२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

गालीको ‘एल्गोरिदम’

सामाजिक सञ्जालमा विचारमाथि बहस हुनुपर्नेमा व्यक्ति र चरित्रमाथि आक्रमण बढ्दै गएको छ । सांसददेखि सामान्य नागरिकसम्म अश्लील टिप्पणी, धम्की र डिजिटल हिंसाको सिकार भइरहेका छन् । प्रहरीका तथ्यांकले यस्तो प्रवृत्ति गम्भीर बन्दै गएको देखाउँछन् । 

Nada
सपना बोहरा
२०८३ मंसिर २ गते ०८:००
Shares
गालीको ‘एल्गोरिदम’


काठमाडौं : ‘करिब ६०–६१ वर्षको व्यक्तिले पठाएको सन्देश मसँग छ । त्यो सन्देश उहाँकै श्रीमती र छोराछोरीको अगाडि पढ्नुस्, म मुद्दा चलाउँदिनँ ।’
राप्रपाकी सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमा आफूलाई अश्लील सन्देश पठाउने एक व्यक्तिलाई दिएको जवाफ हो यो । ती व्यक्तिले आफ्नै परिवारका अगाडि सन्देश पढ्न नसक्ने बताएपछि आफूले कानुनी प्रक्रिया अघि बढाएको ओली बताउँछिन् । उनका अनुसार सामाजिक सञ्जालमा अश्लील सन्देश पठाउने र धम्की दिने व्यक्तिविरुद्ध उनले साइबर ब्युरोमा करिब ५० वटा उजुरी दिइसकेकी छन् ।

ओलीले आफू आलोचना र असहमतिलाई सकारात्मक रूपमा लिने, तर व्यक्तिगत घृणा, अश्लीलता र धम्कीलाई स्वीकार नगर्ने बताएकी छन् । नेपाललाई सनातन राज्य बनाउनुपर्ने धारणा संसद्मा राखेपछि आफूविरुद्ध सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी र धम्की आउन थालेको उनको भनाइ छ । प्रतिनिधिसभाको बैठकमै उनले आफूलाई ज्यान मार्ने, बलात्कार गर्ने र भौतिक आक्रमण गर्ने धम्की आएको विषय सार्वजनिक गरेकी थिइन् ।
‘मेरो विचारको आलोचना गर्न सकिन्छ, असहमति राख्न सकिन्छ । तर व्यक्तिगत घृणा फैलाउने, अश्लीलता गर्ने र धम्की दिने अभिव्यक्तिप्रति मेरो शून्य सहनशीलता छ,’ उनले भनेकी छन् ।

सामाजिक सञ्जालमा अपमान र धम्कीको सामना गर्ने ओली एक्ली पात्र होइनन् । भोटेकोसी बाढीमा बेपत्ता आफन्त खोजिरहेका परिवारले सहयोगको अपिल गर्दा होस् वा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउलाई गैरकानुनी भन्दै धारणा राखेकी अमीशा पराजुलीमाथि, सामाजिक सञ्जालमा अश्लील र संवेदनहीन टिप्पणी भएका घटना सार्वजनिक भएका छन् । पराजुलीमाथि अश्लील गाली र बलात्कारको धम्की दिइएको थियो भने कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएका अपमानजनक तस्बिरसमेत फैलाइएको थियो । उनीहरूले यसविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका थिए ।

व्यवसायी दुर्गा प्रसाईंले सामाजिक सञ्जालमा सांसद रचना खतिवडा र जेनजी आन्दोलनका सहिद उनका छोराबारे अपमानजनक टिप्पणी गरेपछि पनि विवाद चर्किएको थियो । छोराको शवसँग सांसद पद साटेको आशयको टिप्पणी गरिएको भन्दै रचनाले उजुरी दिएकी थिइन् । यस विषयले संसद्मा समेत प्रवेश पाएको थियो ।

यी घटनाले सामाजिक सञ्जालमा व्यक्त हुने विचार र त्यसको प्रतिक्रियाबीचको सीमा कति साँघुरिँदै गएको छ भन्ने देखाउँछन् । कुनै विषयमा आफ्नो धारणा राख्नु, सार्वजनिक पदमा रहेका व्यक्तिको काममाथि प्रश्न उठाउनु वा सरकारको निर्णयको आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो । तर पछिल्लो समय विचारसँग असहमत हुनेभन्दा विचार राख्ने व्यक्तिलाई नै अपमानित गर्ने प्रवृत्ति बढ्दो छ ।

कसैले फरक धारणा राख्दा त्यसको तर्कपूर्ण जवाफ दिनुको सट्टा व्यक्तिगत चरित्रमाथि टिप्पणी गर्ने, अश्लील शब्द प्रयोग गर्ने र धम्की दिने क्रम बढेको छ । कतिपय अवस्थामा सामाजिक सञ्जालमा राखिएको मूल सामग्रीभन्दा त्यसमा आएका अपमानजनक प्रतिक्रियाले बढी ध्यान खिच्ने गरेका छन् ।
सामाजिक सञ्जालका प्लेटफर्ममा प्रतिक्रिया, सेयर, लाइक र अन्य अन्तरक्रियाले सामग्रीको पहुँच निर्धारण गर्न भूमिका खेल्छन् । नक्कली पहिचान, गोपनीयताको अनुभूति र तत्काल प्रतिक्रिया दिन सकिने सुविधाले प्रयोगकर्तामा जिम्मेवारीबोध कमजोर बनाउन सक्छ । अरूको अगाडि प्रत्यक्ष भन्न नसकिने कुरा स्क्रिनको पछाडि बसेर लेख्ने प्रवृत्ति बढेको छ ।

यस्तो दुव्र्यवहार सबैले सामना गर्न सक्छन् । तर महिला, पत्रकार, सामाजिक अभियन्ता र सार्वजनिक बहसमा सक्रिय व्यक्तिहरू बढी जोखिममा देखिन्छन् । विशेषगरी महिलाले राजनीतिक वा सामाजिक विषयमा धारणा राख्दा विचारको जवाफ दिनुको सट्टा पहिरन, रूप, चरित्र र पारिवारिक जीवनमाथि टिप्पणी गर्ने प्रवृत्ति समस्याका रूपमा देखिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले पनि सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने तथा निजी तस्बिर र भिडियो सार्वजनिक गर्ने जोकोहीलाई कारबाही गर्ने चेतावनी दिएका थिए । साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोगसम्बन्धी घटनाको अनुसन्धान र कारबाहीका लागि १० सदस्यीय अनुसन्धान टोली गठन गरेको छ ।

वरिष्ठ चिकित्सा मनोविद् डा. पशुपति महत सामाजिक सञ्जालमा फरक विचार राख्दा गालीगलौज हुनुका पछाडि मनोवैज्ञानिक सुरक्षा, प्रविधिको बनावट र समाजमा बढ्दो असहिष्णुता जिम्मेवार रहेको बताउँछन् । ‘प्रत्यक्ष भेटमा भन्न नसकिने कुराहरू स्क्रिनको पछाडि बसेर बिनाडर र संकोच लेख्न सकिने भएकाले यस्तो प्रवृत्ति बढेको हो,’ उनी भन्छन्, ‘पहिलो कारण मनोवैज्ञानिक हो । पहिचान लुकाउने सुविधा, नक्कली खाता वा स्क्रिनको पछाडि बस्दा आफूलाई कसैले चिन्दैन भन्ने भ्रम हुन्छ । प्रत्यक्ष आँखा जुधाएर बोल्नु नपर्ने भएकाले मानिसमा डर र लाज हराउँछ ।’

आफूसँग बलियो तर्क र तथ्य नहुँदा मानिसहरूले आफ्नो कमजोरी लुकाउन गालीको सहारा लिने गरेको डा. महतको विश्लेषण छ । कतिपयले व्यक्तिगत जीवनको तनाव र कुण्ठा पोख्ने माध्यमका रूपमा सामाजिक सञ्जाललाई प्रयोग गर्छन् । कतिपयले आफ्नो विचारलाई मात्र अन्तिम सत्य ठान्ने र फरक विचार सुन्दा अहंमा चोट पुगेपछि आक्रामक प्रतिक्रिया जनाउने गरेको उनी बताउँछन् ।

एक वर्षमा २० हजारभन्दा बढी उजुरी
सामाजिक सञ्जालमा विचार राख्ने, असहमति जनाउने र आलोचना गर्ने नाममा व्यक्तिको मानमर्दन गर्ने, अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने, व्यक्तिगत जीवनमाथि आक्रमण गर्ने तथा चरित्रहत्या गर्ने प्रवृत्ति बढिरहेको छ । फेसबुक, टिकटक र इन्स्टाग्रामलगायत प्लेटफर्ममा व्यक्तिलाई लक्षित गरी अपमानजनक टिप्पणी गर्ने, निजी तस्बिर तथा भिडियो दुरुपयोग गर्ने र धम्की दिने घटना सार्वजनिक भइरहेका छन् । सामान्य नागरिकदेखि सार्वजनिक जीवनमा सक्रिय महिलासम्म यस्तो दुव्र्यवहारबाट प्रभावित छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता भएका उजुरीले पनि डिजिटल माध्यमबाट हुने दुव्र्यवहारको समस्या गम्भीर बन्दै गएको देखाउँछन् । आर्थिक वर्ष २०८२÷८३ मा देशभर साइबर अपराधसम्बन्धी २० हजार ५२६ निवेदन दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा यस्तो निवेदनको संख्या १८ हजार ९२६ थियो । आर्थिक वर्ष २०८०÷८१ मा १९ हजार ७३० उजुरी दर्ता भएका थिए ।

आर्थिक वर्ष २०८१÷८२ मा नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता भएका १८ हजार ९२६ उजुरीमध्ये ७ हजार ९२१ उजुरी महिलाले दिएका थिए । त्यस्तै, १ हजार ८०१ उजुरी बुलिङ तथा उत्पीडन, ४९५ घृणायुक्त अभिव्यक्ति, ८४ सेक्सटोर्सन अर्थात् यौन प्रकृतिका सामग्री सार्वजनिक गरिदिने धम्की दिएर गरिने दबाब तथा असुली र २७ उजुरी तस्बिर तोडमोड तथा डीपफेक शैलीको दुरुपयोगसँग सम्बन्धित थिए ।

यी तथ्यांकले डिजिटल दुव्र्यवहार गालीगलौजमा मात्र सीमित नरहेको देखाउँछन् । महिलाको व्यक्तिगत गोपनीयता भंग गर्ने, तस्बिर तथा भिडियो दुरुपयोग गर्ने, यौनिक धम्की दिने र सार्वजनिक रूपमा अपमानित गर्ने घटना पनि डिजिटल हिंसाका रूपमा देखिएका छन् ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको दुरुपयोगसम्बन्धी उजुरीमध्ये सबैभन्दा धेरै फेसबुक र म्यासेन्जरका छन् । फेसबुक तथा म्यासेन्जरको दुरुपयोगका ७ हजार १२३, टिकटकका ६ हजार ७७६, ह्वाट्सएपका ३ हजार १०५, टेलिग्रामका १ हजार ३१ र इन्स्टाग्रामका ६२८ उजुरी दर्ता भएका छन् ।

त्यस्तै, इमेलका ११४, युट्युबका ६४, इमोका ३८, भाइबरका २१, विच्याटका १४ तथा ट्विटर र गुगलका ११÷११ उजुरी छन् । इसेवा, खल्ती, बैंक खाता तथा एसएमएससम्बन्धी ७४४ र संस्थासम्बन्धी ८४६ उजुरी दर्ता भएका छन् ।

साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार सामान्य नागरिकदेखि सामाजिक अभियन्ता र राजनीतिकर्मी सबै प्रकारका व्यक्ति उजुरी लिएर आउने गरेका छन् । ‘गालीगलौज र बेइज्जतीका उजुरी लिएर ब्युरोमा आउने गर्नुहुन्छ,’ उनी भन्छन्, ‘पछिल्लो समय प्रतिष्ठित व्यक्तिहरू पनि आउने क्रम बढ्दो छ ।’

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर