्ने देखाउँछ ।

अधिवक्ता दीक्षा सिंह प्रचलित कानुनले यौन शोषण र समान उमेरका किशोरकिशोरीबीचको सहमतिपूर्ण सम्बन्धबीच भिन्नता छुट्याउन नसकेको बताउँछिन् । उनका अनुसार प्रेम सम्बन्धमा रहेका किशोरमाथि पनि जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धकजस्ता गम्भीर कसुरमा मुद्दा चल्ने अवस्था छ । उनले प्रस्तावित संशोधन सकारात्मक भए पनि पर्याप्त नभएको बताइन् ।

सिंहका अनुसार दुवै किशोरकिशोरी कम्तीमा १४ वर्ष पुगेका र उनीहरूबीचको उमेर अन्तर दुई वर्षभन्दा बढी नभएको अवस्थामा सहमतिमा भएको यौन सम्बन्धलाई अपराधको दायराबाटै हटाउनुपर्छ । तर, डर, धम्की, प्रलोभन, शोषण वा शक्ति तथा अधिकारको दुरुपयोग भएका घटनामा यस्तो छुट दिन नहुने उनको सुझाव छ ।

प्रस्तावित मस्यौदाले सहमतिको परिभाषा पनि विस्तार गर्न खोजेको छ । करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यान, अपहरण वा शरीर बन्धक बनाएर लिइएको मञ्जुरीलाई सहमति नमानिने व्यवस्था प्रस्ताव गरिएको छ । होस ठेगानमा नरहेको अवस्थामा लिइएको मञ्जुरी पनि मान्य नहुने उल्लेख छ ।

तर, ‘होस ठेगानमा नरहेको’ अवस्थाको परिभाषा अझ स्पष्ट हुनुपर्ने महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)का कार्यकारी निर्देशक सविन श्रेष्ठ बताउँछन् । मानसिक रूपमा निर्णय गर्न नसक्ने अवस्थासँगै नशालु पदार्थको प्रभावमा परेर सहमति दिन नसक्ने अवस्थालाई पनि कानुनले समेट्नुपर्ने उनको सुझाव छ ।

उनले सौन्दर्य प्रतियोगिताको आडमा बालिका तथा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका मनोज पाण्डेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे । उक्त घटनामा पेय पदार्थमा औषधि मिसाएर खुवाइएको आरोपसमेत सार्वजनिक भएको थियो । श्रेष्ठका अनुसार मदिरा, लागूऔषध वा अन्य नशालु पदार्थको प्रभावमा रहेको अवस्थालाई सहमतिको परिभाषामा स्पष्ट रूपमा समेट्नुपर्छ ।

मस्यौदाले यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिमाथि वा उनीहरूबीच मञ्जुरीबिना करणी गरेमा त्यसलाई जबरजस्ती करणी मानिने व्यवस्था पनि प्रस्ताव गरेको छ ।

त्यस्तै, सामूहिक रूपमा जबरजस्ती करणी गरेमा मूल सजायमा थप पाँच वर्षसम्म कैद हुने प्रस्ताव छ । छ महिनाभन्दा बढी गर्भवती महिला, पूर्ण अशक्त वा अति अशक्त अपांगता भएका व्यक्ति, शारीरिक वा मानसिक रूपमा अस्वस्थ व्यक्ति तथा हतियार देखाएर जबरजस्ती करणी गरेको अवस्थामा पनि थप पाँच वर्षसम्म कैदको प्रस्ताव गरिएको छ ।

वैवाहिक सम्बन्धभित्र हुने जबरजस्ती करणीलाई पनि छुट्टै कसुरका रूपमा राख्न खोजिएको छ । प्रस्तावित दफा २१९ अनुसार पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा तीनदेखि पाँच वर्षसम्म कैद हुनेछ । पीडितको निवेदनमा अदालतले पत्नीलाई घरमा बस्न दिन, खानलाउन दिन, कुटपिट नगर्न र सभ्य व्यवहार गर्न पतिलाई आदेश दिन सक्नेछ । आवश्यक उपचार गराउन वा उपचार खर्च उपलब्ध गराउन पनि आदेश दिन सक्ने प्रस्ताव गरिएको छ ।

पति–पत्नीलाई एउटै घरमा बस्न उपयुक्त नदेखिएमा अलग बस्ने व्यवस्था मिलाउन र पत्नीको भरणपोषणको प्रबन्ध गर्नसमेत अदालतले आदेश दिन सक्नेछ ।

प्रस्तावित संशोधनले एकातिर सहमतिपूर्ण सम्बन्धमा रहेका किशोरकिशोरीलाई गम्भीर फौजदारी अभियोगबाट जोगाउने बहस अघि सारेको छ भने अर्कोतिर यौन हिंसाका घटनामा सहमतिको सीमा स्पष्ट पार्न खोजेको छ । तर, सहमतिपूर्ण सम्बन्धलाई अपराधीकरण नगर्ने र शोषण तथा दबाबमा भएका घटनालाई उन्मुक्ति नदिने गरी कानुन निर्माण गर्नु चुनौतीपूर्ण देखिन्छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर