२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

संकट कुरेर बस्ने सत्ता

ADV
२०८१ भदौ १० गते ०६:३५
संकट कुरेर बस्ने सत्ता

लगातारको अविरल बर्षाका कारण देशभर ठूलो संख्यामा जनधनको क्षति भइरहेको छ । समथर भू–भागमा डुबानको समस्या छ भने पहाडी र उच्च पहाडी क्षेत्रमा बाढी पहिरोको समस्या छ । औसत भन्दा बढी बर्षा भएको यो वर्ष उच्च हिमाली क्षेत्रहरुमा समेत समस्या देखिएको छ । सोलुखम्बुमा हिमताल फुट्दा थामे बस्ती नै डुबानमा परेको थियो । सानो ठूलो पहिरोले पहाडी क्षेत्रहरुमा ठूलो संख्यामा मानवीय क्षति पुगिरहेको छ । गृह प्रशासनले मृतक, घाइते र बेपत्ताहरुको सूची नियमित अपडेट गरिरहेको छ । साउन महिनाभर गृह प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरिरहनुपर्ने परिस्थिति बन्यो । खोला किनारको बस्ती र भिरालो एवं पहिरोको जोखिममा रहेका बस्तीमा सर्तकता अपनाउन सरकारले निरन्तर अपिल गरिरहेको छ । 

तर सरकारी अपिलले प्रकोपबाट पुग्ने क्षति रोकिएको छैन । बरु आवश्यक सावधानी अपनाउन नसक्दा चितवनमा पहिरोले पुरिएर यात्रु बस नै बेपत्ता भयो । भारतीय सहयोगको चुम्बकले गाडी समेत फेला पर्न सकेन । लगातार वर्षाका कारण कमजोर बनेको सडककै कारण अरुतिर पनि सवारी दुर्घटना भए । यस्ता अनेक प्रकोपका बीच जाजरकोटमा पहिरोले पुरिएर केही भूकम्प प्रभावितहरुको समेत मृत्यु भयो । नलगाड नगरपालिका–२ मझगाउँका लालबहादुर परियारको घर भत्कदा तीन जनाको मृत्यु भएको थियो । गत वर्ष १७ कात्तिकमा गएको भूकम्पमा परेर घर भत्किएपछि लालबहादुर परिवार अस्थायी टहरामा बस्दै आएको थियो । अस्थायी टहरामै बसिरहेका भरी नगरपालिका–५ इबरका प्रिन्स विश्वकर्माको पहिरोले पुरिएरै ज्यान गयो । पहिरोमा परेर अरु थुप्रै भूकम्प पीडित घाइते भएका छन् । 

अर्थात् भूकम्पबाट जोगिएकाहरुको पहिरोमा पुरिएर मृत्यु भयो । हिउँदको समयमा भूकम्प पीडितहरु चिसोबाट सताइएका थिए । कतिपय भूकम्प पीडितको कठङ्ग्रिएर मृत्यु भएको थियो । त्यसबेला पनि सरकारको चर्को आलोचना भएको थियो । किनकि भूकम्पमा परेकाहरुलाई न्यानोमा राख्नु राज्यको दायित्व थियो । तर चिसोका बेला भूकम्प पीडितलाई न्यानो कपडा दिन नसकेको सरकारले वर्षाका बेला सुरक्षित राख्न सकेन । जबकी भूकम्प गएर हल्लिएको जमिनमा वर्षाको बेला पहिरोको खतरा पूर्वअनुमानित कुरा हो । अहिले पनि जाजरकोटमा मात्र ८२ बस्ती जोखिममा रहेको अनुमान गरिएको थियो । तर आवश्यक ध्यान नदिदा पहिरोले पुरिएर नागरिकले ज्यान गुमाउनुपर्ने परिस्थिति देखियो । अझैपनि राज्यको दायित्व सकिएको छैन । किनकि वर्षा जारी छ । तत्काल राज्यको भूमिका भूकम्प पीडित क्षेत्रमा देखिन जरुरी छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise