
उदयपुर : उदयपुरमा गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । बेलका नगरपालिका–१ आम्बासीस्थित रुपनगर–चतारा–नडाह सडकखण्डमा प्रहरी चौकी भागलपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा १० केजी २ सय ३० ग्राम गाँजासहित एक जनालाई पक्राउ हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को २ ह ४२४६ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटोको पछाडि लुकाइ–छिपाइ गरी लैजाँदै गरेको अवस्थामा सो परिमाणको लागूऔषध फेला परेको हो ।
पक्राउपर्नेमा अटो चालक बेलका नगरपालिका–९ बस्ने वर्ष अन्दाजी ३२ वर्षीय बलबहादुर वि.क. रहेका छन् ।
उनको अटो समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका वि.क. र बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी थप अनुसन्धान अगाडि बढाइएको छ ।