२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

आरजुको बदलिँदो परिचय

ADV
दिवाकर अधिकारी
२०८१ भदौ ५ गते ०६:४५
आरजुको बदलिँदो परिचय

काठमाडौं : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पत्नीको रुपमा नेपाली राजनीतिमा उचाइ प्राप्त गरेकी डा.आरजु राणा देउवाले पछिल्लो समय आफ्नै सक्रियता बढाएकी छन् । 

नेपाली कांग्रेस र नेकपा एमालेको सत्तासमीकरण बनाएर आफू परराष्ट्रमन्त्रीको जिम्मेवारीसहित मन्त्रिपरिषदमा सहभागी भएकी आरजूलाई भारतले समेत उच्च महत्व दिएर उनको राजनीतिक उचाइमा अर्को इट्टा थपिदिएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणालाई भारतले नयाँ दिल्लीमा नेपालका परराष्ट्रमन्त्रीले पाउने दुर्लभ अवसरहरूमध्येकै अवसर प्रदान गरेको छ । मंगलबार उनलाई जसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहजै भेट दिए, यस्तो सहजता विगतमा नेपालका कुनैपनि परराष्ट्रमन्त्रीले सायद पाएका थिएनन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार एमाले र कांग्रेस गठबन्धनको सरकार जति बलियो छ, डा. राणाको विदेश सम्बन्ध उस्तै बलियो हुने दिशामा अगाडि बढेको समेत भारतीय प्रधानमन्त्रीसँगको भेटले पुष्टि गरेको छ । 

परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार परराष्ट्रमन्त्री डा. राणा भारत भ्रमणमा जाँदा प्रधानमन्त्री मोदीसँगको भेटघाटलाई कार्यतालिकामा राखिएको थिएन । किनभने, भारत भ्रमणमा गइसकेपछि पनि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ कि हुँदैन भन्ने अन्योलता थियो । तर मन्त्री राणाले मोदीसँगको भेटलाई सम्भव तुल्याइन् । 

प्रधानमन्त्री मोदीसँग डा.राणाको पहिलो भेट भने होइन् । यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीको श्रीमतीका रूपमा मोदी र राणाबीच पटक/पटक भेट भएको थियो । 

परराष्ट्रमन्त्रीको हैसियतमा भने पहिलो पटक भेट भएको हो । पूर्वप्रधानमन्त्रीको श्रीमती, हुनु, केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने लाइनमा रहेका शेरबहादुर देउवाले पनि परराष्ट्रमन्त्री राणाले भारतमा उच्च सम्मान पाएका कतिपयको टिप्पणी छ । 

जे जस्तो भएतापनि, देशको कूटनीति सम्बन्ध परराष्ट्र मन्त्रालयमार्फत सञ्चालित हुने र परराष्ट्रमन्त्रीले सोझै भारतीय प्रधानमन्त्रीसँग सम्बन्ध बनाएर आफ्नो कुरा राख्न सक्दा प्रभावकारी हुने परराष्ट्र मामलाका जानकारहरू बताउँछन् । 

भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आएका बेला परराष्ट्रमन्त्री देउवासँग छलफल गर्दा हवाई रुट, पञ्चेश्वर परियोजना लगायतका विषयमा छलफल भएका थिए । परराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमणको समयमा ति विषय प्रधानमन्त्री मादीसँग सिधै राख्न सक्ने वतावरणले कार्यान्वयनमा ठूलो अर्थ राख्नेछ । 

कूटनीतिमा कुनै कुरा कार्यकारीसमक्ष अरुमार्फत राख्नु र आफैँ प्रत्यक्ष राख्नुमा फरक हुने भएकाले पनि परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग प्रत्यक्ष भेट्नुले दुई देशको सम्बन्धमा केही न केही सकारात्मक असर पार्ने विश्वास यस क्षेत्रका जानकारहरूको छ ।

डा. राणाको भारतीय प्रधानमन्त्रीसँग सिधा भेट हुनुले उनको राजनीतिक उचाइमा समेत ठूलो योगदान गरेको छ । कतिपयले डा.राणा क्रमिक रुपमा उचाइ लिने रणनीतिका साथ अगाडि बढेको र यो पछिल्लो दृष्टान्त रहेको बताएका छन् । 

परराष्ट्रमन्त्री बन्नु अगाडि उनले संसदीय समितिको सभापति भएर अनुभव संगालेकी छन् । डा. राणाले ११ भदौ २०८० देखि २६ असार २०८१ सम्म प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भएर काम गरिन् । 

कांग्रेसकै नेताहरु नै डा. राणाले एक पछि अर्को राजनीतिक उचाइ प्राप्त गरेको बताउँछन् । शेरबहादुर देउवापछि पार्टीमा स्थापित हुने चाहना डा. राणाको छ । यसका लागि उनले कार्यकारी अभ्यास गर्दै आफूलाई थप शसक्त बनाउँदै लगेको नेताहरू बताउँछन् । 

वर्तमान सत्ता समीकरणमा शेरबहादुर देउवा केपी शर्मा ओलीपछिका प्रधानमन्त्री हुन् । समयमै कांग्रेसको महाधिवेशन भए पार्टी सभापतिबाट देउवा हट्नुपर्छ । यो अवस्थामा देउवा पार्टी सभापति अर्को भएता पनि संसदीय दलको नेता कायमै रहेर प्रधानमन्त्री बन्न चाहन्छन् । यसका लागि समेत देउवाका लागि अनुकुल पात्र पार्टी सभापतिमा हुनुपर्छ ।

यी सम्भावनालाई समेत ख्याल गर्दै डा. राणा कार्यकारी भूमिका अभ्यास गर्दै अगाडि बढिरहेकी छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise