
                  
कपिलवस्तु : लिभिङ टुगेदरमा बसेकी आफ्नै प्रेमिकालाई हत्या गर्न खोज्ने भारतीय नागरिक कपिलवस्तुमा नाटकीय ढंगले पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आयोजित पत्रकार भेटघाटमा प्रहरी उपरीक्षक सन्तोष आचार्यले करिब तीन वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका भारत उत्तर प्रदेश सिद्धार्थनगर चिल्हिया थाना घर भएका ३५ वर्षीय हफिजूल्लाह मुसलमानलाई पक्राउ गरिएको बताए ।
उनले आफ्नी ४० वर्षीया प्रेमिकाको घाँटी डोरीले कसेर कारभित्रै हत्याको प्रयास गरेका थिए ।
घटना कात्तिक १५ गते कपिलवस्तु नगरपालिका–४ लौसा गाउँनजिक तौलिहवा–बहादुरगंज सडक खण्डमा भएको हो । युपी ५५ एबी ६९७९ नम्बरको कारभित्र हत्या प्रयास भइरहेको देखेपछि सो बाटो हुँदै गइरहेका ट्रक चालकले तत्काल मुसलमानलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
प्रहरीका अनुसार पीडित महिलालाई तत्काल उद्धार गरी कपिलवस्तु अस्पताल लगिएको थियो । प्रारम्भिक अनुसन्धानमा मुसलमानले प्रेमिकाको हत्या गराउन एक लाख रुपैयाँ सुपारी अपराधी समूहलाई दिएको खुलासा भएको छ । उनीहरूले सुपारी लिएका व्यक्तिहरू र प्रेमिकालाई समेत कारमै राखेर चन्द्रौटा हुँदै तौलिहवातर्फ जाँदै थिए ।
घटनाको क्रममा प्रेमिकाले बच्न हातखुट्टा चलाउँदा कारको स्टेरिङमा खुट्टा लागेर गाडी अनियन्त्रित भइ ना १ ख ४९५० नम्बरको ट्रकसँग ठोक्किएको थियो । त्यसपछि चिच्याहट र होहल्ला भएपछि महिला जीवितै बच्न सफल भएकी थिइन् ।
प्रहरीले घटनास्थलबाट नाइलन डोरी, गम्छा र ‘एफटी न्यूज सच और कुछ नहीं’ तथा ‘अवध न्यूज २४’ लेखिएको बुम बरामद गरेको छ । बरामद बुमका आधारमा मुसलमानको सञ्चार क्षेत्रसँग सम्बन्ध हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
प्रहरीका अनुसार गत असोज ३१ गते बुटवलबाट फर्कंदा मुसलमानको मोबाइलमा रहेका तस्बीर प्रेमिकाले मुसलमानकी श्रीमतीको मोबाइलमा पठाइदिएपछि उनको घरपरिवारमा तनाव उत्पन्न भएको र सोही रिसकै कारण उनले हत्या योजना बनाएको खुल्न आएको छ ।
पीडित महिलाले घटनापछि प्रहरीमा किटानी जाहेरी दिएकी छन् । अदालतबाट सात दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।