२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पलेशाको जित र नेपालमा तेक्वान्दो

ADV
२०८१ भदौ १९ गते ०६:२०
पलेशाको जित र नेपालमा तेक्वान्दो

–पार्क थेयङ  

सेप्टेम्बर ४ तारिखलाई गणतन्त्र कोरियाले एक विशेष दिनको रूपमा लिने गरेको छ । यस दिन तेक्वान्दो खेलले ओलम्पिक खेलको रूपमा आधिकारिकता पाएको दिनको सम्झनामा तेक्वान्दो दिवसको रूपमा मनाइन्छ । एक साताअघि अगस्ट ३० तारिखलाई नेपालको एक विशेष ऐतिहासिक दिनको रूपमा लिन सकिन्छ । नेपालले ओलम्पिक खेल तथा पाराओलम्पिक खेलकुदमा सहभागिता जनाउँदै आएकोमा पहिलो पटक पदक जितेको दिनलाई इतिहासको पानामा नाम दर्ज गराएको छ । नेपाली चेली पलेशा गोवर्धन श्रेष्ठले तेक्वान्दोमा ऐतिहासिक जित हासिल गरेकी थिइन् ।

स्वयम्ले पेरिस पाराओलम्पिक खेलकुदमा पलेशालगायत दुई तेक्वान्दो खेलाडीलाई आफ्नो कुशल क्षमता प्रदर्शन गर्न हौसला प्रदान गरेको थिएँ । आज नेपालका तर्फबाट फरक क्षमता भएकी महिला खेलाडीको तर्फबाट नेपालको शिर उच्च राख्न सफल भएको क्षणलाई ओलम्पिक इतिहासले अवश्य न्याय गर्ने छ भन्ने लागेको छ । 

तथ्यांकअनुसार नेपालमा तेक्वान्दो खेल खेल्नका लागि आधिकारिक रूपमा दर्ता भएका खेलाडीको संख्या झन्डै एक लाख ५० हजार रहेको छ । तीमध्ये महिला खेलाडीको संख्या जम्मा २० प्रतिशत हाराहारी रहेको अनुमान गरिएको छ । नेपालमा तेक्वान्दो खेल्नेको संख्या बढ्दै गएर यस खेलको माध्यमबाट शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त बनाउने विश्वासका साथ खेल धेरै व्यक्तिले मन पराएका छन् । सन् १९८८ सालमा भएको ओलम्पिकमा नेपालका तेक्वान्दो खेलाडी विधान लामाले तेक्वान्दो प्रदर्शनी खेलमा कास्य पदक जितेका थिए । जुन विषय आजका दिनमा पनि सुखद क्षणको रूपमा लिइन्छ । नेपालमा तेक्वान्दो खेलको सुरुवात प्रहरी–सेना तथा अन्य सुरक्षा निकायमा शारीरिक प्रशिक्षणको माध्यमबाट भएको जानकारी रहेको छ । त,र आज यस खेलको महत्व आम जनता माझ प्रचार भएको छ । 

सन् १९८३ मा औपचारिक रूपमा नेपाल तेक्वान्दो संघको स्थापनापश्चात खेलको विकासमा उल्लेख्य भूमिका खेलेको देखिन्छ । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले तेक्वान्दो खेलको प्रवर्द्धनका लागि हरेक २ वर्षमा एम्बेसडर कप तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै आएको छ । 

कोरियाको सन्दर्भमा, कोरियाली युद्ध सन् १९५३ पश्चात् परम्परागत कोरियाली मार्सल आर्टलाई जोडेर तेक्वान्दोलाई व्यवस्थित रूपमा अभ्यास गर्न थालियो । तेक्वान्दो खेलको प्रकृति युद्धकलासँग पनि जोडिएको हुँदा, प्रशिक्षणको आधारभूत उद्देश्य आफैलाई सुरक्षित राख्नु रहेको छ । अन्तिम लक्ष्य थप गहन प्रशिक्षण मार्फत आफ्नो पूर्ण क्षमतालाई कलात्मक रूपमा प्रदर्शन गर्नु हो । तेक्वान्दो प्रशिक्षण प्रक्रिया बारम्बार अभ्यास मार्फत शरीर र दिमाग परिवर्तन गर्ने प्रक्रिया पनि हो र कालन्तरमा र यस खेलको माध्यमबाट विश्व सामु खेलाडी तथा देशको परिचय गराउनु नै हो । तेक्वान्दोको भावनामा ‘आफूमाथि विजय गरी, विश्वलाई सकारात्मक सन्देश फैलाऊ’ भन्ने मान्यता समावेश छन् । तेक्वान्दोका यी मूल्य–मान्यता तथा गुणहरू तेक्वान्दो प्रशिक्षण प्रक्रियामा प्रतिबिम्बित हुन्छन्, जस्तै कि प्रशिक्षण प्रक्रियाको समापन पश्चात् खेलाडीले एक अर्कालाई अभिवादन गर्ने, प्रशिक्षकलाई खेल सुरु हुनु अगाडी र समापनपश्चात् गर्ने शिष्टाचार आदि कोरियाली परिवारमा विगतदेखि रहँदै आएको आपसी सम्मान र सद्भावको प्रतिकका रूपमा रहेको छ । 

कोरियाली आमाबाबुले पनि आफ्ना छोराछोरीलाई तेक्वान्दो खेल्नका लागि प्रोत्साहन दिनुको कारणका रूपमा शारीरिक, मानसिक रूपमा तन्दुरुस्त बनाउनु, निडर पनको विकास गर्नु, शिष्टता, सद्भाव, स्वयंसेवाको भावनालगायतको विकास गर्नु पनि रहेको छ । भनेको नमान्ने बच्चाहरू पनि तेक्वान्दो प्रशिक्षणपश्चात् अनुशासित भएको बारेमा धेरै सुनिन्छ । तेक्वान्दो खेललाई दुई तरिकामा तालिम दिइन्छ– पुम्सेूः जसमा आधारभूत चालहरू समावेश हुन्छन् र जुन तेक्वान्दो अभ्यासकर्ताहरू बिचको प्रतिस्पर्धात्मक रूपमा खेल्नका लागि खेलाडीलाई तयार गरिन्छ । 

यस वर्ष नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोरियाली तेक्वान्दो प्रतिनिधि मण्डलले नेपाली तेक्वान्दो खेलाडीसँग सीप तथा भावना आदान–प्रदान गर्न तथा प्रदर्शनात्मक कार्यक्रममा सहभागी हुनका लागि यही अक्टोबरको मध्यमा नेपाल आउने योजना बनाएको छ । कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको उपलक्ष्यमा तेक्वान्दो खेलबाट ओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक पदक प्राप्त भएकोमा यो खुसीको क्षण हो । कोरियाली संस्कृतिको महत्त्वपूर्ण हिस्सा बनेको तेक्वान्दोलाई नेपालमा थप फैलाउन तथा यस खेलको माध्यमबाट विश्वसामु नेपालको उपस्थिति थप मजबुत गराउनका लागि गणतन्त्र कोरिया सरकारले सहकार्य गर्नेछ ।

पेरिसबाट पलेशाको ऐतिहासिक पदक प्राप्तिको खबरले नेपाली जनतामा आशा जगाएको छ र फेरि पनि थप सफलता हात पार्न सकिन्छ भन्ने भावनाले स्थान पाएको छ । पलेशाको मेहनत–परिश्रम, उनले बगाएको पसिना र पेरिसमा पदक प्राप्त गर्ने दृढ विश्वास, धैर्यता, साहस, आफूलाई जित्नु परेको मानसिक शक्तिप्रति विशेष सम्मान छ । नेपाल सरकार खेलकुद मन्त्रालय तथा सम्बन्धित विभागको समन्वयमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता हाँसिल गर्दै जानेछन् भन्ने विश्वास छ ।

(पार्क थेयङ, नेपालका लागि गणतन्त्र कोरियाली राजदूत हुन् ।)

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise