२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

रोकिएन मानव तस्करी

ADV
लक्ष्मण पोखरेल
२०८१ भदौ ६ गते ०६:५०
रोकिएन मानव तस्करी

काठमाडौं : सिन्धुपलाञ्चोक बाह्रबिसेकी २१ वर्षीया सविना परियार (परिवर्तित नाम) पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारणले वैदेशिक रोजगारमा जाने सपना बोकेर काठमाडौं आइन् । 

परिवारको पहिलो सन्तान, एकल आमा र साथमा रहेका दुई बहिनीको उज्ज्वल भविष्यका लागि उनी वैदेशिक रोजगारको खोजीमा लागिन् । यही क्रममा सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट उनको भेट चितवन नगरपालिका–८ का ५७ वर्षीय सुशील खत्रीसँग भयो । उनले आफू वैदेशिक रोजगारीमा जान खोजेको बताइन् । खत्रीले पनि उनलाई मासिक ४५ हजार रुपैयाँमा दुबईको प्रतिष्ठित कम्पनीमा पठाइदिने आश्वासन दिए । भिजिट भिसामा जान सहज हुने  र त्यसका लागि मेडिकल, भिसा र अन्य कानूनी प्रक्रियाका लागि दुई लाख रुपैयाँ लाग्ने बताए ।

सविनाले बाह्रबिसेमा रहेको घर जग्गा स्थानीय बैंकमा धितो राखेर दुई लाख रुपैयाँ खत्रीलाई काठमाडौंको सामाखुसीमा रहेको एक म्यानपावरमा लगेर बुझाइन् । 

उनी जब त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा दुबई पुगिन्, तब उनको दुःख र पीडाका दिनहरु शुरु भयो । एजेन्टले भने जस्तो काम न उनले पाइन्, न अन्य सुविधा नै । 

यो त एक उदाहरण मात्रै हो । यसरी ठगिने नेपाली महिलाहरूको संख्या उच्च रहेको छ । भने जस्तो नाम नपाएपछि सविना दुबई हुँदै कुवेत पुगिन् । नेपालीले नै सञ्चालन गरेको होस्टेल सेफ हाउस, जहाँ घरेलु मजदुरका लागि लगिएका नेपाली महिला राख्ने गरिन्छ त्यहाँ पुगिन् । त्यहाँ पनि भने जस्तो भएन । प्रतिमहिना ४० हजारमा घरेलु मजदुरका रुपमा १७ घण्टासम्म काम गरिन् । 

तर होस्टेल सञ्चालकले आर्थिक प्रलोभन देखाएर यौन शोषण गर्न थाल्यो । उनी गर्भवती भइन् । होस्टेल सञ्चालकले गर्भपतनका लागि दबाब दिन थाल्यो ।  आर्थिक प्रलोभन देखाएर काठमाडौं पठाएर गर्भपतन गराउन लगायो । 

उनी फेरि कुवेत फर्किइन् । कुवेतमा मलेसियन नागरिकले सञ्चालन गरेको होस्टेल सेफ हाउसमा काम गर्न थालिन् । 

मलेसियन नागरिकले उनको मोबाइल फोन, पासपोर्ट लगायत सबै कागजात खोस्यो । उनलाई बन्धक बनाएर यौन शोषण गर्‍यो । नेपाल फर्कन खोज्दा बल्ल उनलाई थाहा भयो– कुवेतमा नेपाली एजेन्टले उनलाई ७ लाख ५० हजार रुपैयाँमा बेचिसकेका रहेछन् । 

मोरङ बुढीगंगा गाउँपालिका ४ की मेनुका माझी (परिवर्तित नाम)को कथा पनि उस्तै छ । सुनसरीको बराहक्षेत्र नगरपालिका– ४ का ३५ वर्षीय दिनेश राउतले फ्रि भिसा, फ्रि टिकटमा प्रतिमहिना ३५ हजार रुपैयाँ कमाइ हुने गरी ओमान पठाइदिने भनेर आश्वासन दिए । माझीले आवश्यक नागरिकता, पासर्पोटलगायतका कागजपत्र एजेन्ट दिनेशलाई बुझाइन् । पछि उनको भिसा आयो । उनलाई भारतको नयाँ दिल्ली हुँदै ओमान पुर्‍याइयो । ओमानस्थित एक होस्टेलमा पाँच दिन राखेपछि उनलाई अरबीको घरमा घरेलु मजदुरका रूपमा नियुक्त गरियो । उनले लुगा धुने, पोछा लगाउने, भाँडा माझ्ने, आइरन लगाउनेलगायत काम गर्नुपर्थ्यो । 

दैनिक १६ घण्टा काम गर्नुपर्दा उनी बिरामी परिन् । उनलाई अरबीले उनलाई कम्पनीमै फिर्ता पठाइदियो । उनले कम्पनीसँग नेपाल फर्काइदिन आग्रह गरिन् । तर कम्पनीले अस्वीकार ग¥यो । कम्पनीले पाँच महिनासम्म यसै राख्यो । यसबीच उनीविरुद्ध यौन शोषणका सयौँ पटक घटना भए । उनको फिर्तीका लागि परिवारका सदस्यले पठानलाई आग्रह गरे । तर उनी एक लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भए । माझीको परिवारले ऋण काँडेर भएपनि आफ्नी छोरीलाई बचाउनका लागि कुवेतमा रहेका नेपालीलाई हारगुहार गरे । संयोग भन्नुपर्छ मेनुकाको उद्धार त भयो, तर उनी रित्तो हात नेपाल फर्किइन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी र ट्राभल एजेन्टको मिलेमतोमा फर्जी कागजात बनाइ विमानस्थलबाट मानव तस्करी हुने गरेको बताइन्छ । 

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्त एसपी गौतम मिश्र भन्छन्, ‘भिजिट भिसामा मानव तस्करी हुने दर घटेको छैन, बरु बढेको छ । हामीकहाँ आउने सूचनाले त्यस्तै देखाउँछ ।’

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise