२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुदूरपश्चिम प्रदेश : नीति तथा कार्यक्रमअनुसारकै बजेट आए कांग्रेसले पास हुन नदिने

ADV
सुनिल आउजी
२०८१ जेठ २९ गते २०:३१
सुदूरपश्चिम प्रदेश : नीति तथा कार्यक्रमअनुसारकै बजेट आए कांग्रेसले पास हुन नदिने

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दल सरकारमाथि खनिएको छ । संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि विरोधका कार्यक्रम रोकेको कांग्रेस फेरि बिच्किएको हो । 

मंगलबार संसदीय दलको कार्यालयमै पत्रकार सम्मेलन गर्दै बजेट नीति तथा कार्यक्रम अनुसार नै आए पास हुन नदिने कांग्रेसले चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टी संसदीय दलका नेता तथा निर्वतमान मुख्यमन्त्री समेत रहेका कमल शाहले नीति तथा कार्यक्रम गलत रहेको र उक्त नीति तथा कार्यक्रम अनुसारको बजेट आए प्रतिवाद गर्ने बताए ।

‘यो नीति तथा कार्यक्रममा भएको धेरै कुरा बजेटमा आउनु हुँदैन । यसलाई सुधार गरेर लैजानुपर्छ’ उनले भने, ‘नीति तथा कार्यक्रम अनुसारको बजेट आए हामी प्रतिवाद गर्छौं ।’ उनले बजेटको रातो किताब हेरेर विरोधको शैली तय गरिने बताए । 

‘हामीले व्यक्तिगत फर्मलाई पैसा नहाल्ने प्रयास गरेका थियौँ, तर त्यो नीति तथा कार्यक्रममा आएका छन्’ उनले भने‘खल्तीका आयोजना हाम्रो नेतृत्वको सरकारले सृजना गरेको होइन आज पनि त्यही भइरहेको छ । हामी त्यसको विरोध गर्छौं ।’

बिचौलियाको बिगबिगी भन्दै उनले बिचौलिया केन्द्रित बजेट आए पास गर्न नदिने बताए । 

संघीय अनुदान कम आएको बेला सरकारले बढी बजेट ल्याउन खोजेर आर्थिक भार थप्न खोजेको भन्दै कांग्रेसले त्यसको विरोध गरेको थियो । ‘बजेट बनाउने काम पार्टीका कार्यकर्ता र सचिवालय गरेको भन्ने सुनेको छु, यो दुर्भाग्य हो । यतातर्फ सरकारलाई गम्भीर बन्न आग्रह गर्दछु’ उनले भने । 

उनले कर्मचारीहरूलाई विधि प्रक्रियामा रहेर अगाडि बढ्न पनि आग्रह गरेका थिए । शाहले सरकारले गलत काम गरिरहेको भन्दै तत्काल सच्चिनु पर्ने बताए ।

‘५४ दिनमा सरकारले पूर्णता पाएको छ । मन्त्रालय भन्दा बढी मन्त्री छन् । सुदूरपश्चिमको लागि दुर्भाग्य हो । मन्त्रालय फुटाउने काम गरिँदैछ भन्ने सुन्दै छु’ उनले भने, ‘सरकारले सरकार जोगाउन यो प्रदेशलाई आर्थिक भार थप्ने कुराको कांग्रेसले विरोध गर्छ । मन्त्रालय टुटाएर फुटाएर राज गर्ने कुराको हामी विपक्षमा छौँ ।’

ADVADV

सम्बन्धित खबर

Advertise