
काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत ३ हजार ४२२ मिटर लामो महादेवटार सुरुङको बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ब्रेकथ्रु गरेका छन् ।
द्रुतमार्गमा सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन् । यसअघि पाँचवटा सुरुङको ब्रेकथ्रु भइसकेको थियो । आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भएको सेनाले जनाएको छ ।
तर, ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा करिब ६.५ किलोमिटर सडक खण्डको जग्गा विवाद भने अझै समाधान हुन सकेको छैन ।
ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौं र तराई/मधेशबीचको यात्रा समय तथा दूरी घट्ने बताए । यसले इन्धन खर्च कम गर्नुका साथै व्यापार, पर्यटन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।
उनले आयोजना समयमै सम्पन्न गर्न सरकार, नेपाली सेना, निर्माण व्यवसायी र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि बताए । नेपाली सेनाले बाँकी निर्माण कार्यलाई तीव्रता दिँदै आयोजना निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य राखेको छ ।